प्रमेश चौधरी
घोराही, १८ पुस
नेपाल महिला सामुदायिक सेवा केन्द्रले विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको छ ।
विहीवार घोराहीमा एक कार्यक्रम आयोजना गरी केन्द्रले पढाईमा सहयोग गरेका विद्यार्थीहरुलाई न्यानो कपडा र बालिकाहरुलाई स्यानिटरी प्याड वितरण गरिएको हो ।
जाडो मौसममा बालबालिकाहरुलाई विद्यालय जानका लागि सहज होस्भ भन्ने उद्धेश्यका साथ बालबालिकाहरुलाई सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ ।
संस्थाका संस्थापक अध्यक्ष बिमला योगीले संस्थामा स्थापना गर्नुभएको “विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम” अन्तरगत न्यानो कपडा प्रदान गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा प्रवद्र्धन गरिएको लैङ्गिक हिंसा पुनस्र्थापना केन्द्रले उत्पादन गरिएको पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड पनि वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि योगीले संस्थाले स्थापनादेखी नै कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यका साथ बालबालिकाहरुको शिक्ष अभियान सुरु गरेको बताउदै यो अभियानलाई अझै व्यापक रुपमा अगाडी बढाउने बताउनुभयो ।
‘सामाजिक कायै गर्ने भनेरै यो संस्थाको स्थापना गरेका हौँ, संस्था स्थापना सँगै हाम्रो अभियान भनेको बालबालिका बढाउने हो । आर्थिक अभावका कारण बालबालिकाहरु पढाईबाट बञ्चीत हुन नपरोस् भनेर हामीले अभियान सुरु गरेका हौँ ।’ उहाँले भन्नुभयो–‘यो अभियान हामीले ३ दशकदेखी निरन्तर रुपमा अगाडी बढाईरहेका छौँ, आगामी दिनमा यो अभियानलाई अझै बलियो बनाएर जाने छौँ ।’
उहाँले चिसो मौसमका कारण विद्यालय जाने बालबालिकाहरुको पढाई नछुटोस् भनेर न्यानो कपडा सहयोग गरिएको बताउनुभयो । साथै उहाँले स्यानिटरी प्याडको प्रयोगले किशोरीहरुको प्रजनन स्वास्थ्यमा फाईदा पु¥याउने बताउनुभयो ।
सशक्तिकरणका लागि शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक कल्पना डाँगीले विद्यार्थीहरूको व्यक्तिगत सरसफाइका बारेमा जानकारी दिनु भएको थियो ।

विद्यार्थी सृजना खड्काले पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड प्रयोगका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सहजिकरण मनोविमर्शकर्ता निर्मला चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा २९ जना विद्यार्थीलाई न्यानो कपडा र २१ जना किशोरी र अभिभावकहरुलाई स्यानिटरी प्याड प्रदान गरिएको थियो ।
RaptiSandesh RaptiSandesh