Home / Feature Breaking news / नर्स हत्या प्रकरण: आरोपी पनि मृत फेला
शिवशंकर मृत भेटिएको होटल

नर्स हत्या प्रकरण: आरोपी पनि मृत फेला

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या आरोपी युवकले मृत फेला परेका छन्।

आफ्नी पूर्वप्रेमिका चन्द्रिकाले आफू अर्कै युवकसँग प्रेम सम्बन्धमा रहेको बताएपछि उनकै कोठामा हत्या गरेका सिरहाकै २२ वर्षीय शिवशंकर दास मृत फेला परेका हुन्।

आइतबार राति नोबेल मेडिकल कलेज नजिकैको एउटा होटलमा उनी झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।

प्रहरीका अनुसार कुनैबेला शिवशंकर र चन्द्रिका प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको थियो। शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

उनी मलेसिया गएपछि चन्द्रिका अर्कै युवकसँग प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

विदेशमै रहँदा आफ्नी प्रेमिका अर्कै पुरूषसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि शिवशंकर फागुन २७ मा नेपाल आएको र २९ गते सोझै विराटनगर आइपुगेको देखिएको प्रहरीले जनाएको छ।

‘विराटनगर आएर चन्द्रिकालाई उनले भेटे, चन्द्रिकाले पनि नढाँटिकन आफू अर्कैको मायामा रहेको बताएपछि उनको कोठाभित्रै हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गरिरहेका मोरङ प्रहरीका एक अधिकृतले भने ‘कोठामै उपलब्ध साना हतियारले प्रहार गरेर हत्या गरेको देखिन्छ।’

आफ्नी पूर्व प्रेमिकाको हत्या गरेपछि शिवशंकरले उनको शवको फोटो खिचेर साथीहरूलाई ह्वाट्सएपमा पठाएका थिए। लगत्तै उनले आफ्नी दिदीलाई फोन गरेको प्रहरीको भनाइ छ।

‘उनले दिदीलाई फोन गरेर चन्द्रिकाको हत्या गरें  म पनि आत्महत्या गर्छु भनेर दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको  रहेछन्’, ‘खोज्दै जाने क्रममा आइतबार राति होटलमा झुन्डिएको अवस्थामा उनी मृत फेला परे।’

प्रहरीका अनुसार गएको  बिहीबार दिनभर चन्द्रिका दास बस्ने कोठामा बाहिरबाट चाबी लागेको थियो।  शुक्रबार बिहान सोही घरमा बस्ने मृतक दासको साथीको ह्वाट्सएपमा फोटो आएपछि उनीहरूले घरधनीलाई सुनाएका थिए।

शुक्रबार दिउँसो १२ बजे घरबेटीले चाबी खोलेर हेर्दा वीभत्स अवस्थामा शव देखेपछि  प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले चन्द्रिकाका अहिलेका प्रेमी युवकलाई खोजेको थियो। तर, अनुसन्धान गर्दै जाँदा पूर्व प्रेमीले हत्या गरेको खुलेको थियो।

‘युवतीले उनीसँग सम्बन्ध टुटाए पनि शिवशंकर जबरजस्ती आफैंसित सम्बन्धमा रहनुपर्ने बताउँदा रहेछन्’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने ‘यही विवादले हत्या र आत्महत्या निम्त्याएको हो।’

चन्द्रिकाको हत्या भएको उनको डेराभन्दा ३ सय मिटर नजिकै रहेको फाइन होटलको कोठा नम्बर १०२ मा शिवशंकर मृत फेला परेका हुन्।

सिराहाको फुल्काहाकट्टी घर भएकी नर्स चन्द्रिका नोवेल मेडिकलको हाडजोर्नी विभागमा कार्यरत थिइन्। तीन महिनादेखि नयाँ डेरामा बसिरहेकी उनको त्यही डेरामा ज्यान लिएका पूर्व प्रेमीले अर्को सम्बन्धबारे सुनेर हत्या गरेको प्रहरी भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*