Home / Feature Breaking news / पार्टीका मानिसहरू सहकारी ठगीमा जेल पर्ने भए भनेर रूवाबासी नगरौ : कांग्रेस महामन्त्री शर्मा
फाईल तस्वीर

पार्टीका मानिसहरू सहकारी ठगीमा जेल पर्ने भए भनेर रूवाबासी नगरौ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका मानिसहरू सहकारी ठगीमा जेल पर्ने भए भनेर रूवाबासी नगर्न आग्रह गरेका छन् ।

महामन्त्री शर्माले अनुसन्धानलाई सहयोग गर्न र अदालतको फैसला कुर्न पनि आग्रह गरेका हुन् ।

‘कांग्रेसका दुईचार, एमालेका दुई चार, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं,’ बुधबार बिहान सामाजिक सञ्जाल एक्समा शर्माले पोस्ट गरेका छन्, ‘अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं ।’

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परी हिरासतमा छन्। सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरिराखेको छ। त्यसतर्फ लक्षित गर्दै महामन्त्री शर्माले सडक विलापको जगहँसाइ नगर्न पनि आग्रह गरेका छन् ।

‘स्पष्ट हौं, दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता हो,’ महामन्त्री शर्माको भनाइ छ ।

सहकारी बचत रकम अपलचनका विषयमा नेकपा (एमाले) का सांसद सूर्य थापा सभापति रहेको संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदनले प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको पनि स्मरण गराएका छन् ।

‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ- प्रचलित कानुनबमोजिम कारबाही गर्नू। तर प्रक्रिया सुरू भएपछि `राजनैतिक प्रतिशोध´ भन्नु संसदीय समिति र संसदकै अपमान होइन र ?,’ शर्माको प्रश्न छ, ‘प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति, कि विधि उपर समेतको ठगी ?’

उनले एक मित्रका अभिव्यक्ति सम्झिएको भन्दै उल्लेख गरेका छन्, ‘अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन।´ उनले लोभ र डरले  विवेक ध्वस्त बनाउने पनि उल्लेख  गरेका छन् ।

‘निश्चयनै `लोभ र डर´ले जब कसैको इमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ l मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ,’ शर्माले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*