Home / Feature Breaking news / दिपेन्द्र चम्कीदा यूएईमाथि नेपालको ५ विकेटको जित

दिपेन्द्र चम्कीदा यूएईमाथि नेपालको ५ विकेटको जित

आसिफ सेख र कप्तान रोहित पौडेलले जितको आधार तयार पारेको खेलमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरेपछि त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेपालले लगातार चौथो जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा नेपालले लिगचरणको आफ्नो अन्तिम खेलमा युएईलाई पाँच विकेटले पराजित गर्यो ।  युएईले दिएका एक सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र, आसिफ र कप्तान रोहित पौडेल नायक रहे ।

धुँवादार ब्याटिङ गरेका दीपेन्द्रले १५ बलमै ४० रन बनाए । यस्तै, आसिफले ५० बलमा ६२ र रोहितले ४२ बलमा ४७ रनको योगदान दिए ।

२.१ ओभरमा ११ रनको अवस्थामा तीन विकेट गुमाइसकेको अवस्थाबाट ९९ रनको साझेदारी गर्दै नेपाललाई आसिफ र रोहितले जिततर्फ डोर्याएका थिए । खेललाई फिनिसिङ गर्ने जिम्मेवारी भने पुनः एकपटक दीपेन्द्रले पूरा गरे । उनले एक छक्का र ६ चौका प्रहार गरे ।

दीपेन्द्र क्रिजमा आउनुअघि आसिफले टी–२० करिअरको तेस्रो अर्धशतक पनि पूरा गरे । नेदरल्यान्ड्स र मलेसियापछि उनले युएईविरुद्ध अर्धशतक बनाएका हुन् । तर, ९९ रनको साझेदारी गर्दै १६औँ ओभरमा नेपाललाई एक सय १० रनको अवस्थामा पुर्याएलगत्तै उनी ६२ रनको अवस्थामा आउट भए ।

पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल भुर्तेल प्लेडअन हुँदै आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । युएईका मोहम्मद जवदुल्लाहको तेस्रो बल खेल्ने क्रममा बलले उनको ब्याटको भित्री किनारा लिँदै अफ स्टम्प उडाइदियो । दुई बल खेलेका कुशलले एक रन बनाए ।

कुशल आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले पनि आज निराश बनाए । अकिफ राजाको बलमा ठूलो सट प्रहार गर्न खोज्दा उनी भृत्य अरविन्दको हातमा सहज क्याच थमाउन पुगे । चार बल खेलेका उनले दुई रन बनाए ।

नेपालले लगत्तै जारी शृंखलामा विस्फोटक ब्याटिङ गरिरहेका कुशल मल्ललाई गुमायो । उनी जवदुल्लाहको बलमा अनावश्यक रुपमा रन लिन खोज्दा रनआउट हुन पुगे । जारी शृंखलामा उनी दोस्रोपटक रनआउट भएका हुन् । दुई बल मात्र खेलेका कुशलले कुनै रन बनाउन सकेनन् ।

त्यसअघि मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात खेलाडीको क्षतिमा एक सय ६४ रन बनाएको थियो ।

युएईका तर्फबाट विकेटकिपर ब्याटर भृत्य अरविन्द र  बसिल हमिदले सर्वाधिक ४५–४५ रन बनाए । यस्तै, आसिफ खानले १८, खालिद साहले १२, अलिसान सराफु र अली नासिरले नौ–नौँ तथा कप्तान मुहम्मद वसिमले आठ रन बनाए ।

बलिङमा नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले दुई–दुई तथा करण केसी र गुल्सन झाले एक–एक विकेट लिए । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कुनै विकेट लिन सकेनन् । एक ओभर मात्र बलिङ गरेका दीपेन्द्रलाई युएईका ब्याटरले १८ रन हाने ।

शृंखलाभरी उत्कृष्ट फर्ममा रहेका करण आजको खेलमा प्रभावशाली देखिएनन् । उनले चार ओभरमा ५३ रन दिए । यस्तै, चार ओभरमा सोमपालले ३३ रन दिए ।

आजको खेलमा नेपालले ललित राजवंशीको स्थानमा विवेक यादवलाई खेलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*