Home / Feature Breaking news / उन्नाइस दुर्घटनामा सात जनाको मृत्यु

उन्नाइस दुर्घटनामा सात जनाको मृत्यु

विमला घर्ती

घोराही, २८ कात्तिक । नेपालीहरुको प्रमुख चाड दशै र तिहार सकिएका छन् । चाडपर्व भन्दासाथ सवारीका साधनको चाप बढी हुने अवधी बुझिन्छ । यो अवधीमा जिल्लामा केही अप्रिय घटना भएका छन् । चाडवाडको समयमा केही दुर्घटना भएपनि समग्रमा शान्त रुपमा पर्व सकिएको प्रहरीको भनाई छ ।

पर्वलाई शान्तिमय बनाउन जिल्ला प्रहरी कार्यालय दाङ र ट्राफिक प्रहरी कार्यालय दाङले सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेका थिए । जिल्लाका प्रमुख सहर घोराही, तुलसीपुर, लमही, भालुवाङ क्षेत्रमा सात स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको थियो । यात्राका क्रममा नागरिकहरुलाई आउने समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । भने सुरक्षा व्यवस्था तथा चेकजाँचमा कडाई गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङले सुरक्षा योजना अनुसार जिल्लामा दशै र तिहारमा आठ सय बढी प्रहरी परिचालन गरिएको जानकारी गराएको छ । प्रहरीको यो प्रयास संगै दशै र तिहारको समयमा सवारी दुर्घटना कम भएको प्रहरीको दावी रहेको छ । यो समयमा प्रहरीले सुरक्षा जाँच बढाउँदा नियमित विपरित सवारी चलाउनेहरुहरुलाई कारबाही गरिएको प्रहरीको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दशै र तिहारको समयमा जिल्लामा १९ वटा सवारी दुर्घटना भएका छन । गत असोजको २५ गतेदेखि यही कात्तिक २५ गतेसम्म सो संख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी जवान लालबहादुर देउवाका अनुसार मृत्यु हुनेमा पाँच जना पुरुष, एक महिला र एक वालिका रहेका छन् । दुर्घटनामा ३४ जना पुरुष र १५ जना महिला घाइते भएको उहाँले जानकारी दिनुभयो । दुर्घटना गतबर्षको तुलनामा बढी भएको प्रहरीको भनाई छ । दुर्घटना हुने सवारीमा बस दुई, जिप तीन, मोटरसाइकल १३, टेक्टर छ र एउटा साइकललाई कारवाही गरिएको थियो । अरु समय भन्दा बढी भिडभाड र सवारीको चापका कारण पर्वको समयमा दुर्घटना बढी हुने गरेको प्रहरी जवान देउवाको भनाई छ ।

१६ लाख बढी राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी दाङले पर्व लक्षित चेक जाँचका क्रममा नियमित विपरित चलेका सवारी साधनलाई कारवाही गरिएको थियो । प्रहरीले ट्राफिक नियम बिपरित चलेका दुई हजार छ सय ८९ वटा सवारीलाई कारवाही गरेको थियो । असोज २५ देखि कात्तिक २५ गतेसम्म एक महिनाको समय अवधिमा १६ लाख १७ हजार पाँच सय रुपैँया राजश्व संकलन भएको छ । ४१ जना मापसे कारबाही वाट मात्रै ४१ हजार रुपैँया राजस्व संकलन भएको जानकारी गराइएको छ । कारबाहीमा पर्ने सवारीमा मोटरसाइकलको संख्या बढी रहेको प्रहरीको भनाई छ ।

ओभरटेकका कारण दुर्घटना बढेको भन्दै यस बिषयमा प्रहरीले सवारी चालकहरुलाई प्रशिक्षण गराएको छ । जिल्लाका बिभिन्न स्थानमा करिव तीन सय बढी सवारी चालकलाई जानकारी तथा प्रशिक्षण गराइएको हो । पहिले आफु दाहिने तिर जान्छु भन्ने र आफु भन्दा पछाडीको सवारीलाई ओभरटेक गर भन्ने जानकारी दिन दाहिने तर्फको लाइट बाली संकेत गरिन्थ्यो, जसका कारण चालक अलमलमा परी दुर्घटना हुने गरेको थियो, प्रहरी जवान देउवाले भन्नुभयो, अव दाहिने तर्फको लाइट बाल्दा दाहिने जान्छु भन्ने संकेत बुझिने छ ।

उहाँका अनुसार पछाडीको गाडीलाई ओभरटेक गर भन्ने संकेत दिनको लागि बाँया तर्फको लाइट बाली आफ्नो सवारी सुस्त बनाउनुपर्ने भएको छ । यो प्रदेश पाँचको नयाँ नीति भएको र लागुगर्ने पर्ने भएको जनाउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमले चाडपर्व शान्त रुपमा सम्पन्न भएको जानकारी गराउनुभएको छ । बिभिन्न स्थानहरुमा प्रहरी परिचालन गरिएको बताउनुभयो । केही अप्रिय घटना भएपनि समग्रमा उत्साहमय वातावरणमा सकिएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*