Home / समाचार / पार्टीमा अनुशासन कायम गराउँछुः सभापति देउवा
Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

पार्टीमा अनुशासन कायम गराउँछुः सभापति देउवा

कञ्चनपुर,३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन कायम गराएरै छाड्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले मंगलबार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले अन्तरघातीलाई कारबाही गरेर पार्टीमा अनुशासन कायम गरिने बताएका हुन् ।

‘‘पार्टीभित्रका अन्तरघातीलाई कारबाही गर्छौँ । अनुशासन समितिले कारबाहीको प्रकृया सुरु गरिसकेको छ,’’ उनले भने, ‘‘पार्टीमा अनुशासन कायम गरेरै छोड्छु ।’’ कम्युनिष्ट पार्टीमा पनि गुट–उपगुट रहे पनि उनीहरु कांग्रेसले जस्तो चुनावमा आफ्नै उमेदवारलाई हराउन तर्फ नलाग्ने सभापति देउवाको भनाइ थियो ।

उनले केपी ओली नेतृत्वको सरकारले गएको एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको टिप्पणी दोहोर्याए । सभापति देउवाले हत्या, हिंसा, बलात्कारका घटना न्यूनीकरणमा पनि सरकार असफल सावित भइसकेको दाबी गरे । ‘‘निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’’ उनले भने, ‘‘यो सरकार बलात्कारी र हत्यारा जोगाइरहेको छ ।’’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले देशभर बढ्दै गएका आपराधिक क्रियाकलापप्रति चिन्ता व्यक्त गरे । उनले सरकारले सुदूरपश्चिम विश्वविद्यालय लगायतका प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढाउँदै गएको भन्दै आक्रोश व्यक्त गरे । सरकार शिक्षा क्षेत्रलाई धरासायी बनाउन उद्धत रहेको आरोप आरोप पनि लगाए ।

सभापति देउवाले स्थानीय सरकारले जनतालाई अत्यधिक करको भार थुपारेर अनावश्यक दुःख दिएको टिप्पणी गरे । उनले वार्ताका माध्यमबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन सरकारको ध्यानाकर्षण गराए । सभापति देउवाले छायाँ सरकार गठन नभएर कांग्रेसले विषयगत समितिहरु बनाउन खोजेको बताए । ‘‘छायाँ सरकार होइन कि विषयगत समितिहरु बनाउने हो । ती समितिहरु छिटो निर्माण हुन्छन्’’ छायाँ सरकारबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*