घोराही, १७ माघ
सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराहीमा ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ मा सुरु भएको छ । सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ आयोजकन गरिएको महायज्ञको बाक्लो भक्तजनहरुको उपस्थितिमा उद्घाटन गरिएको हो ।
महायज्ञको लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ति मगरले गर्नुभएको थियो । महायज्ञको दीप प्रज्वलन र सेवा घरमा रहेकी ४ महिनाकी बालिकाको अन्नप्रासन गरेर उद्घाटन गरिएको थियो ।
घोराही उपमहानगरपालिका वडा न. १० मा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा रहेका बेवारिसे मानवहरुको सहयोगार्थ आयोजना गरिएको महायज्ञको उद्घाटन पूर्व शोभा कलश यात्रा गरिएको थियो ।
महायज्ञ स्थलबाट सुरु भएको शोभा कलाश यात्रा जिल्ला अदालत, परिवार नियोजन हुदै भानु चोक, दामोदर चोक, बैंक रोड, निमा हल रोड, ट्रापिक चोक, विपी चोक, सहिद गेट हुदै महायज्ञ स्थलमा पुगेको थियो । शोभाकलश यात्रालाई विभिन्न टोल विकास सस्ंथा तथा व्यवसायीहरुले कलश राखेर एवं फूल मालाले स्वागत गरेका थिए । शोभायात्रामा ५ हजार बढिको सहभागिता रहेको थियो ।
महायज्ञको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ति मगरले मानव कल्याण समाजले बेवारिसे एवं मानसिक समस्या भएका मानिसहरुलाई सेवा घरमा राखेर सेवा दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । सेवा घर नारायणपुरका अवलोकन गरेको बताउदै उहाँले सरकारले गर्नुपर्ने काम एक सामाजिक संस्थाले गरिरहेकोमा यस अभियानलाई सरकारले पनि साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । तीन तहकै सरकारले यो विषयलाई गम्भीर रुपमा लिएर अगाडी बढ्न अनुरोध गर्नुभयो ।
स्थानीय सरकार आँफैमा स्वायत्त भएकाले पनि सामाजिक विषयलाई ध्यान दिएर काम गर्न आवश्यक रहेको उहाँको भनाई थियो । ‘सडक बनाउने काम गर्दै गरौला पहिले मानव बनाऔँ, जुन काम सरकारले अपनत्व लिएर गर्नुपर्छ’ उहाँले भन्नुभयो– ‘आँफू सरकारमा भएको बेलामा हो काम गर्ने, मानव बनाउने काम गर्नु तपाईहरुका लागि पनि अवसर हो । अवसरको रुपमा लिएर काम गर्नुस् ।’ साथै उहाँले सबैमा तन, मन, वचन र कर्मले महायज्ञलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।
उर्जा जलस्रोत तथा सिचाई मन्त्री सीता चौधरीले वर्तमान समयमा मानव सेवामा सतर्पीत समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सबैले सेवा भावले काम गर्नुपर्ने बताउनुभयो । मन्त्रालयको तर्फबाट र व्यक्तीगत तर्फबाट महायज्ञ एवं मानव सेवा घरलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वच्छ मनले मानव सेवामा समर्पीत मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस अभियानमा सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सडक मानव मुक्त समाज बनाउनकालागि घोराही उपमहानगरपालिकाले मानव कल्याण समाजसँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । उहाँले हरेक बर्ष बजेट बिनियोजन गरेर सेवा घरलाई सहयोग गरेको बताउदै सेवा घरलाई अप्ठेरो परिस्थिति आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेले परोपकारी मनका साथ सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य जिवन गौतमले धर्मको नाममा व्यापार भयो भन्ने जनगुनासो आईरहेको समयमा यस महायज्ञले धर्मसँगै सामाजिक काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
नेकपा माओवादी कैन्द्रका अध्यक्ष निर्मल आचार्यले राज्य गर्नुपर्ने काम गरेर मानव कल्याण समाजले गौरवको काम गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य विपुल पोख्रेलले मानव कल्याण समाजको मानव जोगाउने अभियानमा साथ सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो । राज्यले गर्नुपर्ने काम सामाजिक संस्थाले गरिरहेको बताउदै उहाँले विसंगति रहित समाज निर्माण गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सविन प्रीयासनले मानव बचाउने अभियानलाई सम्पूर्ण सञ्चारकर्मीहरुको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले संविधानमा मानव अधिकारको विषय समेटिएपनि सरकारले कार्यान्वयन गर्न नसक्दा बेवारिसे मानवहरुको व्यवस्थापनका लागि मानव कल्याण समाजले काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
महायज्ञ आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सह संयोजक नारायण भुषालले स्वागत गर्नुभएको कार्यक्रममा अर्को सह संयोजक बिमला योगीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण आर.के.शीतल र बिजय पोख्रेलले गर्नुभएको थियो ।