Home / Feature Breaking news / कांग्रेसलाई सशक्त र एकढिक्का बनाउनेछु : सभापति डाँगी

कांग्रेसलाई सशक्त र एकढिक्का बनाउनेछु : सभापति डाँगी

दाङ, १३ मंसिर । चारजना प्रत्यासीबीच सबैभन्दा बढी मत पाएका कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी दोस्रो चरणको निर्वाचनकै क्रममा सर्वसम्मतरुपमा सभापति बनेका छन् । उनका निकट प्रत्यासी भूपबहादुर डाँगीले एकताका लागि उनको नाममा समर्थन दिएपछि शंकर सर्वसम्मतरुपमा सभापति घोषित भए । उनलाई सबैभन्दा पहिले मतदानस्थल भरतपुर पुगेर प्रत्यासी भूपबहादुर डाँगीले हात मिलाएर अंकमाल गर्दै बधाइ दिएका थिए ।

‘दाङ कांग्रेसको नेताका रुपमा स्थापित भइसकेको उहाँले मेरो नेतृत्वमा सहमति जनाएर मलाई दाङ कांग्रेसको नेतृत्व हाँक्ने जिम्मेवारी दिनुभएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु’, सर्वसम्मत निर्वाचित भैसकेपछि भरतपुरमै सम्वोधन गर्दै नवनिर्वाचित सभापति डाँगीले भने । निर्वाचनको दोस्रो चरणसम्म सौहार्दपूर्णरुपमा अधिवेशनहरु सम्पन्न भइसकेको अवस्थामा जिल्ला अधिवेशनमा पनि सर्वसम्मत रुपमा आफूलाई नेतृत्वको जिम्मेवारी प्रदान गर्ने दाङ कांग्रेसका अग्रज नेताहरुलाई पनि सभापति डाँगीले आभार व्यक्त गरे ।

‘आदरणीय नेता बलदेव मजगैयाँ, खुमबहादुर खड्का, तीर्थराज चैतुलगायतका अग्रज नेताहरुलाई सधैव सम्मान गर्दै म उहाँहरुले देखाएको बाटोमा हिँडेर दाङ कांग्रेसलाई थप सशक्त र एकढिक्का बनाउन सक्रिय भूमिका निर्वाह गर्नेछु’, डाँगीले भने– ‘यसमा सबै कांग्रेसजनहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।’

उनले आदरणीय भूपबहादुर डाँगीको त्याग पार्टीको एकताका लागि भएको स्मरण गर्दै आफूले यसमा सधै दत्तचित्त भएर कांग्रेसलाई आसन्न आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्न हर तवरले पहल गर्ने पनि बताए । निर्वाचनमा आफूलाई यहाँसम्म ल्याउन सधै सहयोग र सकारात्मक धारणा राख्ने सबै क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, अग्रज नेताहरुलगायत नेपाली कांग्रेसका जनवर्गीय संगठन एवं शुभेच्छुक सबै संघसंस्थाका प्रतिनिधि तथा पदाधिकारीहरुप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन् ।

शनिबार भएको निर्वाचनमा स्पष्ट मत नआएपछि आइतवार पुनः निर्वाचनको तयारी गरिएको थियो । तर सभापतिका अर्का मुख्य प्रतिष्पर्धी भूपबहादुर डाँगीले सभापतिमा मुख्य प्रतिष्पर्धी शंकरप्रसाद डाँगीलाई समर्थन गरेपछि उनी जिल्ला सभापति बनेका हुन् । शनिवार भएको निर्वाचनमा शंकरप्रसाद डाँगीले ७ सय ७६, भूपबहादुर डाँगीले ५ सय ४५, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत लिएका थिए ।

प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिएको भए पनि सहमतिपश्चात् डाँगी जिल्ला सभापति भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । सभापति पदका मुख्य प्रतिष्पर्धी भूपबहादुर डाँगी र शंकर डाँगीबीच भएको समहतिपश्चात् शंकरप्रसाद डाँगी जिल्ला सभापति भएका हुन् । प्रतिष्पर्धी भूपबहादुर डाँगीले उनलाई सभापतिमा समर्थन गरेपछि सभापति घोषणा गरेका थिए ।

विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी पार्टीका लागि जहिले पनि हक्की स्वभावका रूपमा उभिन्छन् । तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा उभिएका छन् । उनी सभापतिका लागि बलियो उम्मेदवार मानिँदै आएका थिए । उनलाई संस्थापन इतर समूहको समर्थन थियो । तर पछिल्लो निर्वाचनमा संस्थापन पक्षको पनि सहयोग प्राप्त भएपछि दोस्रो चरणको निर्वाचन गर्नु परेन ।

नेविसंघको साविक बाघमारे गाविसको सचिव भएर संगठन बिस्तार गर्दै आएका डाँगीको सांगठनिक कुशलताका कारण पनि नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन् । २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियू सभापति भएका डाँगी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् । २०५९ सालमा नेविसंघको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उनी सफल भए । पार्टीको बाह्रौँ अधिवेशनमा जिल्ला सदस्य भएका डाँगी सोही कार्यकालमै सचिवमा मनोनीत भएका हुन् । तेह्रौ अधिवेशनमा सचिवमा निर्वाचित भएका हुन् ।

त्यसैगरी जिल्ला उपभापतिमा गिरिराज सुवेदी र कमानसिंह भारती निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित सुवेदीले ९ सय ५ र कमानसिंह भारतीले ८ सय ६१ मत ल्याएर बिजयी भएका हुन् । उपसभापतिमा पराजित बुद्धिप्रकाश चौधरीले ८ सय ३६, प्रदिपकुमार खड्काले ३ सय ४८, मिनकेतन चौधरीले ६ सय ९२, एकराज आचार्यले २ सय ९ र यज्ञबहादुर वलीले १ सय २५ मत ल्याएका थिए । नेपाली कांग्रेस दाङको सचिवमा अर्जुन योगी र बालिका लम्साल बिजयी भएका छन् । योगी नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश अध्यक्ष हुन् भने दाङ कांग्रेसले इतिहासमै पहिलोपटक महिला सचिब पदमा लम्साल (नेपाल) निर्वाचित भएकी हुन् ।

योगीले १ हजार १ सय ५६ मत ल्याएर विजयी भएका छन् भने बालिकाले १ हजार ५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । सचिब पदमा चार जनाको बीचमा प्रतिस्पर्धा भएको थियो । तर, लम्साल मात्रै एक्ली महिला प्रतिस्पर्धी थिइन् । अर्जुनकुमार योगीले सबैभन्दा बढी १ हजार १ सय ५६ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । सचिब पदमा उनीहरुका प्रतिस्पर्धीहरु कृष्णप्रसाद सुबेदीले ९ सय ३४ र सूर्यप्रकाश रानाले ९ सय ५ मत प्राप्त गरेका थिए ।

यस्तै सहसचिवमा राजु आचार्य १ हजार ५४ र सुबोध कुमार डाँगी १ हजार ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । आचार्य तुलसीपुर–२ का वडाध्यक्ष हुन् । लामो समय नेविसंघको राजनीतिमा क्रियाशील आचार्य जिल्लाभरी पपुलर कांग्रेस नेता हुन् भने एन प्याव्सनको केन्द्रीय सदस्य समेत भइसकेका शिक्षा क्षेत्रका अगुवा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*