Home / Feature Breaking news / राष्ट्रियसभाको निर्वाचन र प्रदेश प्रमुख नतोकिएसम्म समानुपातिकको नतिजा सार्वजनिक नहुने

राष्ट्रियसभाको निर्वाचन र प्रदेश प्रमुख नतोकिएसम्म समानुपातिकको नतिजा सार्वजनिक नहुने

काठमाडौं,२९ मंसिर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि समानुपातिकतर्फको नतिजा राष्ट्रियसभाको निर्वाचन र प्रदेश प्रमुख तोकिएपछि मात्रै गरिने भएको छ ।

त्यसले गर्दा निर्वाचन आयोगको औपचारिक निर्णय लम्बिने भएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि तयार भएको अध्यादेश राष्ट्रपति कार्यालयमा अल्झिएको छ ।

कुन निर्वाचन प्रणालीका आधारमा राष्ट्रियसभाको चुनाव गर्ने भन्ने बारेमा निर्णय भएको छैन ।

यसमा पनि राजनीतिक दलहरुबीच विवाद देखिएको छ । कांग्रेसले एकल संक्रमणीय प्रणालीका आधारमा निर्वाचन हुनुपर्ने बताएको छ भने एमाले र माओवादी केन्द्रले बहुमतीय आधारमा हुनुपर्ने अडान राखेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीय प्रणालीका आधारमा निर्वाचन हुने भन्दै अध्यादेश जारी गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार राष्ट्रिय सभाको निर्वाचन नहुन्जेलसम्म कुन पार्टीले कति सिट प्राप्त गरेको भन्ने बारेमा कुनै निर्णय हुने छैन ।

“अहिले मतगणना सम्पन्न गरेर मात्रै राखिनेछ,” निर्वाचन आयोग उच्च स्रोतले भन्यो, “पहिले राष्ट्रिय सभाको निर्वाचन, त्यसमा हुने प्रतिनिधित्व र प्रदेश प्रमुख अहिलेसम्म तोकिएकै छैन । त्यो नहुँदासम्म हामीले परिणाम सार्वजनिक गर्दैनौं ।”

प्रतिनिधिसभामा महिलाको सिट सुनिश्चित नभएसम्म नतिजा सार्वजनिक गर्न नसकिने निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलले उमेदवारी दिँदा नै जनसंख्याको आधारमा महिला, दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफा ६० को उपदफा ४ मा दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरेपछि आयोगले त्यस्तो दलको तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित गर्नुपर्ने महिलाको संख्या समेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउनुपर्ने उल्लेख छ ।

त्यसैले पनि निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभामा सदस्य चयन नभएसम्म समानुपातिक तर्फको नतिजा सार्वजनिक नगर्ने तयारी गरेको हो ।

बाह्रखरीवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*