Home / Feature Breaking news / देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीलगायत विभिन्न विषयमा असन्तुष्टि राखेका छन्।

सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको कोइरालाको आरोप छ।

बुधबार बिहान ११:३० बजेदेखि मध्याह्न १२ बजेसम्म कोइरालाले धुम्बाराही पुगेर सभापति देउवासँग कुराकानी गरेका हुन्।

कोइरालाले उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियारलाई साथै लगेका थिए। महामन्त्री गगन थापा बिपी साहित्य महोत्सवमा व्यस्त भएकोले देउवा निवास गएका थिएनन्।

कोइरालाले मंगलबार बालुवाटारस्थित सचिवालयमा आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। छलफलका क्रममा केन्द्रीय सदस्यहरूले सभापति देउवालाई भेटेर एकलौटी रूपमा पार्टीका निर्णय नगर्न सचेत गराउन कोइरालालाई आग्रह गरेका थिए।

०७८ को मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग कोइराला पराजित भएका थिए। कोइरालाले संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका छन्।

सभापति देउवासँग कोइरालाले पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको र विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेकोमा ध्यानाकर्षण गराएका हुन्। कांग्रेस केन्द्रदेखि प्रदेशका सरकारमा सहभागी भए पनि प्रभावकारी काम हुन नसकेको उनको भनाइ थियो।

‘तपाईं विधानअनुसार चल्नुभएन। नेविसंघ र तरूण दल विधानविपरीत बनाइएको छ,’ कोइरालाले देउवासँग भनेका कुरा उद्धृत गर्दै एक नेताले सेतोपाटीसँग भने, ‘सरकारमा जाँदा र मन्त्री पठाउँदा पनि जति समन्वय र छलफल हुनुपर्ने हो त्यति गर्नुभएन।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्। संस्थापनइतर समूहले कम्तीमा ३ जना मन्त्री आफूहरूले पठाउन पाउनुपर्ने अडान लिएका थिए, तर सभापति देउवा तयार भएनन्।

कोशी प्रदेशमा सभामुखलाई मतदानमा सहभागी गराएर सरकार टिकाउन खोजेकाजस्ता गतिविधिमा सभापति संलग्न रहेको आरोप उनको थियो। ‘कांग्रेस संविधानभन्दा बाहिर जान हुँदैनथ्यो,’ उनले भने।

कोइरालाले आफूले पटक-पटक दिएका सुझाव र उठाएका प्रश्नलाई पनि बेवास्ता गर्ने गरिएको बताएका थिए। ‘आजबाट म तपाईंसँग कुरा गर्दिनँ,’ कोइरालाले देउवासँग भने, ‘जे गर्नुहुन्छ, गर्नुहोस्। म आफ्नो ढंगबाट अघि बढ्छु।’ सभापति देउवाले पार्टीभित्रको प्रतिपक्षीलाई समेट्न नसकेको आरोप छ।

प्रदेशहरूमा मुख्यमन्त्री लिने र मन्त्री लिनेजस्ता विषयमा पनि पार्टीभित्र सभापतिले छलफल नगरेको उनको भनाइ थियो। ‘प्रदेशमा सरकार बनाउँदा र मन्त्री पठाउँदा एकपटक छलफलसमेत गरिएन, यस्तो एकलौटी किन गर्नुभएको?,’ कोइरालाले देउवालाई सोधे।

तरूण दल चार सय १ सदस्यीय र नेविसंघ ७ सय ११ सदस्यीय बनाइएकोमा पनि कोइरालाले असन्तुष्टि जनाएका थिए।

‘एउटा समझदारी गरेर तरूण दल र नेविसंघमा हामीसँग नाम मागियो। नाम पनि पठाइएको हो। तर समझदारीविपरीत ठूलो संख्यामा भ्रातृ संस्थामा मनोनीत किन गर्नुभएको हो?,’ उनले भने, ‘विधान मिच्ने कुरामा हाम्रो सहमति छैन।’

१४ औं महाधिवेशनमा सभापति चुनिएपछि देउवाले आफू गुटमा मात्र सीमित नभई सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। त्यो प्रतिबद्धताविपरीत आफ्नो गुटलाई फाइदा पुग्ने कामकारबाही मात्रै सभापतिले गरेको कोइरालाको आरोप थियो।

‘आजबाट म तपाईंसँग कुरा गर्दिनँ। तपाईं जसरी अघि बढ्नुहुन्छ बढ्नुहोस्,’ सभापति देउवालाई यति कुरा भनेर कोइराला धुम्बाराहीबाट निस्किएका हुन्।

सभापति देउवाले भने आफू सबैलाई समेटेर अघि बढ्न तयार नै रहेको जवाफ दिएका थिए। ‘तपाईं चिन्ता नलिनुहोस्, म सबैलाई मिलाएर अघि बढ्छु,’ देउवाले भनेका थिए।

सभापति देउवाले महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभागसमेत १९ महिना हुँदासमेत गठन गरेका छैनन्। सभापतिले मनोनीत गर्न सक्ने कोषाध्यक्ष, केन्द्रीय सदस्य, विभागलगायत पनि मनोनीत गरिएका छैनन्। अहिलेसम्म १६ विभाग प्रमुख तोकेका सभापति देउवाले आफूनिकटलाई आकर्षक विभाग प्रमुख दिएको आरोपसमेत संस्थापनइतरको छ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*