Home / समाचार / गढवामा क्याम्पस सञ्चालनका लागि महायज्ञ हुने

गढवामा क्याम्पस सञ्चालनका लागि महायज्ञ हुने

घोराही, १७ साउन
राप्तीको नदीपारी गढवा गाउँपालिकामा रहेको गढवा वहुमुखी क्याम्पस सञ्चालनका लागि महायज्ञ हुने भएको छ । २०६५ सालमा सञ्चालन भएको उक्त क्याम्पसको स्त्तरबृद्धि गर्दै प्राविधिक शिक्षालय सञ्चालनका लागि महायज्ञ लगाउन लागिएको क्याम्पसले जनाएको छ । नदीपारीको एकमात्र क्याम्पसकारुपमा रहेको गढवा वहुमुखी क्याम्पसको स्तरबृद्धि हुँदै प्राविधिक विषय पढाई भएमा त्यस भेगका हजारौहजार विद्यार्थीहरु लाभान्वित हुने विश्वास क्याम्पसको छ ।

थारु, यादव, जनजाति, मुश्लीमहरुको बाक्लो बसोबास रहेको गढवामा प्राविधिक विषय पढाई भएमा यसबाट राजपुर, लमही, राप्ती गाउँपालिकाका विद्यार्थीहरुले समेत प्रत्यक्ष लाभ उठाउन सक्नेछन् । त्यही भएर महायज्ञ मार्फत रकम संकलन गरी प्राविधिक क्याम्पसकारुपमा समेत गढवा क्याम्पसलाई विकास गर्ने योजना लिइएको छ । क्याम्पसका अध्यक्ष मेटमणि चौधरी, उपाध्यक्ष रामप्रसाद गैरे, क्याम्पस प्रमुख देबराज पाठकसहितको टोलीले यस विषयमा मंगलबार घोराहीमा विशेष भेटघाट गरेको छ ।

यस विषयमा गढवाबाट आएको टोलीले पद्मोदय पव्लिक नमूना उमाविका प्राचार्य कृष्णराज डिसी, पूर्वप्राचार्य गोविन्द न्यौपाने, पूर्व मेयर अमरबहादुर डाँगी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतसँग महायज्ञको विषयमा छलफल गरेको छ । केही महिना अगाडी पद्मोदयले यसरी नै महायज्ञ लगाएर कलेज सञ्चालनका लागि रकम संकलन गरेको थियो । महायज्ञ असोजको १७ गतेबाट लगाउने तयारी गरिएको छ । महायज्ञको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने तयारी क्याम्पसले गरेको छ ।

राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा गर्नका लागि केही दिनमै क्याम्पसको टोली काठामाडौ जाने तयारीमा छ । महायज्ञ वाचन गर्न चर्चित पण्डित दिनवन्धु पोख्रेल आउनु हुनेछ । महायज्ञबाट ५ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको र सोही अनुरुप दात्ताहरुसँग छलफल भइरहेको क्याम्पसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*