चाडबाडको मुखमा व्यापारीले ‘दाउ हेरेर’ भाउ बढाउन थालेका छन् । जसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् ।
पछिल्लो एक महिनामा खानेतेलदेखि चामलसम्मको भाउ उच्च दरमा बढेको छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष पवित्र बज्राचार्यका अनुसार चिनीदेखि तेलसम्मको भाउ बढेको छ । यसले चाडबाडको मुखमा उपभोक्तालाई असर गर्ने उनले बताए ।
संघले हरेक १५/१५ दिनमा खाद्यान्न भाउ अद्यावधिक गर्दै आएको छ । जसअनुसार अहिले काँचो तोरी तेल लिटरको २ सय ४० रुपैयाँसम्म पुगेको छ । यसअघि १ सय १५ सम्म झरेको थियो ।
त्यस्तै भटमासको तेल १ सय २५ बाट बढेर लिटरको २ सय २० रुपैयाँसम्म पुगेको खुद्रा व्यापार संघको मूल्य विवरणमा छ ।
सनफ्लावर तेल १ सय २५ बाट बढेर लिटरको २ सय ४० रुपैयाँ पुगेको छ । डाल्डा घिउ र नेपाली घिउको मूल्यसमेत भारी दरमा बढेको छ ।
चाडबाडको मुखमा थोक (होलसेल) व्यापारीले मूल्य बढाउँदा बजारमा हरेकजसो खाद्यवस्तुको मूल्य बढ्ने क्रममा रहेको अध्यक्ष बज्राचार्य बताउँछन् ।
तेलमात्र होइन, दालको मूल्यमा समेत पछिल्लो एक महिनामा भारी फरक देखिएको छ । १ सय ४० रुपैयाँसम्म झरेको राजमा किलोको २ सयसम्म पुगेको छ । ९० रुपैयाँमा आएको बोडी १ सय ६० सम्म पुर्याइएको छ ।
त्यस्तै सेतो केराउ ६० बाट १ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । मुसुरोको दाल किलोको १ सयबाट बढेर १ सय ५० सम्म पुगेको छ । दालका हरेकजसो वस्तुको भाउ बढेको संघले जनाएको छ ।
भारतले अघिल्लो साता वनस्पति तेलको भन्सार बढाएको थियो । भारतले कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको थियो । भारतले भन्सार मूल्य बढाए पनि नेपालबाट भारत निर्यात हुने तेलले भने सहज प्रवेश पाउँछ ।
नेपालभन्दा भारतमा राम्रो मूल्य पाउने लोभले ठूला व्यापारीले तेल बजार पठाउन कम गरिरहेको एक अधिकारकर्मी बताउँछन् । ‘चाडबाडकै मुखमा भारतले भन्सार बढायो,’ उनले भने, ‘यसको फाइदा उठाउने धुनमा व्यापारी छन् ।’
RaptiSandesh RaptiSandesh