Home / समाचार / संसदीय समितिमा ठट्टाः सडकका खाल्डालाई ‘राष्ट्रिय गौरव’ घोषणा गरौं !

संसदीय समितिमा ठट्टाः सडकका खाल्डालाई ‘राष्ट्रिय गौरव’ घोषणा गरौं !

काठमाण्डौ, । राजधानीका सडकमा परेका खाल्डाखुल्डी नपुरिएको भन्दै सांसदहरुले सरकारमाथि व्यंग्य गरेका छन् । सडकका खाल्डाखुल्डीलाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न सांसदहरुले सरकारलाई भनेको छन् ।

संघीय संसद अन्तरगत राष्ट्रिय सरोकार समितिका सदस्यहरुले काठमाडौंकै सडकको पनि खाल्डा पुर्ने काममा तत्परता नदेखाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार संसदीय समितिमा यातायात मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरबका आयोजनाबारे छलफल भएको थियो । छलफलमा मन्त्री रघुवीर महासेठसहित सचिव मधुसुदन अधिकारी, सडक विभागमा महानिर्देशक रवीन्द्र श्रेष्ठ सहभागी थिए । बैठकमा विभिन्न सडक तथा रेल आयोजनाका प्रमुखहरु पनि सहभागी थिए ।

बैठकमा बोल्दै संसद सुरेन्द्रराज पाण्डेले काठमाडौंको सडकमा खाल्डाहरुलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्न सुझाव दिए । उनले बजेट अभाव पनि नहुने र त्यसका लागि वर्षैभरि काम भइरहने भएकाले काठमाडौंको सडकका खाल्डाखुल्डी पुर्ने कार्यक्रमलाई राष्ट्रिय आयोजना घोषणा गर्न ब्यंग्यात्मक सुझाव दिए ।

‘‘कहिलेसम्म खाल्डा पुर्न वजेट अभाव भयो भनिरहनुहुन्छ ?’ पाण्डेले भने, ‘बरु खाल्डा पुर्ने कामलाई नै राष्ट्रिय गौरबको आयोजना घोषणा गरौं । त्यसपछि त बजेट अभाव पनि नहोला नि ?’

उनले अधिकांश राष्ट्रय गौरबका आयोजना ४ वर्षमा सक्छौैं भनेर मन्त्री महासेठले जनाएको प्रतिवद्धताप्रति आशंका व्यक्त गरे ।

‘यो नौ महिनाको काम गराई हेर्दा त खुट्टी देख्दै चाल पाइयो भने जस्तो छ,’ पाण्डेले भने,’यो गफाडीको गफ मात्रै हो कि साँच्चिकै काम हुने हो ?’
बैठकमा बोल्दै सांसद धना खतिवडाले काठमाडौंको खाल्डोमा परेर अझै कति मान्छे मर्नुपर्ने हो भनेर प्रश्न गरिन् ।

उनले खाल्डामा परेर मृत्यु भएपछि सरकारी अधिकारीबाटै ‘होस नगरी हिँड्दा मरिन्छ’ भनेर अभिव्यक्ति आएको भन्दै यस्ता विषयलाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराइन् ।

‘सडकमा हिँड्दा–हिँड्दै खाल्डामा परेर मर्नुपर्ने अवस्थाबारे सरकारी अधिकारी कति गैरजिम्मेवार छन् भन्ने यस्तो भनाइबाट प्रष्ट हुन्छ,’ उनले भनिन्, ‘ठूला काम पनि गरौं । तर, सानै भए पनि जनधनको क्षतिसँग जोडिने सडकका खाल्डा त पुरौं ।’

बैठकमा बोल्दै सडक विभागमा महानिर्देशक रवीन्द्र श्रेष्ठले नागढुंगा(कलंकी र जोरपाटी(साँखु सडकमाबाहेक अन्त कतै पनि खाल्डाखुल्डी नरहेको दाबी गरे ।

‘हामीले ३ सय किलोमिटर सडक हेर्छौं, बिमिस्टेकका बेलामा पनि पुर्‍यौं, अस्ति एसिया प्यासिफिक समिटमा पनि पुर्‍यौं,’ उनले भने, ‘काठमाडौंको १५ सय किलोमिटर सबै सडक हामीले हेर्दैनौं । मूल सडकमा अहिले खाल्डा छैनन् ।’

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले समन्वयको अभावका कारण यस्तो समस्या देखिएको बताए । उनले अन्तर सरकारी निकायवीच समन्वयका लागि अब भौतिक पूर्वाधार मन्त्रीले नै नेतृत्व गरेर काम सुरु गरेकाले केही समयभित्रै समस्याहरु समाधान हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*