Home / Feature Breaking news / गगन थापाको प्रश्न– आरोपित गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् ?
फाईल फोटो

गगन थापाको प्रश्न– आरोपित गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् ?

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ‘ठग’को आरोपित नै गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जवाफ दिनुपर्ने बताए ।

जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शनसहित अरू सहकारीबाट लामिछानेले पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोपबारे स्पष्ट पार्नुपर्ने उनले माग गरे । “पोखरा महानगरपालिकाको प्रतिवेदनले नै भन्छ– कसैको धितो छैन, तर पनि एक अर्ब झ्वाम ! यसरी छोड्ने भए यसरी सबैलाई छोड्नुपर्छ,” उनले भने, “धेरै लगानी गोरखा मिडिया नेटवर्कमा भएको छ । सहकारीमा जसले ठगी गरेको छ, मेरो मित्र रवि लामिछाने गृहमन्त्री हुुनुहुन्छ । भोलि प्रधानमन्त्री पनि बन्नुहोला, शुभकामना । तर, अध्ययन फियर होस् । प्रमाण नस्ट नहोस् । अहिले प्रमाण प्रहरीहरूसँग छ । जो मुछिएको छ, उसले आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ?”

प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा उनले जोड दिए । “यो संसद्, हामीलाई जवाफ चाहिएको छ । प्रधानमन्त्रीको जवाफ चाहिएको छ, रोस्ट्रममा हामीलाई चाहिएको छ,” उनले भने ।

सुन तस्करीकाण्डमा संसदीय समिति बनाउने भनेर तत्कालीन प्रतिपक्षी नेकपा (एमाले)ले राम्रो काम गरेको उनले उल्लेख गरे । एमालेले त्यति बेला लगाएको आरोप शक्तिशाली नेतालाई लुकाउने प्रपञ्चको विषय प्रमाणित भएको उनले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*