Home / Feature Breaking news / गहुँको लागि ‘मल’ छैन

गहुँको लागि ‘मल’ छैन

तुलसीपुर, २२ कार्तिक । जिल्लामा रासायनिक मललको अभाव भएको छ । गहुँ खेती शुरु हुन लाग्दा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले हाल आफूहरुसँग एक बोरा पनि मल नभएको जनाएको छ ।

साल्ट ट्रेनिङले भने जिल्लामा मल केही मात्रामा उपलव्ध गराएको बताएको छ । धान खेतीमा मलको अभाव व्यहोरेका किसानहरुले गहुँका लागि पनि मलको अभाव खेप्नुपरेको कृषकहरु बताउँछन् । धान भित्र्याएर गहुँ खेती गर्न लागेका किसान मित्रलाल खड्काले मल नपाएको गुनासो गरे । उनले सहकारीमा मल नआएको र गहुँ लगाउने बेला मल नपाएको गुसानो गरे ।

उनीजस्तै अन्य किसानहरुले पनि अनुदानको मल नआएको जानकारी पाएको बताए । ‘कृषि सामग्री कम्पनीमा मल आएको छैन, केही दिनमा आउँछ भन्ने जानकारी पाएका छौं’, कृषक सुन्दरलाल चौधरीले भने । उनले मल लिन आएको रित्तो हात फर्कनुपरेको बताए । जिल्लामा कबिव एक हजार टन डिएपी मल आवश्यक पर्छ ।

गोदाममा डिएपी–युरिया मल एक बोरा पनि मौज्दात नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले बताए । न्यौपानेले २–४ दिनभित्र डिएपी मल आउने बताए । तर युरिया मल भने कहिले आउँछ कुनै ठेगान नभएको बताए । ‘डिएपी मल केही दिनमा आउँछ, युरियामल भने आउने कुनै निश्चित छैन, हाल किसानलाई रित्तो हात फर्काउनुपरेको छ’, न्यौपानेले भने– ‘दैनिक किसान डिएपी मलका लागि आउनुहुन्छ, हामीसँग एक बोरा पनि छैन ।’

जिल्लाका घोराही, लमही, तुलसीपुरका किसान अनुदानको मल नपाएर महंगो मूल्यमा निजी पसलबाट मल किन्न बाध्य भएका किसानहरु बताउँछन् । ‘भोलि रोपाइँ हो, डिएपी मल लिन आएकी थिए, कृषि सामग्री केन्द्रमा मल नपाउँदा बजारबाट किने, एकजना किसाले भने । केही सहकारीहरुले भने साल्ट ट्रेनिङबाट मल ल्याएर किसानहरुलाई उपलव्ध गराउँदै आएका छन् ।

धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटीरुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्र प्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझदारी पत्रमा हस्ताक्षर हुन सकेको छैन् ।

मौखिक सहमति भएको दुई महिना बितिसक्दा समेत प्रक्रिया नटुंगिँदा गहुँमा हाल्न मल अभाव हुने सम्भावना देखिएको छ । गहुँ लगाउने समयका लागि रासायनिक मल ल्याउने तयारी भए पनि अझै समय लाग्ने देखिएको छ । अब केही दिनमा दुई देशका कम्पनीबीच मल खरिद सम्झौतामा हस्ताक्षरको तयारी भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

हस्ताक्षर भएपछि खरिदका लागि मन्त्रिपरिषद् बैठकको अनुमतिसँगै प्रक्रिया शुरु हुनेछ । कार्तिक महिनामा मल खरिदको सम्झौतामा हस्ताक्षर गरेर मंसिर पहिलो सातादेखि ढुवानी हुने विश्वास गरिएको छ ।

अनुदानमा बीउ वितरण

घोराही उपमहानगरपालिकाले सहकारीमार्फत तोरी, मसुरो र गहुँको बीउ उत्पादन गर्न थालेको छ । उपमहानगरको कृषि विकास शाखाले ६० प्रतिशत अनुदानमा सहकारीहरुलाई तोरी, मसुरो र गहुँको मूल बीउ उपलब्ध गराएको हो ।

नगदे बालीको मूल बीउ नै पाउन छोडेपछि सहकारीमार्फत बीउ उत्पादन तथा संरक्षण थालिएको शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । उनका अनुसार ६ सय किलो गहुँ, २ सय किलो तोरी र १ सय किलो मसुरोको मूल बीउ सहकारीहरुको मागअनुसार ६० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

यसैगरी, घोराही उपमहानगरपालिकाले किसानहरुका लागि १ हजार ५ सय ३० किलो गहुँको उन्नत बीउ, १ सय १ किलो प्याजको बीउ र ५ सय ग्राम आलुको बीउ पनि ६० प्रतिशत अनुदानमा नै वितरण गरिएको शाखा प्रमुख खनालले बताए ।

उक्त उन्नत जातको गहुँको बीउ घोराही उपमहानगरले नगरभित्रकै जैविक विविधता सहकारी संस्था रामपुर, बागेश्वरी कृषि सहकारी संस्था ढिकपुर, दिगो कृषि सहकारी संस्था ढिकपुर र नेपाल एग्रोसिट एन इन्पुट कम्पनी ठट्यौलीबाट खरिद गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*