Home / Feature Breaking news / दाङ उवासंघको निर्वाचनः कस्ता छन् संयुक्त प्यानलका सदस्य उम्मेदवारहरु ?

दाङ उवासंघको निर्वाचनः कस्ता छन् संयुक्त प्यानलका सदस्य उम्मेदवारहरु ?

घोराही, २८ साउन

दाङ जिल्ला उद्योग वाणिज्य संघको यही साउन ३१ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि संयुक्त व्यावसायिक प्यानल र प्रजातान्त्रिक व्यावसायिक प्यानलका रुपमा निर्वाचनमा होमिएका छन् । संयुक्त व्यावसायिक प्यानलको नेतृत्व नारायण भुसालले गर्नुभएको छ भने प्रजातान्त्रिक उद्यमी संघको नेतृत्व मञ्जु बज्राचार्यले गर्नुभएको छ ।
यसै क्रममा आज हामीले संयुक्त व्यावसायिक प्यानलका तर्फबाट उद्योग, महिला तथा खुल्ला सदस्य पदहरुमा प्रतिष्पर्धा गरिरहनुभएका उम्मेदवारहरुसँग हामीहरुले कुराकानी गरेका छौँ । संयुक्त व्यावसायिक प्यानलबाट पोल्ट्री फर्म, कलेजका प्रिन्सिपल, काष्ठ ब्यबसायी, किराना, टुर एण्ड ट्राभल्स, होटल तथा ग्रील उद्योग सञ्चालन गर्दै आएका व्यवसायीले सदस्य पदमा प्रतिष्पर्धा गर्न लागेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि संयुक्त व्यावसायिक प्यानलको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको बारेमा केही चर्चा गरौं ।

मित्रदेव अधिकारी ः काष्ठ उद्योगी उद्योग सदस्यमा भिड्दै
जिल्लामा काष्ठ उद्योगीहरुको प्रतिनिधित्व हुने गरी मित्रदेव अधिकारीले दाङ जिल्ला उद्योग वाणिज्य संघको उद्योग सदस्य पदमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । नेपाल राष्ट्रिय बाणिज्य संघ दाङको महासचिव पदमा क्रियाशील अधिकारीले २०६१ सालदेखि न्यू राप्ती काष्ठ उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष तथा सुपर टोल विकास संस्थाको कोषाध्यक्ष रहेर पनि काम गरिरहनुभएका उहाँ काष्ठ उद्योग व्यवसायी दाङको सदस्य पनि हुनुहुन्छ । प्रवेशीका परीक्षा उत्तीर्ण गर्नुभएका मित्रदेव अधिकारीले दाङ जिल्ला उद्योग वाणिज्य संघको उद्योग सदस्यमार्फत् व्यावसायिक हकहितका लागि काम गर्ने गरी सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

हेमन्ती पुन मगर ः व्यवसायसँगै नेतृत्वको यात्रामा
हेमन्ती पुन मगर दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलका तर्फबाट महिला सदस्यमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । श्रीमान् सँगसँगै घोराहीमा मौसमी होटल र मौसमी ग्रील उद्योगको सञ्चालन गरिरहेकी हेमन्ती निडर, हक्की र सशक्त उम्मेदवार हुनुहुन्छ । सौडियारमा बस्दा किराना पसल तथा विभिन्न महिला समूहमा बसेर काम गरेको अनुभवसँगै लामो समय घोराहीमा होटल सञ्चालन गरिरहनुभएकी उहाँ साना लगानीका उद्योगी व्यवसायीको हक हितलाई विशेष प्राथमिकताका उठाउने बताउनुहुन्छ ।
२०५२ सालदेखिको मौसमी ग्रील उद्योग र २०६५ सालदेखिको मौसमी होटल सञ्चालन गरिरहँदा उहाँले संघको सदस्य पदमा रहेर काम गर्न सक्ने ल्याकत राख्नुभएको छ । सामान्य लेखपढ गर्ने हेमन्ती पुनले व्यवसायीहरुले आफुलाई भोट दिएर जिताउने विश्वास व्यक्त गर्नुहुन्छ । व्यावसायिक क्षेत्रमा महिलाहरुले सित्तिमित्ती आँट नगर्ने अवस्था अझैं पनि रहेकाले आफूले महिलाहरुलाई सक्षम, आत्मनिर्भर बनाउँदै उनीहरुको उत्साह र आँट अभिवृद्धि गर्न विशेष पहल गर्ने बताउनुहुन्छ ।

महेन्द्र बुढाथोकी ः व्यावसायिक हितका लागि उम्मेदवारी
दाङमा पोल्ट्री फर्मको विकास र विस्तारमा क्रियाशील रहनुभएका महेन्द्र बुढाथोकी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि प्रतिष्पर्धामा रहनुभएको छ । २०६८ सालदेखि घोराहीमा एम.डि.एस. पोल्ट्री सोलुसन सञ्चालन गर्दै आउनुभएका बुढाथोकीसँग झण्डै १५ वर्ष अघिदेखि पोल्टी फर्ममा काम गरेको अनुभव छ । कहिले मजदूरको रुपमा त कहिले साझेदारीका हिसाबले लामो समय व्यावसायिक क्षेत्रमा समय बिताउनुभएका बुढाथोकी पछिल्लो समय अन्य सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय भएर लागिरहनुभएको छ ।
रुकुमबाट दाङ झरेर सफल व्यवसायी र समाजसेवीको पहिचान बनाउनुभएका उहाँ हाल रुकुमेली एकता समाजको अध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै घोराहीस्थित युनाइटेड मण्टेश्वरी प्रालिका अध्यक्ष र इन्द्रेणी मिडिया प्रालिका सल्लाहकार समेत रहनुभएका उहाँ व्यवसायका अतिरिक्त गीत संगीतका क्षेत्रमा पनि विशेष रुचि राख्नुहुन्छ । स्थानीय कलाकारहरुको प्रोत्साहन, संरक्षण र लोक गीत संगीतको प्रवद्र्धनमा उहाँको राम्रो योगदान रहेको छ । स्नातक उतीर्ण बुढाथोकी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यमा विजयी भएर यहाँको व्यावसायिक हकहितका लागि उदाहरणीय काम गर्ने चाहना भएको बताउनुहुन्छ ।

भिमसेन गिरी ः प्रिन्सिपल हुदै उवासंघको सदस्यको तयारीमा
सूचना प्रविधि र इञ्जिनियरिङको क्षेत्रमा राप्ती क्षेत्रकै पहिलो राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य पदमा प्रतिष्पर्धा गरिरहनुभएको छ । २०५६ सालदेखि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील गिरीले यस क्षेत्रमा सूचना प्रविधि भित्र्याउन विशेष भूमिका निर्वाह गर्नुभएको छ ।
दीपशिखा कम्प्युटर एण्ड एबिसी ल्याङ्ग्वेज सेन्टरको संस्थापकसमेत रहनुभएका गिरी दाङ नेशनल फाउण्डेसन अफ एजुकेशनलका सदस्य सचिवसमेत रहनुभएको छ । प्रस्तावित राप्ती इन्टरनेशनल कलेजका प्रिन्सिपल रहनुभएका गिरीले एमए, पिएचडी स्कलर कम्प्युटर एजुकेशन पढ्नुभएको छ । हाल कम्प्युटर एशोशियसन संघ (क्यान) दाङका अध्यक्षसमेत रहनुभएका गिरी विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि प्रतिनिधित्व गर्नुहुन्छ । कुनै बेला प्युठानको तोरबाङ गाविसमा प्राविधिक सहायक तथा शिव मावि प्युठानमा मावि शिक्षकको रुपमा सेवा गर्नुभएका गिरी यसपटक संयुक्त व्यावसायिक प्यानलबाट दाङ उद्योग वाणिज्य संघको सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

विष्णुप्रसाद सुवेदी ः सुपर मार्केटबाट उवासंघको बाटोमा
दाङ जिल्लामा सुपर मार्केटको अवधारणासहित व्यवसाय सञ्चालन गर्दै आउनुभएका विष्णुप्रसाद सुवेदीले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य पदको तयारीमा रहनुभएको छ । २०६६ सालमा पहिलो पटक दाङमा सुपरमार्केटको सम्भावना जगाउनुभएका सुवेदीले त्यसअघि विदेशमा व्यवसायको आइडिया पाउनुभएको थियो ।
कतारमा मार्केटिङको सीप प्राप्त गर्नुभएका सुवेदीले नेपाल फर्केपछि दाङको घोराहीमा सुपर मार्केटको अवधारणासहित राप्ती सुपर मार्केट स्थापना गरी व्यवसाय शुरु गर्नुभएको थियो । राष्ट्रिय उद्योग वाणिज्य संघका जिल्ला सदस्यसमेत रहनुभएका सुवेदी सिसा सगुन सहकारी सस्थाको शेयर सदस्य, मनकामना टोल विकास सस्थाको समेत रहेर काम गरिरहनुभएको छ ।
विएल अध्ययन पूरा गर्नुभएका सुवेदीले २०५३ सालमा विरगञ्जमा अधिवक्ताको रुपमा अनुभव बटुलिसक्नुभएको छ । देश, विदेशदेखि विभिन्न क्षेत्रको अनुभवले खारिनुभएका सुवेदी अहिले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि संयुक्त व्यावसायिक प्यानलबाट प्रतिष्पर्धामा रहनुभएको छ ।

नारायणप्रसाद लामिछाने ः ट्राभल्स व्यवसायी उवासंघमा आउने तयारी
२०४५ सालदेखि सन्तोषी माँ जलपान गृहलगायतका व्यवसाय सञ्चालन गर्दै आउनुभएका नारायणप्रसाद लामिछाने अहिले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि प्रतिष्पर्धामा रहनुभएको छ । जलपान गृहसँगै लामिछानेले जिल्लामा पहिलो पटक मुना टुर एण्ड ट्राभल्स प्रालि सञ्चालन गर्नुभएको छ । यस्तै लामिछानेले पहिरन कलेक्सन, एभरेष्ट लिंकवयर स्टोर पनि सञ्चालन गर्दै आउनुभएको छ ।
आइएसम्म पढ्नुभएका लामिछानेले सामाजिक काममा केही गरेर देखाउने उद्देश्यले उद्योग वाणिज्य संघमा आउन चाहेको बताउनुहुन्छ । व्यवसायमा लामो समय बिताउनुभएका लामिछानेले उद्योग बाणिज्य संघमार्फत् समाजसेवामा प्रवेशको तयारी गर्नुभएको छ ।

पिताम्बर शर्मा ः पिताम्बरको सपना उवासंघको
विधिवत रुपमा २०६२ सालदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएका पिताम्बर शर्माले घोराहीमा पिएस एण्ड ब्रदर्श मोटर्स पार्टस् व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विभिन्न सामाजिक संघस्थामा क्रियाशील शर्माले दाङ जिल्ला उद्योग बाणिज्य संघको सदस्य पदका लागि प्रतिष्पर्धामा रहनुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघको सदस्यसमेत रहनुभएका शर्मा त्रिभुवन नगर जेसिजको सदस्य, स्टार बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष, पानस सामाजिक उद्यमीको सदस्यसमेत रहेर काम गरिरहनुभएको छ ।
उद्योग वाणिज्य संघका विभिन्न जिम्मेवारी लिएर काम गर्नुभएका शर्माले पहिलो पटक आफुलाई संघको सदस्य पदका लागि प्रतिष्पर्धामा रहेको बताउनुभयो । विएसम्म अध्ययन गर्नुभएका शर्माले नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता लिनुभएको छ । विशेषगरी शर्माले वैकल्पिक ऊर्जासम्बन्धी व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

रामप्रसाद पोखरेल ः उपसमिति हुँदै उवासंघको तयारीमा
दाङ जिल्ला उद्योग वाणिज्य संघको गल्ला किराना व्यवसाय उपसमितिका विभिन्न पदमा रहेर काम गर्नुभएका रामप्रसाद पोखरेलले यस पटकको निर्वाचनबाट संघको सदस्यका लागि तयारी गर्नुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघको जिल्ला कोषाध्यक्षसमेत रहनुभएका पोखरेल गल्ला तथा किराना व्यवसायी उपसमितिको दुई कार्यकाल सदस्य र हालसम्मको सचिव पदमा रहेर काम गरिरहनुभएको छ ।
२०६१ सालदेखि घोराहीमा पोखरेल किराना पसल सञ्चालन गर्दै आउनुभएका पोखरेलले विभिन्न सामाजिक काममा पनि सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्नुभएको छ । संघको सदस्यमा विजयी भएमा उद्योगी ब्यवसायीहरुको हितका पक्षमा काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*