Home / Feature Breaking news / विछोडको क्षण

विछोडको क्षण

यम रेग्मी

रक्षाले एस.एल.सी. पास गरेको अर्को दिन हो । (हालको एस.ई.ई.) खुशियाली थियो, घरमा । घरमा मात्र कहाँ हो र ! पुरै सुनपुर गाउँ अचम्भित थियो । गाउँबाट छोरीहरूमा एस.एल.सी. फलामे ढोका खोल्नेमा रक्षा पहिली थिई । गाउँका बूढाबूढी जब खबर सुन्थे । अचम्म मान्दै जिब्रो टोक्थे । खुब चर्चाको विषय बन्यो । त्यस समय रक्षाको एस.एल.सी. पास विषय । रक्षामा पनि खुशीको सीमा थिएन ।

मानव आफूबाट भन्दा धेरै अरुबाट सञ्चालित हुँदोरहेछ । अरुले खुशी बनायो खुशी हुन्छ मान्छे । अरुले दुःखी बनायो दुःखी हुन्छ मान्छे । रक्षा आफै त खुशी थिई नै । समाजको प्रशंसा र बधाईले झनै खुशी बनायो । रक्षाको घरदेखि तल्लो घर थियो, श्यामको । विहानको समय थियो । श्याम कुवाँबाट पानी झिक्दै थिए । सीता बाहिर बसेर तरकारी केलाइरहेकी थिइन् । उनी रक्षाको घरतिर हेर्दै बोले–‘काकी, हजुरको छोरा प्रदीपको दश बजे फोन आउँछ रे ! गोग्लीको पिसिओमा । खड्का बाजेले भन्थे, हिजो ।

दश बजे गोग्ली जानुहोला ।’ सीता दश नबज्दै गोग्ली पुगिन् । निर्धारित समयमै फोन आयो फोन । उताबाट प्रदीप बोल्यो
– हेलो ! आमा आरामै हुनुहुन्छ ?’
– आरामै छौँ बाबु । तिमरु दुई भाइ नि !
– ठीक छ आमा ।

– रक्षाको रिजल्ट के भयो नि ?
– प्रथम श्रेणीमा पास भई बाबु ?
– ए ! हो । ल ठिक छ । उसलाई पनि काठमाडौं पठाइदिनोस् यतै ।

– यसलाई घोराहीमा पढाउने सोच बनाएका छौँ ए बाबु । घरको हेरविचार पनि हुन्छ
– त्यसरी हुन्न आमा । केन्द्र भनेको केन्द्र हो । धेरै अबसरहरू हुन्छन् । बाठी हुन्छे । हामी छौँ, उसको

रेखदेख गर्ने । हामीलाई खाना बनाउन पनि सजिलो हुन्छ ।
– हुन्छ म साँझ सल्लाह गर्छु तेरो बाबासँग ।
– हओस् आमा !

साँझ दुई जनाले छलफल गरे रक्षाको पढाइको बारेमा । कृष्णलाई छोराको कुरा ठिक लाग्यो । काठमाडौं पठाउने नै निर्णय भयो, दुवै जनाको । विहान कृष्ण सोफामा बसेर चिया पिइरहेका थिए । सात बजेको समाचार भनिरहेको थियो टिभीले । रक्षा कोठा सफा गर्दै थिई । कृष्ण बजिरहेको टिभीको आवाजलाई बन्द गर्दै बोले– ‘छोरी यता आऊ त बा !’ रक्षा बाबाको नजिकै सोफामा गएर बसी र बोली–‘किन बाबा ?

कृष्ण रक्षाको लामो कपालको चुल्ठो समाउदै बोले– ‘मेरी छोरी हेर्दाहेर्दै ठूली भइसकी । एसएलसी पनि राम्रो नम्बर ल्याएर पास भई । बाबाको र स्कूलको नाम पनि राखी । स्याबास ! छोरी ।’ रक्षा केही बोलिन । मुसुक्क मुस्कुराई शरदको फूलझैँ । बाबाको प्रशंसाले मन चङ्गा बन्यो । कृष्ण छोरीका हातका औँला आफ्नो हातमा लिँदै बोले, –‘तिम्रा यी कलिला हातले कुचो र पोतो छोप्ने मात्र होइन छोरी । कलम छोप्नुपर्छ ।

आँखाले जुठो थाल होइन । रङ्गिन सपना देख्नुपर्छ । मनमा वेदना होइन । उमङ्ग भर्नु पर्छ । हिजो तिम्रो दादाले फोन गरेको रहेछ काठमाडौंबाट । एक हप्ताभित्रै बोला‘छ दादाले । अब उतै पढ्ने है त !’ रक्षा अचम्भित भई बाबाको कुराले । बालुवाका पानी सोचेझैँ अनुहारबाट खुशी हराउँदै गयो । पहिलो झल्यास्स गोपालको अनुहार सम्झिई ।

मन तीतो भयो– ऐरेलुझैँ । उसले यहीँको कलेजको कल्पना गरेकी थिई । यहीँका साथीहरूका सपना देखेकी थिई । तर पनि बाबासँग केही बोलिन । जुरुक्क उठी र भान्सामा छिरी । सीता भान्सामा तरकारी केलाउँदै थिइन् । आमाको छेउमा गई र रुञ्चे स्वरमा बोली– ‘आमा म त काठमाडौं–साठमाडौं जान्न पढ्न ।’

– किन ? सीता अनौठो नजरले हेर्दै बोलिन् । – त्यसै । जान्न भनेपछि जान्न जान्न । यहीँ पढ्छु । सबै साथी यहीँ छन् । यहीँ पढे हुँदैन ?

– कस्ती लाटी होस् तँ हँ ? अरु काठमाडौं पढ्न जानलाई कति उत्साहित हुन्छन् ? तँ भने उल्टो जान्न भन्छेस् ? साथी जाँ गयो हुइँ बन्छन् । साथी खोजेर हुन्छ ? अब त भविष्य खोज्ने हो छोरी । रक्षा केही

बोलिन । उसलाई आमाको कुरामा केही सत्यता छ जस्तो लाग्यो । तर पनि मनले मानेन । जुरुक्क उठी । कोठामा गई । घोप्टो परी । रुन थाली । सीता छोरीको पछिपछि आइन् । ढोकामै उभिएर बोलिन–‘के केटी हो कुन्नि यो ? काठमाडांै जाने भन्दा त रुन्छे पो । ‘सीता एक्लै गनगन गरिरहिन । रक्षा सुन्या–नसुन्या जस्तै गरिरहिन् ।

ऊ काठमाडौं जाने नै भई । कहिले घर नछाडेकी ऊ । आजसम्म कुइरेपानी नकाटेकी ऊ । काठमाडौंको दूरी मनले नाप्न सकिरहेको थिएन । घर, छिमेकी, इष्टमित्र, साथीहरूलाई मनले छोड्न मानिरहेको थिएन । रक्षा काठमाडौं जानुभन्दा अघिको रातको कुरा हो । साँझको खान सबैले सँगै खाए । सधैँ विहान धुन्थे जुठा भाँडा ।

छोरीको जुठा भाँडाले साइत बिग्रन्छ भनेर साँझै माझे । एउटा कुर्सीमा कृष्ण बसेका थिए । अर्कोमा सीता बसेकी थिइन् । गोपाल पेटीमा टुसुक्क बसेको थियो । रक्षासँग छुट्टिनु पर्दा सबैका मुख जरो काटिएको बोडीको झालझैँ ओइलाएका थिए । रक्षा देखापरि । आमाको नजिक आई । पेटीमा थचक्क बसी । सीता छोरीतिर हेर्दै बोलिन– ‘झोलामा लुगा ठिक पारिस् नानी !’ रक्षा टाउको हल्लाई मात्र । नबोलेरै राखेको जवाफ दिई ।

– अचारका डिब्बा नि ? टाउको हल्लाई राखेको संकेत गरी । घ्यूको ठेकी थियो नि भान्सामा राखिस् ? रक्षा पहिलेकै गतिमा टाउको हल्लाई ।

– तेलको जर्किन नि ? फेरि टाउको हल्लाई । छोरीको कपालको चुल्ठो सुस्तरी समाएर टाउको ठाडो पार्दै सीता सुस्तरी बोलिन्–‘ ए लाटी किन बोल्दैनस् ? टाउको मात्र किन हल्लाउँछेस् ? बोल न केही ! भोलि बिहानै तँ काठमाडौं हिडिहाल्छेस् । भोलिबाट त तेरो बोली सुन्न पनि पैसा लाग्छ ।’ बोल्दाबोल्दै सीताका अनायसै आँखा रसाए । रक्षा सँुक्क–सुँक्क गर्दै जुरुक्क उठी । सुत्ने कोठामा सबै आ–आफ्ना कोठामा गए ।

रातभरि मस्तले कोही सुत्न सकेनन् । रक्षा रातभरि छट्पटाइरही । गोपालसँगका विगतका स्मृतिहरू, साथीसँग व्यतीत गरेका पलहरू आँखाभरि नाचिरहे । छुट्टिनु पर्दा अमीलो भयो मन । गोपाल पनि रातभरि सुत्न सकेन । कालो रातसँगै रोइरह्यो, उसको मन पनि । मानिसको सबैभन्दा संवेदनशील अङ्ग भनेकै मन रहेछ । मन खुशी भयो, जगत खुशी । मन शान्त भयो, संसार शान्त । मन दुःखी भयो, संसार दुःखी ।

मनले जित्छ मान्छे बाज्जी । मनले मर्छ मान्छे आफूदेखि । आँखा नभएर मनले देख्दोरहेछ मानिस संसार । पलाँसे थारूगाउँमा कुकुरी काँ गर्दै भाले बासेको आवाज आयो । आवाजसँगै बाहिरबाट ढोका ढ्वाक ! ढ्वाक !! पारेको आवाज आयो । घो¥याक्क भित्रबाट ढोका खोली रक्षा । आमा रहिछन् । सीता धोतीको सप्कोले आँखा पुछ्दै बोलिन्– ‘साढे छ बजेको बस हो नानी ! सात बजे गोग्ली आइपुग्छ । छ बज्न लागिसक्यो । चाँडै फ्रेस हो । म चिया नास्ता बनाउँछु । बाटोमा खाना खान पाइने हो वा होइन । जति मीठो हुन्छ, खाएरै जाऊ ।’

रक्षा केही बोलिन । सीता बोल्दै भान्सातिर लागिन् । रक्षा केही बेरमै तयार भई । सीता केही बेरमै खाना तयार पारिन् । खाना खान जिज्दी गरिन छोरीलाई । उसले खाइन । एक गिलास चिया मात्र पिई । घरबाट हिड्ने समय भयो । गोपाल काँधमा बोरा बोक्यो । रक्षा हातमा सानो ब्याग बोकी । सरासर लागे गोग्लीतिर । पच्चीस मिनेटको दूरी छ सुनपुरदेखि गोग्लीसम्मको । सधैँ हिड्न गाह्रो हुन्थ्यो, उनलाई त्यो बाटो ।

सधै एक्लै हिड्दा पछाडि फर्की–फर्की हेर्थी । साइकल र बाइकको लिफ्ट खोज्ने बाटो । एक्लै हिड्दा साथी खोज्ने बाटो । तर आज रक्षालाई दश सेकेण्ड जति पनि लागेन गोग्ली पुग्न । उसका गोडा दुखेनन् । शारीरले थकानको महशुस गरेन । मानसिक थकाईको अगाडि शारीरिक थकाई केही रहेनछ भन्ने उसलाई लाग्यो ।

केही समयमै बस आइपुग्यो । खलासी बसबाट झ¥यो । बोल्यो– ‘लौ काठमाडौं ओ काठमाण्डौं’ केही मान्छे पेलापेल गर्दै बसका चढे । खलासी रक्षातिर हे¥यो बोल्यो– ‘ओ बैनी ! कहाँ हो तपाईं ? काठमाडौं हो ?’ रक्षा जाँगर नलाई नलाई टाउको हल्लाई । सासैबाट बोली

–‘हो ।

– टिकेट छ ?

– छ । रक्षा फेरि टाउको हल्लाई ।

– खोइ टिकेट दिनु तो ? खलासी हात थाप्यो ।

रक्षा ब्याग खोली । ब्यागबाट टिकेट झिकी र उसको हातमा राखिदिई । खलासी टिकेट हे¥यो । रक्षालाई बोलाउँदै बसमा बसेको मान्छेलाई भन्यो–‘दाजी ! ओ दाजी ! तपाईं पछाडि जानुहोस् त । त्यो सिट ह्याँ बैनीको हो ?’

रक्षा गोपालतिर पुलुक्क हेर्छे ? आँखामा राखेका गोलजस्ता राताराता आँखाबाट तरर आँसु झर्छन् । दायाँ हातले ढोकाको बारा पकड्छे । बायाँ हातले अनुहारभरिका आँसु पुछ्दै बसमा उक्लँदै पहिलो पटक बोल्छे

– ‘ल बसे है म गएँ’

– ‘गोपाल पनि आँसुले नै बिदा गर्छ ।

‘लौ आनुहोस् । काठमडौं ! ए काठमडौं’ खलासीको आवाजसँग बस अगाडि बढ्छ । एकछिनमै आँखाबाट हराउँछ, बस । गोपाल थचक्क बस्छ रोडको छेउमा । एउटा हातले आँखा छोप्छ । अर्को हातले मन । धेरै बेर छाम्दा पनि भेटाउँदैन आफ्नो मन । रित्व लाग्छ छाती । शून्य लाग्छ संसार । बसलाई हातले बोलाउँदै भन्छ– ‘ए बस ! पख ए पख ।

मेरो मन गएछ तँ सँगै । एकैछिन् पख न ! म मेरो मनलाई जसरी भए पनि लिन आउँदै छु । म मनबिना बाच्नै सक्दैन । ‘उसको आवाज कसैले सुन्दैन । बस आफ्नै गतिमा गयो अगाडि । जसरी मुस्कोटको डाँडाबाट बस ओरालो लाग्यो । त्यसरी नै रक्षाका आँखाबाट आँसु ओरालो लाग्यो । विछोड, सम्झना र वेदनाका नूनिला आँसु बसको गतिसँगै खसिरहे ।
क्रमशः …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*