किरण गौतम
घोराही, १० कार्तिक
हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले श्रममा रहेका बालबालिकाहरुलाई आज उद्धार गरी परिवारमा पुनस्र्थापना गरेको छ । घोराही बजार क्षेत्रमा होटेल, ग्रिल उद्योग, पसल, घरेलु कामदार लगायत विभिन्न व्यवसायमा काम गरिरहेका दाङका ११ जना बालबालिकाहरुलाई उद्धार गरी परिवारमा पुनस्र्थापना गरिएको हो ।
उद्धार गरिएका बालबालिकाहरुमध्ये घोराही १२ बटलपुरका शरद नेपाली, यमुना नेपाली, मञ्जु के.सी. र सन्तोष रावत, घोराही ४ भकारेका विशाल परियार र प्रमोद सुनार, घोराही ७ रावतगाउँकी कमला चौधरी, घोराही १८ रझेनाका दीपक डाँगी र युवराज डाँगी, घोराही १० अमराइका निशान्त चौधरी र घोराही ५ भैसापथ्राका सुरेश परियार रहेका छन् ।
उक्त अवसरमा श्रमिक बालबालिकाका परिवारलाई आयआर्जनका लागि प्रतिपरिवार सोह्र हजार पाँच सयका दरले रकमका साथै बालबालिकाहरुलाई २ दर्जन कापी, २ दर्जन डटपेन र १ दर्जन पेन्सिल र स्कुल ब्यागसहित स्टेशनरी सामान हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा बालश्रमिकहरुका परिवारहरुका लागि व्यवसाय सञ्चालन तथा बालबालिका हेरचाहबारे अभिमुखीकरण समेत गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका डी.एस.पी. भूवनेश्वर तिवारीले बालबालिकाको अधिकार, बालबालिकालाई श्रममा पठाउने र राख्नेलाई हुने कानूनी व्यवस्थाको बारेमा र दाङ जिल्ला उद्योग बाणिज्य संघका व्यावसायिक सल्लाहकार सुरज बुढाथोकीले व्यवसाय छनौट एवं सञ्चालनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
हिप्डेक नेपालका अध्यक्ष विकिरण गौतमको अध्यक्षता तथा उपमहानगरपालिकाकी उपमेयर सीता न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन राप्तीपोष्ट दैनिकका सम्पादक एवं हिप्डेकका सदस्य शरद अधिकारीले गर्नुभएको थियो ।
हिप्डेक नेपालले युनिसेफ तथा घोराही उपमहानगरपालिकाको सहयोगमा घोराही उपमहानगरपालिकामा ३ वर्षदेखि निरन्तर बाल संरक्षण तथा बालश्रम न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।