दाङ, १७ असोज
जातिय लाञ्छना लगाउँदै तुलसीपुरमा एक बृद्ध कुटिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १८ दुधराज स्थित लमैटोलका ६३ बर्षिय कर्णबहादुर कामी माथी सोही ठाउँका तिर्थ पन्थीले कुलोको पानीको विषयलाई लिएर जातिय लाञ्छना लगाउँदै कुटपिट गरेका हुन् ।
पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाए पछि आफुले पानी खोल्न जाँदा कुटपिट गरेको कर्णबहादुरले बताउनुभयो । ‘कामीले पानी छुनु हुन्न’ भन्दै कुटपिट भएको कर्णबहादुरले जानकारी दिनुभयो ।
‘खेतमा पानी चाहार्ने पालो मेरो थियो, म सहित चार जना मिलेर मोहोडाबाट खोला थुनेर पानी ल्याएका थियौँ ।’ कर्णबहादुरले भन्नुभयो, ‘मेरो पालोमा पन्थीले आफ्नो खेतमा हाले पछि मैले पानी खोलेर मेरो खेतमा हाल्न खोजेँ ।’ उहाले भन्नुभयो ।
‘कामीले पनि खेतमा पानी हाल्ने ? भन्दै उहाले मलाई फरुवाले ढाडमा हिर्काउनु भयो ।’ उहाले भन्नुभयो, ‘अहिले औषधी खाईरहेको छु । बाहिरबाट चोट देखिन्न । तर राम्रो संग सुत्न सकिदैन ।’
पन्थी परिवारले आफुलाई पटक पटक कुटपिट समेत गर्दै आएको कर्णबहादुरको भनाई छ ।
करिब १० वर्ष पहिले पनि बाउ तामलाल पन्थीले कुटपिट गरेको, केहि वर्ष पहिले कृष्ण पन्थीले कुटपिट गरेर र अहिले पनि तिर्थ पन्थीले कुटपिट गरेको जानकारी दिनुभयो ।
पटक पटक कुटपिट गर्ने र मिलाउने काम भैरहेको उहाले बताउनुभयो । तर यो पटक न्यायको माग गर्दै कर्णबहादुरले अदालतमा मुद्धा दर्ता गर्ने थालेको जानकारी दिनुभएको छ ।
दुधरास स्थित अस्थायी प्रहरी चौकीले कुटपिट भएको जुरुरी परेको र छानविन गरेको बताएको छ । कुटपिट गर्ने ब्यक्ति फरार रहेको चौकीले बताएको छ ।