Home / Feature Breaking news / मनोविमर्शकर्ता महासंघको लुम्बिनी प्रदेश समिति गठन

मनोविमर्शकर्ता महासंघको लुम्बिनी प्रदेश समिति गठन

घोराही, ३० पुस

लुम्बिनी प्रदेशमा कार्यरत मनोविमर्शकर्ताहरुको भेलाले राष्ट्रिय मनोविमर्शकर्ता महासंघ नेपालको प्रदेश स्तरिय समिति गठन गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको व्यवस्थापनमा बुधवार घोराहीमा भएको भेलाले शान्ती पण्डीतको अध्यक्षतामा प्रदेश स्तरिय ९ सदस्यीय राष्ट्रिय मनोविमर्शकर्ता महासंघ समित गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शोभा भण्डारी, सचिवमा गणेश पौडेल, कोषध्यक्षमा सीता कवर, सदस्यहरुमा ज्ञानु थापा मगर, नौसबा नाज अन्सारी, मधु वली, जगदीश थापा र उर्मीला पाण्डे रहनुभएको छ ।

लुम्बिनी प्रदेश स्तरिय भेलाका संयोजक गणेश पौडेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डि.सीको प्रमुख आतिथ्यता र नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय मनोसामाजिक समस्याका घटनाहरु बढ्दो मात्रामा देखिएकाले ती समस्या समाधानका लागि मनोविमर्शकर्ताहरुको महत्वपूर्ण भूमीका रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीले मानिसमा विभिन्न कारणले मानसिक समस्याहरु बढ्दो मात्रामा देखिने गरेकाले मनोविमर्शको माध्यमबाट उपचार गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले मानिसलाई स्वस्थ बनाउनकालागि सबै सरकारी तथा सामाजिक संघसंस्थाही मिलेर घोराही उपमहानगरपालिकामा काम गरिरहेको बताउदै आगामी दिनमा ती अभियानलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो ।

विशिष्ठ अतिथि नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले समाजमा बढ्दो मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै संस्थाले निशुल्क मनोविमर्श सेवा सञ्चालन गरेको बताउनुभयो ।

उहाँले लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा निशुल्क रुपमा मनोमिवर्श सेवा प्रदान गरिरहेको र विगत एक देखी मनोसामाजिक समस्या समाधानकालागि केन्द्रले कार्य गरिरहेको पनि बताउनुभयो ।

साथै सरकारी निकायले गम्भीरताका साथ मानसिक समस्याको क्षेत्रमा काम गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय मनोविमर्शकर्ता महासंघको स्थापना र यसले गर्ने कार्यका बारेमा संस्थागत जानकारी महासंघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मी ढकालले प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा अन्तरङ्ग साईकोसोसन रिसर्च एण्ड ट्रेनिङ ईन्सिच्यूटका निर्देशक मनोविद् सुष्मा रेग्मी, घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा पमुख राधा पौडेल, मनोविमर्शकर्ता ज्ञानु थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*