Home / Feature Breaking news / पैसा नहुनेले चुनाव लड्नै नसक्ने भए, सरकारी अनुदान दिऊँः निर्वाचन आयोग

पैसा नहुनेले चुनाव लड्नै नसक्ने भए, सरकारी अनुदान दिऊँः निर्वाचन आयोग

काठमाडौँ, १८ असोज

पैसा नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै निर्वाचन आयोगले सरकारी अनुदानको व्यवस्था गर्न प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा आयुक्त ईला शर्माले चुनाव खर्च अत्याधिक हुने गरेको भन्दै ध्यानाकर्षण गरेकी हुन् ।

‘चुनावी खर्च बढी भयो । पैसा हुनेले मात्रै चुनाव लड्न सक्ने व्यवस्थामा सुधार ल्याउनुपर्छ’ शर्माले भनिन् ‘बरु उम्मेदवारलाई सरकारी अनुदानको व्यवस्था गर्न सकिन्छ कि ?’ त्यसका लागि गृहमन्त्रालय र कानुन मन्त्रालयसँग विगतमा कुरा पनि भएको उनले उल्लेख गरिन् ।

कानुन र अन्य मेकानिजममा सुधार गरेर निर्वाचनलाई मितव्यायी र सबैको सहभागिता सुनिश्चित गराउन सक्नुपर्ने उनले बताइन् । आयुक्त शर्माले भनिन्, ‘लोकतन्त्र भनेको समान अवसर हुने पद्धती हो । तर, बिडम्बनै भन्नुपर्छ, यहाँ पैसा हुनेले मात्रै चुनाव लड्न सक्छन् ।’

सरकारी अनुदानमा चुनाव लड्ने पद्धती विकास गर्न सके प्रभावकारी हुनुका साथै सबैले चुनाव लड्न सक्ने उनको भनाइ छ ।

एउटा विधि बनाएर सबै दलहरुले पैसा हाल्ने र सिट संख्या हेरेर सरकारी अनुदान दिने व्यवस्था गर्न सकिने उनको तर्क छ । त्यसो गरिए राजनीतिक दलहरुको आर्थिक पारदर्शिता र स्वच्छता कायम हुने र जनताले दलहरुमाथि विश्वास गर्ने शर्माले बताइन् ।

यसरी पैसा लिएर खर्च गर्दा समयमै अडिट पनि हुने भएकाले त्यसतर्फ जानुपर्छ भन्ने आयोगको बुझाई रहेको उनले बताइन् ।

अर्का आयुक्त ईश्वरीप्रसाद पौडेलले गत निर्वाचनमा दलहरुले आफैंले तोकेको निर्वाचन खर्चको सिमा उलंघन गरेको आरोप लगाए । तथापि, दलहरुले निर्वाचन खर्चको विवरण बुझाउँदा तोकिएको सिमाभित्रै रहेर बुझाएकाले बढी खर्च गरेको भन्ने प्रष्ट आधार नरहेको उनले बताए ।

आयुक्त पौडेलले भोट किन्ने र भोट बेच्ने दुबै अपराधी हुन भन्ने मान्यतालाई स्थापित गर्नु ठूलो चुनौती रहेको उल्लेख गर्दै निर्वाचन खर्च व्यवस्थापनका लागि सामुहिक प्रतिवद्धताको खाँचौ औल्याए ।

सांसदहरुले निर्वाचन खर्चका सन्दर्भमा आयोगले के गरिरहेको छ र कस्ता खालका रेकर्डहरु राखेको छ भन्दै प्रश्न गरेका थिए ।

‘कानुनमै चुनावी क्यालेण्डर व्यवस्था गरौं’

निर्वाचन आयोगले आफूलाई मिति तोक्ने अधिकार दिनुपर्ने वा चुनावी क्यालेण्डर कानुनमै व्यवस्था गर्न माग गरेको छ ।

ऐनमै निर्वाचनको मिति तोकियो भने तयारीका लागि सबै पक्षलाई सहज हुने र हतारमा चुनाव गराउनुपर्ने बाध्यता नरहने उनको भनाइ छ ।

हतारमा निर्वाचन गर्नु पर्दा मतदाता शिक्षा प्रभावकारी नभएको, निर्वाचन आचारसंहिता उलंघन जस्ता घटनातर्फ प्रयाप्त ध्यान जान नसकेको अनुभव सुनाउँदै प्रवक्ता शर्माले आगामी निर्वाचनका लागि अहिलेदेखि नै सोच्नुपर्ने बताइन् ।

सुरुमा केही खर्चिलो भएपनि दिर्घकालीन रुपमा फाइदा हुने र बदर मत कम गर्न विद्युतीय भोटिङमा जानुपर्ने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*