Home / Feature Breaking news / पौडेलले खोजे सभापतिमा साथ
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

पौडेलले खोजे सभापतिमा साथ

काठमाडाँ, १७ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन इतर पक्षका नेताहरुलाई आग्रह गरेका छन् । तर उनको पक्षमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।

बुधबार इतर पक्षका सभापतिका दाबेदारहरुबीच भएको बैठकमा पौडेलले अन्तिम पटकका लागि आफूलाई सभापतिमा सघाउन आग्रह गरेका थिए । आफूलाई सभापतिमा सघाए अरु नेताहरुलाई पदाधिकारीमा समेटेर अघि बढ्ने उनको भनाइ थियो । तर सभापतिका दाबेदार प्रकाशमान बाहेक सहभागी बैठकमा अधिकांशले उनको आग्रह नस्वीकारेको बैठकपछि एक नेताले बताए ।

पौडेलको प्रस्तावमा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत र बलबहादुर केसी सकारात्मक जस्तो बनेपछि उनीहरुले सघाउन सकिनेबारे खुलेर भने केही नभनेको ती नेताको भनाइ छ । रामचन्द्र समूहबाट सभापतिमा एकल उम्मेदवारी तय गर्नका लागि सहमति जुटाउने प्रयास आकांक्षी नेताहरुबीच अनुपम फुडल्याण्डमा छलफल भएको थियो । बुधबार दिउँसो साढे २ बजेदेखि पौने ५ बजेसम्म चलेको बैठकमा एकल उम्मेदवार तय गर्नेबारे सहमति जुट्न नसकेको नेतृ सुजाता कोइरालाले बताइन् ।

एकल उम्मेदवारी तयका विषयमा छलफल भएको तर सहमति नजुटेपछि निरन्तर संवादमार्फत निष्कर्षमा पुगिने उनको भनाइ छ । ‘हामी एकताको सन्देश दिनेगरी नै छलफलमा बसिरहेका छौं’ उनले भनिन्, ‘आज सहमति नभएपनि निरन्तर छलफल गरेर एक भएर अघि बढ्छौँ ।’ यस्तै नेता बलबहादुर केसीले पनि छलफल सकारात्मक ढंगले नै अघि बढेको बताए ।

बैठक रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, रामशरण महत, सुजाता कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत सहभागी थिए । कांग्रेसको भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु हुने भएपछि संस्थापन इतर समूह सो अघि नै टीम बनाएर अघि बढ्नेबारे निरन्तर छलफलमा भएपनि हालसम्म सहमति बन्न नसकेको हो ।

विश्वकर्माले गरे राजीनामा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै उनले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको सभापति शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

‘षड्यन्त्र मुलक ढंगबाट दलित समूदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन’ उनको राजीनामा पत्रमा भनिएको छ, ‘यो प्रवृत्तिले नेपाली काँग्रेस पार्टीमा दलित समूदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भातृ संस्था दलित संघको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु ।’

उनले पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति भने प्रतिबद्ध रही न्याय, समानता र स्वतन्त्रताका लागि सदैव लडिरहने प्रण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*