असार सकिन लाग्दा देशभर ५९ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । तुलनात्मक रूपमा कम वर्षा भएकाले मधेशमा थोरै रोपाइँ सकिएको छ भने सुदूरपश्चिममा रोपाइँ सकिन लागेको छ ।
कृषि मन्त्रालयका अनुसार कोशीमा ४१.३२ प्रतिशत, मधेशमा ३३.७८ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, गण्डकीमा ६६.९९ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, कर्णालीमा ८३.२९ प्रतिशत र सुदूरपश्चिममा ९३.१ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै रोपाइँ थालिने भएकाले छिट्टै सकिन लागेको हो ।
मन्त्रालयका अनुसार धान खेती हुने क्षेत्रफलमध्ये कोशीमा एक लाख १४ हजार दुई सय ११ हेक्टर र मधेशमा एक लाख २५ हजार आठ सय ८८ हेक्टरमा रोपाइँ सकिएको छ ।त्यस्तै, बागमतीमा ९१ हजार नौ सय ८३ हेक्टर, गण्डकीमा ६३ हजार ९१ हेक्टर, लुम्बिनीमा दुई लाख २३ हजार दुई सय १२ हेक्टर, कर्णालीमा ३४ हजार २५ हेक्टर र सुदूरपश्चिममा एक लाख ६३ हजार नौ सय ९३ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
यो वर्ष १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमा रोपाइँ हुने अनुमान छ । यसमध्ये आठ लाख १६ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ ।
RaptiSandesh RaptiSandesh