Home / Feature Breaking news / घोराहीमा सवारी चाप घटाउन कुइरेपानी–सर्रा बाईपास सडक

घोराहीमा सवारी चाप घटाउन कुइरेपानी–सर्रा बाईपास सडक

लिलाधर वली
दाङ,२० साउन । घोराही बजारमा सवारी चाप कम गर्न कुइरेपानी–सर्रा बाईपास सडक सञ्चालनमा ल्याइने भएको छ । सडक सञ्चालनमा ल्याउनका लागि गतबर्ष घोराही उपमहानगरपालिकाले ९३ लाख रुपैयाको लागतमा सडक चौडा बनाउने काम गरेको छ । जसअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.३को कुइरेपानी बबई नदिदेखि वडा नं. १६को सर्रा चोकसम्मको ८ किलोमिटर सडकलाई १८ चौडाई गरिएको छ । सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउनेदेखि ह्याम्पाईपहरु राख्ने काम गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

वडा नं. ३, १७ हुदै १६लाई जोड्ने गरि पहिले साघुरो सडकका रुपमा रहेको उक्त सडकलाई घोराही बजार भएर जाने गाडीहरुको लागि विकल्पको सडकका रुपमा बिकास गर्ने गरि १८ मिटर चौडाई गरिएको घोराही उपमहानगरपालिका इन्जिनियर रामधन श्रेष्ठले बताए । साघुरो सडक र सावरीचापका कारण हुन सक्ने सवारी दुर्घटनालाई कमि गर्न घोराही उपमहानगरपालिकाले बैकल्पीक मार्गका रुपमा उक्त सडकलाई विकास गर्न लागेको हो । जसअन्तर्गत सडकको नयाँ ट्रयाक बनाउने काम सकिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

‘कुइरेपानी–सर्रा ८ किलोमिटर सडकलाई चौडाई गर्ने काम सकिएको छ’,इन्जिनियर श्रेष्ठले भने,‘यसबर्ष प्रदेश सरकारवाट बजेट परेकाले नाला निर्माणसँगै पिचको काम हुनेछ ।’ श्रेष्ठका अनुसार प्रदेश सरकारले यसबर्ष उक्त सडकको लागि दश करोड रुपैया बजेट बिनियोजन गरेको छ । धेरै अवरोधका विच सडक विस्तार गर्ने काम गरिएको इन्जिनियर श्रेष्ठ बताउछन ।

सडक पिचसँगै तुलसीपुर, सल्यान, रुकुमलगायतका विभिन्न स्थानहरुमा चल्ने ठुला तथा मालबाहक गाडीहरु कुइरेपानीवाट सिधै सर्रा जाने र गाडीहरु फर्कदा पनि उक्त सडक भएरै फर्कने घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी बताउछन । उक्त सडकले घोराही बजारको मेनरोड तथा चोकमा हुने सवारी चापलाई कमी गर्ने नगरप्रमुख चौधरीको भनाई छ ।

‘कुरेपानी–सर्रा बाईपास सडकको धेरै पहिलेदेखि कुरा चलेको थियो तर सडक विस्तार गर्ने काम हुन सकेको थिएन’, प्रमुख चौधरीले भने,‘ गतबर्ष उपमहानगरपालिकाले आफनै लगानीमा सडक विस्तार गर्ने काम गरेको छ ।’

यसआर्थिक बर्ष प्रदेश सरकारले उक्त सडकमा बजेट बिनियोजन गरेकाले सडक कालोपत्रे छिट्टै हुनेछ । उक्त सडकलाई दुई लेन सडकका रुपमा निर्माण गरिने र विचमा विरुवा रोप्नकालागि क्यारी समेत निर्माण गरिने भएको छ । सडक निर्माणसँगै घोराही बजार भएर आउने सवारीसाधनमा कमि आउनका साथै त्यस क्षेत्रमा स्थानीयवासीहरुलाई समेत सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*