Home / Feature Breaking news / पहिरोमा एम्बुलेन्स थुनिँदा बिरामी मर्कामा

पहिरोमा एम्बुलेन्स थुनिँदा बिरामी मर्कामा

दाङ, ४ कार्तिक । पहिरोका कारण दुई सातादेखि चालकको घरमा एम्बुलेन्स थुनिँदा सेवाग्राही समस्यामा परेका छन् । दाङको पहाडी गाउँपालिका बंगलाचुलीको कमिरेचौरमा रहेको बंगलाचुली अस्पतालको रा १ झ १३२ नम्बरको एम्वुलेन्स विगत १५ दिनदेखि चालकको घरमा थुनिन पुगेको हो । चालक गिरबहादुर मगरले दशैंमा टिका लगाउनका लागि एम्बुलेन्स लगेर घर गएको समयमा भएको बर्षातका कारण बंगलाचुलीको मुर्कटी–झेलखोला ग्रामीण सडकमा पहिरो खसेपछि दुई हप्तादेखि बंगलाचुली अस्पताल एम्बुलेन्सविहीन हुन पुगेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा सहायक इन्द्रा बुढामगरले जानकारी दिएकी छिन् । उनका अनुसार अस्पतालमा भएको एउटा मात्रै एम्बुलेन्स पहिरोमा फसेपछि बिरामीहरुलाई समस्या भएको छ ।
‘एम्बुलेन्स अस्पतालमा हुँदा बिरामीको खवर आएपछि गाउँ–गाउँमा पुगेर ल्याउनेदेखि गम्भीर खालका बिरामीहरुलाई अस्पतालबाट घोराहीसँगै बाहिरका अस्पतालहरुमा तत्कालै लाग्ने हुन्थ्यो’, शाखा सहायक प्रमुख बुढामगरले भनिन्– ‘तर अहिले बिरामीहरुलाई बोकेर ल्याउने गर्नुहुन्छ । अस्पतालबाट बाहिर पठाउनु परे २३ किलोमिटर टाढा घोराहीबाट एम्बुलेन्स बोलाउनुपर्ने बाध्यता छ ।’ शाखा सहायक प्रमुख बुढामगरका अनुसार एम्बुलेन्स नहुँदा डेलीभरीसँगै सिरियस खालका बिरामीहरुलाई बाहिर पठाउन समेत समस्या हुने गरेको छ ।
बिरामीलाई अस्पताल ल्याउनका लागि आफू एम्बुलेन्स लगेर जुनसुकै बेला पनि हिँड्नुपर्ने बाध्यताका कारण दशैको टिकाको अघिल्लो दिन एम्बुलेन्स ल्याएर घर आएको र सोही दिन पहिरो खस्दा थुनिनुपरेको चालक गिरबहादुर घर्तीले बताए । ‘अस्पतालबाट घर हिडेर जाँदा करिब २ घण्टा बढी समय लाग्ने र अस्पतालमा एम्बुलेन्स जुनसुकै समयमा आवश्यक पर्ने भएकाले घर जाँदा एम्बुलेन्स लगेर गएको थिएँ’, चालक घर्तीले भने– ‘तर त्यही समयमा ठूलो पानी परेर सडकमा माटो र ढुंगा खसेपछि एम्बुलेन्स ल्याउन सक्ने अवस्था छैन ।’ चालक घर्तीले सडकका विभिन्न ठाउँमा मानिसले हटाउन नसक्ने गरी पहिरो खसेका कारण लामो समयसम्टम एम्बुलेन्स चल्न नसकेको बताएका छन् । एम्बुलेन्स ल्याउनका लागि सडकमा खसेको पहिलो हटाउने काम भइरहेको बंगलाचुली गाउँपालिका प्रवक्ता शोभराज विकले जानकारी दिएका छन् । प्रवक्ता विकका अनुसार तीन दिनदेखि डोजरले माटो हटाउने काम गरिरहेको भए पनि अझै सडकको पहिलो हटाउन नसकिएको बताए । उनका अनुसार जति सक्यो चाँडै पहिरो हटाएर एम्बुलेन्स ल्याउनका साथै स्थानीयलाई हिँड्डुलका लागि बाटो सहजता बनाउने काम भइरहेको बताए ।
पहाडी गाउँपालिकाको अस्पतालमा भएको एकमात्र एम्बुलेन्स चालकको लापरबाहीका कारण घरमा थुनिएको बताउने गरेका छन् । अस्पतालमा राख्नुपर्ने एम्बुलेन्स घरमा लग्दा पहिरोमा थुनिँदा अस्पतालमा बिरामी ल्याउन–लग्न समस्या भएको स्थानीयले बताउने गरेका छन् । एम्बुलेन्स नहुँदा बिरामीहरुलाई अस्पताल ल्याउनसँगै गम्भीर खालका बिरामीहरुलाई बाहिर पठाउनका लागि महंगो भाडा तिरेर गाडी रिजर्भ गर्नुपर्ने बाध्यता रहेको छ । असोजको १८ गते रातिदेखि २४ गतेसम्म परेको अबिरल बर्षाका कारण बंगलाचुलीमा ठूलो क्षति गरेको छ । बाढी तथा पहिरोका कारण ३ जना मृत्यु हुनुका साथै सयौं परिवार घरविहीन अवस्थामा पुगेका छन् । पहिरोले बंगलाचुली गाउँपालिकामा घर भत्किनुका साथै खेतीयोग्य जमिनसमेत बगाएको गाउँपालिकाले जनाएको छ ।
यसैबीच बंगलाचुली गाउँपालिकाले यसमा आफूहरु अत्यन्तै गम्भीर भएको बताएको छ । गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले लगातार तीन दिनदेखि बाटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएका छन् । ‘एम्बुलेन्स थुनिएको विषयमा हामीहरु अत्यन्तै गम्भीर छौं, सम्भवतः बुधवारै रातिबाट एम्बुलेन्सलाई बाटो खुलाएर ल्याउने र आवश्यक पर्नासाथ सञ्चालन गर्ने तयारीमा छौं’, अध्यक्ष पुनले भने । बंगलाचुलीमा दशैमा परेको अबिरल बर्षातका कारण ३ जनाको ज्यान गएको छ भने करोडौंको धनमाल क्षति भएको पनि पालिकाले जनाएको छ । अबिरल बर्षातका कारण तीन दिनभन्दा बढी गाउँपालिकाको सदरमुकाम घोराहीसँगको यातायात सम्पर्कविच्छेद भएको थियो । यातायात सम्पर्कविच्छेद हुँदा दैनिक खाद्य सामग्रीको समेत समस्या उत्पन्न हुन थालेको थियो । यद्यपि घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको समन्वयमा सडक यातायात भने सहज भएको छ । ग्रामीण बस्तीमा विभिन्न स्थानमा गएको पहिरोका कारण सडकहरु भने पूर्णरुपमा सञ्चालनमा आइसकेका छैनन् । त्यसका लागि गाउँपालिकाले दिनदिनै फरक–फरक बस्तीमा डोजर लगाएर सडक सञ्चालनमा ल्याउने अन्तिम प्रयास गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*