Home / Feature Breaking news / माधव नेपालसँग २९ सालदेखि घनिष्टता छः प्रधानमन्त्री

माधव नेपालसँग २९ सालदेखि घनिष्टता छः प्रधानमन्त्री

काठमाण्डौ,१८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताएका छन् । नेता नेपालसँग २९ सालदेखि मित्रता–घनिष्ठता रहेको भन्दै उनले ढुक्क हुन आग्रह गरे ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाएका थिए भने प्रदेश कमिटी गठनमा असन्तुष्टि जनाउँदा स्थायी कमिटी सदस्यहरुको भेला गरेका थिए ।

अमेरिका भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले यही प्रश्न गरे ।

जवाफमा ओलीले नेता नेपालले संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको बताए । उनले भने, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले एउटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुने बताए । ‘त्यस्ता राजनीतिको पछाडि कतिपय पक्ष कुदे भने मुद्दाहीनताको कुरामात्र देखिन्छ ‘ उनले भने ।

हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको स्मरण गर्दै ओलीले भएपछि तल्ला तहहरुसँग एकता भएन भनेर प्रश्न उठेको बताए । उनले भने, ‘२र४ दिन पर्खिनुस्, व्यवहारबाटै जवाफ दिन्छौं ।’

सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको प्रधानमन्त्री ओली बताए । आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने उनले बताए ।

यसअघि नेपालको विकास भएको तर, ७ महिना मात्र केही नभएको जसरी चर्चा गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरुलाई भन्न चाहन्छु । यो गाली गरेपछि सन्तोष माने कुरा मात्र हो ।’

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरेको भन्दै उनले भने, ‘भारतसँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको छ । चीनसँग त्यसैगरी अगाडि बढाएको छ ।’

उनले अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताएका छन् । राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री ओलीले कोष्टारिकाको पनि भ्रमण गरेर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*