Home / Feature Breaking news / बजेटको तयारी गर्दै स्थानीय तहहरु

बजेटको तयारी गर्दै स्थानीय तहहरु

अमरराज आचार्य

दाङ, २० जेठ । दशै, तिहार, अनि एकपछि अर्को बहानामा ढिलासुस्तीमा रहेका स्थानीय सरकारहरु पछिल्लो दुई महिना कोरोना भाइरसको नयाँ भेरियन्टको कहरपछि बल्ल आगामी आर्थिक बर्षका लागि योजना बुन्न जुटेका छन् । चालु आर्थिक बर्षमा अर्थपूर्णरुपमा विकास बजेट खर्च गर्ने अवस्था नरहेको अवस्थामा अर्को बर्षका लागि सरकारी नीति–नियमले दिएको समयसीमा भन्दा निकै ढिलामात्र स्थानीय पालिकाहरु बजेटको तयारीमा जुटेका हुन् ।

संविधानमा भएको व्यवस्था अनुसार स्थानीय तहहरुले असार १० गतेसम्म नीति कार्यक्रमसहित बजेट ल्याइसक्नु पर्ने हुन्छ । संघीय सरकार, प्रदेश सरकारले बजेट ल्याएपछि स्थानीय सरकारले बजेट ल्याउने गर्दछन् । त्यसैले अहिले योजनाको छनोट तथा बजेट विनियोजनको आन्तरिक तयारी सुरु गरिएको स्थानीय तहहरुले बताएका छन् । बस्तीस्तरमा पुगेर योजना छनोट गर्नुपर्ने भए पनि कोभिड–१९ को कारण वस्तीस्तरमा पुग्न नसकिएको स्थानीय तहहरुले जनाएका छन् ।

घोराही उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि बजेटको आन्तरिक तयारी थालेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । ‘अनौपचारिकरुपमा बजेटको तयारी थालिएको छ’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने । औपचारिकरुपमा छिट्टै नै सुरु गरिने उनको भनाइ रहेको छ । प्रदेश सरकारबाट आउनुपर्ने सिलिङ पूर्ण रुपमा आइनसकेको प्रमुख केसीले बताए ।

कोभिडका कारण बस्तीस्तरबाट योजना छनोट गर्न जान नसकिएको केसीको भनाइ छ । वडा कार्यालय तथा विषयगत समितिबाट योजना छनोट गरिने छ । त्यसैगरेर अघिल्लो वर्ष माग भएका योजनाहरु समावेश गरिने उपमहानगरपालिकाको तयारी रहेको छ । यसैगरेर चालु आर्थिक वर्षमा काम हुन नसकेका योजनाहरुलाई निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत केसी बताउँछन् । ‘हामीले सामाजिक विकाससँगै अन्य विकासका कार्यलाई प्राथमिकता दिने सोच बनाएका छाँै’, प्रमुख केसीले भने– ‘उपमहानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७८÷०७९ मा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास निर्माणका कार्यलाई प्राथमिकता दिने जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले पनि बजेटको तयारी गरेको जनाएको छ । उपमहानगरपालिकाले बजटेको तयारी थालेको योजना तथा बजेट महाशाखाका टेकबहादुर खडकाले जानकारी दिए । योजना छनोटका लागि वडा कार्यालयहरुलाई पत्राचार गरिएको उनको भनाइ रहेको छ । कोभिडका कारण बस्तीस्तरमा पुगेर योजना छनोट गर्न नसकिएको उपमहानगरपालिका जनाएको छ । उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षमा स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधार विकास लगायतलाई प्राथमिकता दिएको जनाएको छ ।

लमही नगरपालिकाले बजेटको तयारी थालेको जनाएको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नगरपालिकाले बजेटको तयारी सुरु गरेको बताए । असार ९ गते बजेटको मितिसमेत तय गरिसकेको उनको भनाइ रहेको छ । वडा कार्यालयहरुबाट योजना माग गरिएको उनले बताए । योजना छनोटका लागि वस्तीस्तरमा पुग्न नसकेपछि टोल विकास संस्थाहरुले वडा कार्यालयमा योजना दिने व्यवस्था गरिएको छ । टोलबाट आएका योजनाहरु समावेश गरी वडा कार्यालयले नगरपालिकामा पठाउने छन् । नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, महिला तथा बालबालिकाको क्षेत्रमा बजेट प्राथमिकता दिइने जनाएको छ ।
यस्तो छ बजेट तथा योजना छनोटको चरण

स्थानीय सरकार सञ्चान ऐन २०७४ को स्थानीय सरकार तहको वार्षिक योजना र बजेट तर्जुमा पूर्वतयारी स्रोत अनुमान तथा बजेट सीमा निर्धारण अनुसार ७ चरणमा योजना छनोट गरिने व्यवस्था गरिएको छ । पहिलो चरणअन्तर्गत बजेटको पूर्व तयारी पौष मसान्तदेखि चैत मसान्तसम्म गरिने छ । जसमा आयव्यव प्रक्षेपण गरेको तथ्याङ्कसहितको विबरण संघीय सरकारमा पेश गर्ने पौष मसान्त भित्र, संघ र प्रदेशबाट बजेट सीमा प्राप्त गर्ने चैत मसान्त भित्र ।

दोस्रो चरण स्रोतको अनुमान तथा बजेटको सीमा प्राप्त गर्ने चैत मसान्त सम्म, तेस्रो चरण वस्ती तहका योजना छनोट तथा प्राथमिकीकरण बैशाख समान्तसम्म, चौथो चरण वडा तहमा योजना छनोट तथा प्राथमिकीकरण जेठ १५ सम्म, पाँचौ चरण बजेट तथा कार्यक्रम तर्जुमा असार ५ भित्र, छैठौ चरण कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृत, सातौँ चरण गाउँपालिका तथा नगरपालिका सभामा कार्यक्रम स्वीकृत जसमा बजेट तथा कार्यक्रम प्रस्तुती असार १० र बजेट तथा कार्यक्रम स्वीकृत असारभित्र गर्नुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*