Home / प्रवास / वैशाख १२ गते जापानभर एकैसाथ धन्यवाद व्यक्त गरिने

वैशाख १२ गते जापानभर एकैसाथ धन्यवाद व्यक्त गरिने

टाेक्याे (जापान)– गत वैशाख १२ गते नेपालमा गएको विनासकारी महाभूकम्प पश्चात जापानी नागरिक र जापान सरकारले गरेको सहयोगप्रति जापानभरी एकैसाथ आभार व्यक्त गरिने भएको छ।

विनासकारी महाभूकम्पले नेपाल तहसनहस भएको एक वर्ष पुग्ने आउँदो बैशाख १२ गतेलार्इ कालो दिनकाे रूपमा स्मरण गर्दै जापानी नागरिक र सरकारलाई धन्यवादसहित नेपाल भ्रमणको निम्तो दिन लागिएको हो।

जापानस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ एनआरएनए जापान र नेपाल पर्यटन बाेर्डको संयुक्त आयोजना तथा जापानका विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागितामा जापानका विभिन्न शहरका रेल स्टेशनहरूबाट धन्यवादसहित आभार व्यक्त गर्दै नेपाल भ्रमणको निम्तो दिइने बताइएकाे छ।

‘वैशाख १२ गतेको को भूकम्प पश्चात जापान सरकार र यहाँका नागरिक हरूले गरेको निस्वार्थ सहयोगप्रति हामी सधै आभारी रहनेछौं,’ कार्यवाहक राजदूत गहेन्द्र राजभण्डारीले भने, ‘जापानभरी एकैसाथ नेपाली राष्ट्रीय पोशाक, एकै प्रकारको ब्यानर र नेपालको झण्डासहित सहभागीहरूले धन्यवादका साथै हात-हातमा नेपाल भ्रमणको निम्तो पोस्टकार्डमार्फत दिनेछन्। यसले समग्र नेपालकै पर्यटन प्रबर्दनमा टेवा पुग्ने बिश्वास लिएका छौं।’

‘अंग्रेजी मिति अप्रील २५ तारिख दिउँसो ३ बजेबाट सुरु हुने सो कार्यक्रममा सडकमै उपस्थित भएर धन्यवाद ज्ञापन गर्दा जापान र नेपाली नागरिकबीचको जनस्तरको सम्बन्ध बलियो भई सकारात्मक संदेश जान्छ,’ एनआरएनए जापानका अध्यक्ष सुदन थापाले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य जापानी नागरिकहरूलाई नेपाल भ्रमण गर्न अनुरोध गर्नुहो।’

जापानी संचारकर्मीहरुको सहभागिता रहने सो कार्यक्रम जापानको राजधानी टोकियोका साथै ओसाका, नागोया, फुकुओका, होक्काईदो, ओकिनावालगायतका शहर हरूमा आयोजना हुने उनले बताए। उनका अनुसार उक्त कार्यक्रमले नेपालीको छवी राम्रो हुने तथा नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा लिइएको छ। कार्यक्रमले जापानमा वढ्दो नेपाली जनघनत्वलाई मध्यनजर गर्दै आपसी सदभाव कायम गर्न मद्धत पुग्ने विश्वास राजदूतावासले लिएको छ।

अप्रिल २५ का दिन जापानवासी नेपालीहरुले अनिवार्य रुपमा नेपाली राष्ट्रिय पोसाकसहित जातिय भेषभूषामा सजिएर स्थानिय सडक, रेल स्टेशनमा भेला भई एक घण्टाको धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी हुन कार्यवाहक राजदूत राजभण्डारीले अपिल गरेका छन्।

स्मरण होस पछिल्लो केही समययता नेपालीहरूको समस्या समाधान र राष्ट्रीय हितको लागी सक्रिय भएको भन्दै जापान स्थित नेपाली राजदूताबासको प्रशंसा हुने गरेको छ।