काठमाडौं, २५ कार्तिक
नेपाल बैंक बर्दियाको गुलरिया शाखाका प्रमुख प्रमोद बर्माको हत्याकाण्डको निष्पक्ष छानबिन गर्न माग गर्दै शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा युवाहरुले दबाबमूलक कार्यक्रम गरेका छन्।
विभिन्न कामको शिलशिलामा काठमाडौंमा बसोबास गर्दै आएका दङ्गाली युवाहरुले बर्मा हत्याकाण्डको निष्पक्ष छानबिनको माग गर्दै दबाब मुलक कार्यक्रम गरेका हुन्। दङ्गाली युवाहरु किरण थापा, शुसिल अधिकारी, समिर गिरी लगायतका युवाहरुको पहलमा दबाब मुलक कार्यक्रम गरिएको हो।
त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, पत्रकार देविका घर्ती मगर, युवा अधिकारकर्मी शुसिल अधिकारीले मृतक बर्माले आत्महत्या गरेको नभएको हत्या गरिएको भन्दै मृतकका दोषिलाई कारबाही हुनुपर्ने बताए।
घटनाको प्रकृति, घटनास्थल हेर्दा सामान्य नागरिकले पनि हत्या भएको ठहर्याउने भन्दै मृतकका परिवारलाई न्याय दिलाउतिर नभएर राज्य नै घटना ढाकछोपतिर लागेको भन्दै पीडित परिवारलाई न्याय दिलाउन उनीहरुले माग गरे।
रेडियो स्वर्गद्धारीमा कार्यरत पत्रकार पार्वती बस्नेतका श्रीमान बर्मा नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखामा शाखा प्रबन्धकका रुपमा कार्यरत थिए।
बर्मा गत साउन २३गतेका दिन बाँके जिल्लास्थित अगैयाको जंगलमा मृत फेला परेका थिए। उक्त घटनाका सन्दर्भमा राज्यले गम्भिर रुपमा नलिएर अहिलेसम्म पनि मुद्दा अदालतसम्म नपुगेको भन्दै परिवारजनले निष्पक्ष छानबिन गरी न्याय दिलाउन माग गर्दै आएका छन्।
बर्मा हत्याकाण्डलाई राज्यले गम्भिर रुपमा लिएर छानविन नगरेको भन्दै दाङ, बाँके, बर्दिया, काठमाडौं लगायतका क्षेत्रमा युवाहरुले दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।
RaptiSandesh RaptiSandesh