लक्ष्मण बस्नेत
तुलसीपुर, १७ असोज
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ ले ट्राफीक सचेतना अभियानलाई तिव्र पारेको छ ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौती रहेको पार्किङ व्यवस्थापन र सवारी आवागमनलाई सहज गर्न बजारका मुख्य मुख्य चौकमा वुधबार पार्किङ निषेध, रोक निषेध, पार्किङ यरिया वोर्डहरु राखेर अभियानलाई तिव्रता दिएको हो ।
वडाले पहिलो चरणमा तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिसकेको र ट्राफिक सचेतना दिन तुलसीपुर बिरेन्द्र चौक, घोराही चौक, पश्चिममा तुलसी बोर्डिङ चौक, बसपार्क पिपलबोट चौकलाई गाडी रोक निषेध गरिएको वडा नं ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले बताउनु भयो ।
त्यस्तै उत्तरमा बिरेन्द्र चौक सल्यान रोड, कर कार्यालय, खानेपानी कार्यालय सम्मको पुर्व तर्फको लाईनमा पार्किङ निषेध एरिया, बिरेन्द्र चौक देखि जेसिज चौक सम्म दुवै सडकको एक साइडमा लगाइएको पहेलो लाइन पार्किङ एरिया तोकिएको पनि अध्यक्ष शाहले बताउनु भयो ।
तुलसीपुर बजार क्षेत्रलाई कसरी सुन्दर र व्यवस्थीत बनाउन सकिन्छ भन्ने विषयमा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा वडा नं ५ गम्भिर रुपमा लागि परेकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा छिट्टै सुधार आउने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरिक्षक चन्द्र बहादुर केसीले बताउनु भयो । हाल वडाको समन्वयमा बजारको ट्राफिक व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि प्रमुख केसीको भनाई छ ।