Home / Feature Breaking news / ‘अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न समस्या’

‘अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न समस्या’

दाङ,२८ बैशाख । दाङमा कोरोना संक्रमणको दर बढिरहदा संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको अभाव देखिएको छ । अक्सिजनको अभावका कारण विरामीको उपचारमा समस्या भएको अस्पतालहरुले बताएका छन् ।

अक्सिजनको अभावका कारण कोरोना संक्रमितको मृत्युदर समेत बढ्दै गएको छ । जिल्लामा उत्पादन हुने अक्सिजन प्रयाप्त नभएको र बाहिरी जिल्लाहरुबाट अक्सिजन आउन नसक्दा दाङमा कोरोना संक्रमितको उपचारमा समस्या भएको हो । अक्सिजन अभावका कारण कोरोना विशेष अस्पताल बेलझुण्डीमा नयाँ संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै अहिले अस्पतालमा ६३ जना विरामीहरुको उपचार भैरहेको र बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको चरम अभावका कारण विरामी भर्ना गरी उपचार गर्न कठिन अवस्था भएकाले थप विरामीलाई भर्ना गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

साथै उनले कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन अभावले विरामीको ज्यान जान सक्ने खतरा रहेकाले अक्सिजन आपूर्तिका लागि सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् ।

व्यवस्थापक वलीले मंगलवार साँझ फेसवुकमा लेखेका छन्–‘कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा अहिले ६३ जना कोरोना संक्रमित बिरामीहरु उपचाररत हुनुहुन्छ । अहिले अक्सिजनको चरम अभावले थप बिरामी भर्ना गर्न नसकिने कुरा जानकारी साथै अनुरोध गर्दछु । अक्सिजन आवश्यक पर्ने बिरामी भर्ना गरी उपचार गर्न अत्यधिक कठिनाई र बिषम परिस्थिति सिर्जना भइ विरामी ज्यान जोखिममा भइरहेको छ । त्यसैले पर्याप्त र सहज अक्सिजन उपलब्धताको लागि सहयोग गरिदिनुहुन दाङका मन्त्री, पूर्वमन्त्री, माननीय, पार्टीका नेता, समाजसेवी बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारलाई हार्दिक अनुरोध गर्दछु ।’

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार मंगलवार दाङमा कोरोना संक्रमणबाट १७ जनाले ज्यान गुमाएका छन् । जसमा आठ जना कोरोना विशेष अस्पताल बेलभुण्डीमा मृत्यु भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*