काठमाडौं, ४ असोज । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ ।
मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । नेपाल–भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए ।
अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।
हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।