Home / Feature Breaking news / ३ करोड बढीको लागतमा गंगटेमा पुग्यो विद्युत,स्थानीय हर्षित

३ करोड बढीको लागतमा गंगटेमा पुग्यो विद्युत,स्थानीय हर्षित

गंगटे (दाङ), १२ पुस । पश्चिम दाङको विकट बस्ती बबई गाउँपालिका–१ गंगटेका स्थानीयबासी जीतबहादुर घर्तीमगर आफ्नै दैलोमा बिजुली बत्ती पाउँदा खुसीले गद्गद् छन् । अब जीतबहादुरलाई मोबाइल चार्जका लागि हापुरे धाउनुपर्ने छैन । टिभी हेर्न पनि सोलार जडान गर्नुपर्ने छैन । ‘अब हामीले आफ्नै दैलोमा मोबाइल चार्ज गर्ने छौं, विद्युतको उज्यालोमा हाम्रा छोराछोरीले लेखपढ गर्नेछन्’, जीतबहादुरले भने– ‘गंगटेबासीको बिजुली सपना ४ बर्षपछि बल्ल पूरा भएको छ ।’ मुलुकमा संघीयता आएसँगै स्थानीय सरकारलाई धेरै अधिकार प्राप्त भएपछि बबई गाउँपालिकाको विशेष पहलमा विकट बस्ती गंगटेमा विद्युत पुगेको हो ।

‘सोलारको उज्यालो त थियो तर घाम नलागेका बेला सोलारको पनि कामै हुन्थेन, अब भने विद्युत सेवा पाएका छौं, गंगटेकै स्थानीयबासी मानबहादुर गुरुङ भन्छन्– ‘विद्युत सेवाले हाम्रो दैनिकी केही सहज हुने आशा छ ।’ मानबहादुर र जीतबहादुर जस्तै कम्तीमा एक हजारभन्दा बढी घरपरिवार विद्युत सेवाबाट लाभान्वित हुनेछन् । बत्ती पुगेपछि गाउँमा हर्ष छाएको छ । करिब चार बर्षको अथक प्रयासपछि पुसको १० गते बबई गाउँपालिका वडा नं. १ को गंगटेसम्ममा बिद्युत विस्तार भएको हो । विद्युत प्राधिकरणको २ करोड ५० लाख र बबई गाउँपालिकाको ६७ लाख गरी ३ करोड १७ लाख रुपैयाँको लागतमा गंगटेसम्म विद्युत विस्तार भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । विद्युत विस्तार गर्नका लागि बबई गाउँपालिका–५ बबरपुरदेखि वडा नं. १ गंगटेसम्म करिब २४ किलोमिटर क्षेत्रमा विद्युत पोल गाड्नेदेखि तार तान्न करिब चार बर्ष लागेको हो ।

गत मंसिर महिनामै विद्युत विस्तार गर्ने गरी आर्थिक बर्ष २०७५÷०७६ सालदेखि विद्युत विस्तारको काम भए पनि बबई गाउँपालिका–५ बबरपुरदेखि गंगटेसम्म वन क्षेत्रको अवरोधसँगै कोरोना महामारीका कारण काम गर्न ढिलाई हुँदा विद्युत विस्तारमा समस्या भएको थियो । ‘जिल्लाकै विकट क्षेत्रका रुपमा रहेको गंगटेमा मंसिर महिनामै विद्युत पु¥याउने गरी काम सुरु गरेका थियौँ’, गाउँपालिका अध्यक्ष पौडेलले भने– ‘कोरोना महामारीसँगै बबरपुरदेखि गंगटेसम्मको बीचमा जंगल क्षेत्र पर्ने भएकाले काम गर्न समस्या भयो । जसका कारण विद्युत पु¥याउन केही समय ढिला हुन पुग्यो’, अध्यक्ष पौडेलले भने । गंगटेमा विद्युत पुगेपछि गाउँपालिकाका सबै वडाहरुमा विद्युत विस्तार भएको छ । अन्य वडाहरुमा यसअघि नै विद्युत सेवा सञ्चालनमा आइसकेको छ ।

बर्षौपछि गाउँपालिका विद्युत पुगेपछि स्थानीय खुशी भएका छन् । विद्युत नहुँदा अँध्यारोमा काम गर्नुपर्ने बाध्यतासँगै टिभी हेर्न, मोबाइल चार्ज सुविधा घरमै पाउने भएको स्थानीयबासीहरुले बताएका छन् । स्थानीयले विद्युत नहुँदा सोलारबाट काम चलाउँदै आएको भए पनि अब त्यो समस्या हट्ने बताए । ‘गाउँमा विद्युत नहुँदा घरमा सोलार राखेर बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने काम गर्दै आएका थियौँ तर घाम नलाग्दा बत्ती बाल्नै समस्या हुने गरेको थियो’, अर्का स्थानीयले भने– ‘अब त विद्युत तार पनि घर–आँगनमै आइपुग्यो । अब त बत्तिले बालबालिकालाई पढ्नदेखि रातको समयमा बत्ती बालेर काम गर्नसँगै मोबाइल चार्ज गर्नेदेखि टिभी हेर्नलाई समेत सहज हुनेछ ।’

बर्षाैपछि गाउँमा विद्युत पुगेपछि ७० बर्षीय मानबहादुर गुरुङ खुशी छन् । बर्षाैसम्म आउँछ.. आउँछ भनेर नगएको विद्युत अहिले पुग्दा खुशी लागेको बताए । ‘हामी विकट गंगटेलाई जहिल्यै ढाँट्ने काम मात्र भएको थियो । नेताहरुले विद्युत आउँछ, बाटो बन्छ मात्र भन्थे तर न विद्युत आउथ्यो नत बाटो बन्थो’, उनले भने– ‘तर अहिले विद्युतको तार घर नजिकै आएको छ । यो देख्न पाउँदा खुसी लागेको छ । अब घरमा विद्युत बाल्न मन छ ।’ उनको परिवारले विद्युतका लागि वडा कार्यालयमा निवेदनसमेत दिएको बताए । गाउँमा विद्युत पुगेपछि पुरै गाउँवासी खुसीले दंग छन् । हरेक निर्वाचनमा विद्युत सपना देखिरहने गंगटेबासीले अहिले भने साँच्चै विद्युत सेवा पाएका हुन् ।

विद्युत विस्तारसँगै अब स्थानीयलाई सोलार र मट्टितेलबाट बत्ती बाल्नुपर्ने समस्या हट्ने भएको बबई गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खड्गबहादुर कुँवरले बताए । गाउँपालिका बत्ती आइपुगेपछि स्थानीयको बर्षौदेखि आशा पूरा भएको बताए । ‘गाउँपालिका अन्य वडाहरुमा विद्युत थियो तर हाम्रो वडामा विद्युत विस्तार भएको थिएन’, वडा अध्यक्ष कुँवरले भने– ‘जसले गर्दा जहिले नि वडावासीले विद्युत कहिले आउँछ भनेर सोध्नुहुन्थ्यो ? त्यो प्रश्नको अन्त्य भएको छ ।’ उनका अनुसार अहिले भएको विद्युत विस्तारले वडाका ४२ टोलहरुमध्ये १२ वटा टोलका करिब ६ सय घरपरिवारले विद्युत सुविधा लिन सक्नेछन् । वडाध्यक्ष कुँवरले बस्तीमा आइपुगेको विद्युत घर–घरमा बाल्नका लागि वडावासीहरबाट निवेदन संकलनको काम भइरहेको बताए । वडाका ४२ टोलमा १२ सय घरधुरी रहेका छन् ।

विकासका लागि सहकार्य आवश्यक

यसैबीच विद्युतको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले गंगटेको विकासका लागि सबै राजनीतिक दलहरुका बीचमा सहकार्य आवश्यक रहेको बताए । भौगोलिकरुपमा दाङमै विकट क्षेत्रका रुपमा रहेको गंगटे गाउँको विकासका लागि प्रमुख राजनीतिक दलहरुका सहकार्य हुनुपर्ने बताएका हुन् ।

विद्युतसँगै गंगटेमा सडक, खानेपानी, स्वास्थ्य सेवासँगै उच्च शिक्षाको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि दलहरु विभाजितभन्दा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । सहकार्य र समितिले विद्युतसँगै अन्य सेवाहरु समेत पाउने बताए । विद्युत उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गंगटेको विकासका लागि आफूले पहल गर्ने बताए । उनले दुर्गम बस्तीका रुपमा रहेको गंगटे गाउँले विकास पहिल्याउन थालेको भन्दै यसलाई अघि बढाउनका लागि आफूले जिल्ला, प्रदेश र संघीय जनप्रतिनिधिसँग पहल गर्ने बताए ।

बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका बबई गाउँपालिका अध्यक्ष जीतबहादुर वली, नेपाली कांग्रेस बबईका अध्यक्ष कुलबहादुर केसी, नेकपा माओवादी केन्द्र बबईका अध्यक्ष डिल्लीबहादुर बुढाथोकी, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३ (ख)का सचिव पूर्ण केसी, बबई गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्गबहादुर कुँवर, वडा नं. ३ का अध्यक्ष नन्दलाल केसी, रिपोर्टस् क्वल दाङका अध्यक्ष शरद रेग्मीलगायतले बोलेका थिए । उपाध्यक्ष सावित्रा विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेमबहादुर राम्जाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*