Home / Feature Breaking news / दाहाल–नेपालको दुई प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा : कि तीन तहको चुनाव एकैपटक, नभए पहिले संघीय निर्वाचन

दाहाल–नेपालको दुई प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा : कि तीन तहको चुनाव एकैपटक, नभए पहिले संघीय निर्वाचन

सत्ता गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीनै तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन् ।

सत्ता गठबन्धनमा अनौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको स्रोतले जानकारी दियो ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगसँगै प्रतिपक्षी दलले दबाब दिइरहेका बेला सत्ता गठबन्धनकै नेताहरुबाट यस्तो प्रस्ताव आएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका हुन् ।

सत्ता गठबन्धनका एक नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो प्रस्ताव राखिसकेका छन् ।

उनीहरुको प्रस्तावपछि स्थानीय तहको मात्र चुनाव घोषणा गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेको छ ।

“प्रचण्ड र माधवजीको प्रतिनिधिसभाबाट निर्वाचन सरु गरौँ भन्ने प्रस्ताव छ । होइन भने तीनवटै तहका निर्वाचन एकसाथ गरेर राज्यलाई कम आर्थिक भार बनाउन सकिन्छ भन्ने विकल्प पनि उहाँहरुको छ,” गठबन्धनका ती नेताले भने, “प्रधानमन्त्रीले त्यसमा निर्णय गरको अवस्था देखिएन ।”

ती नेताका अनुसार प्रधानमन्त्रीले सत्ता गठबन्धनका नेताको कुरा नमाने सरकार नै अप्ठेरोमा पर्न सक्ने अवस्था रहेकाले निर्णय गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने सत्ता गठबन्धन उल्लेख नगरी तीनवटै तहको चुनाव एकसाथ गर्ने र फरक तहको फरक फरक चुनाव गर्ने भन्ने विषयहरु आइरहेको बताउँछन् ।

ती विकल्पहरुको आ–आफ्ना तर्क रहेको भन्दै सरकारले निर्णय गरिनसकेको उनको भनाई छ ।

“तीनवटै तहको निर्वाचन एकसाथ गर्दा उपयुक्त हुन्छ । त्यसले महामारीले कमजोर पारेको अर्थतन्त्रलाई थप कमजोर हुनबाट जोगाउँछ भन्ने तर्क आएको छ,” कार्कीले पत्रकारहरुसँगको अनौपचारिक भेटमा भने, “हरेक तहको आफ्नै महत्व रहेकाले छुट्टाछुट्टै गर्नुपर्छ भन्ने तर्क पनि आएको छ ।”

उनले सरकारले त्यसमा निर्णय गरिनसकेको भन्दै यथोचित समयमै निर्णयमा पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*