Home / Feature Breaking news / कांग्रेसमा गुनासो- क्रियाशील सदस्यले नै भोट दिएनन्

कांग्रेसमा गुनासो- क्रियाशील सदस्यले नै भोट दिएनन्

नेपाली कांग्रेसका नेताहरूले चुनावमा पार्टीका क्रियाशील सदस्यहरूबाटै भोट नपाइएको गुनासो पोखेका छन्।

गत मंसिरमा भएको प्रदेश सभा र संघीय चुनावमा उम्मेदवार भएका नेताहरूले केन्द्रीय समिति बैठकमा धारणा राख्दै क्रियाशील सदस्यहरूकै भोट नपाइएको बताए।

नेता शशांक कोइरालाले पार्टीमा ८ लाखभन्दा बढी क्रियाशील सदस्य रहे पनि चुनावमा सबैले इमान्दारितापूर्वक कांग्रेसलाई नै भोट दिने नगरेको बताए।

‘मेरो क्षेत्रको एक ठाउँमा ८०० जना कांग्रेसका क्रियाशील सदस्य छन्। तर भोट खस्यो २०० मात्रै,’ कोइरालाले भने, ‘हामीले कस्तो किसिमको क्रियाशील सदस्य दिँदैछौं?’

उनले क्रियाशील सदस्यता बढाएर मात्रै संगठन बलियो नहुने बताए। ‘उनीहरू जबसम्म कांग्रेसको नीति ठिक छ भनेर भित्रैदेखि लाग्दैनन् तबसम्म क्रियाशीलको संख्याले मात्र पार्टी बलियो हुँदैन,’ उनले भने।

कोइराला गत चुनावमा पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

उनले क्रियाशील सदस्ता वृद्धि गर्न तर्फमात्र ध्यान नदिन आग्रह गरेका छन्।

उनले पार्टी विकेन्द्रीकरण गर्नुपर्ने बताए। ‘हामी केन्द्रमा बस्नेहरू भन्छौं, फलानोलाई टिकट दिनुपर्‍यो। तर हामीलाई को कस्तो, बस्तुस्थिति केही थाहा हुन्न,’ उनले भने, ‘टिकट केन्द्रबाट अब नबाडौं, जिल्लाभन्दा पनि वडालाई नै दिऔं।’

महामन्त्री गगन थापाले केन्द्रीय समितिमा गत साउन २ गते वार्षिक कार्ययोजना पेश गर्दै ५ देखि ७ लाख नयाँ सदस्य पार्टीमा थप गर्ने बताएका थिए । कोइरालाले बिपी कोइरालालाई नबिर्सन पनि आग्रह गरे।

‘बिपीसँग पैसा थिएन, तैपनि थोरै संख्या संगठनको बलमा पार्टी सशक्त थियो,’ उनले भने, ‘सरकार नै हाम्रो लक्ष्य हो? हाम्रो लक्ष्य के हो प्रष्ट हुनुपर्छ। बिपीले भन्नुभएको थियो- हरेक परिवार मेरो परिवारको स्तरको होस्।’

नेता एनपी साउदले सदस्यता वितरण वडाबाटै हुनुपर्ने बताए। ‘सदस्यता वितरणको केन्द्र वडालाई बनाऔं,’ उनले भने, ‘गाउँ मजबुद नभएसम्म जति सदस्यताको संख्या बढाए पनि संगठन बलियो हुन्न।’

यसपछि उनले आफ्नो गृह जिल्ला कञ्चनपुरको अनुभव सुनाए।

‘क्रियाशील सदस्यमध्ये करिब २० प्रतिशतले कुनै पनि तहको चुनावमा रूखमा भोट दिएका छैनन्। मेयर, उपमेयर, ५ सदस्य, प्रदेश र संघीय सांसदलाई भोट नदिने क्रियाशील २० प्रतिशत छन्,’ उनले भने।

अर्को २० प्रतिशत क्रियाशीलले भने आंशिक भोट दिने गरेको उनले बताए। ‘कसैले मेयर छाडेको छ, कसैले वडा सदस्य छाडेको छ,’ उनले भने, ‘भएका क्रियाशील सदस्यमध्ये ४० प्रतिशतले रूखलाई भोट दिएनन्।’

जहाँ रूख देख्यो त्यहाँ भोट हाल्ने स्थिति क्रियाशील सदस्यलाई नै बनाउन नसकिएको साउद बताउँछन्। उनले निर्वाचन क्षेत्रलाई नै समावेशी बनाएर प्रत्यक्ष निर्वाचनतर्फ जानुपर्ने बताए।

कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादवले रूखमा भोट नहाल्नेलाई भ्रातृ संस्थाहरूमा अवसर दिइएकोमा आपत्ति जनाए।

‘तरूण दल र महिला संघ विस्तार गर्दा केन्द्रले किन प्रदेश र जिल्ला कार्यसमितिसँग समन्वय गरेन?,’ उनले प्रश्न गरे, ‘रूखमा भोट नहाल्ने, मेराविरूद्ध भोट नहाल भन्दै लागेका व्यक्तिलाई कसले तरूण दल र महिला संघ सदस्य बनायो?’

उनले पार्टीलाई सहयोग नगर्नेलाई अवसर नदिन पनि आग्रह गरे। ‘गणेश प्रवृत्ति भएका र रूखमा भोट नहाल्नेलाई जिम्मेवारी नदिनुस्। काम गर्नेलाई पो जिम्मेवारी दिनुपर्‍यो त!,’ उनले भने।

केन्द्रीय सदस्य विनोद चौधरीले विदेशमा रहेका नेपालीहरूले पुराना पार्टीलाई भोट नदिन प्रेरित गरेको बताए।

‘विदेशमा भएका ५० औं लाख नेपाली युवाहरूले पुराना पार्टीका गतिविधिका कारण हामीहरू विदेशिन बाध्य भयौं। ती पार्टीलाई भोट दिने होइन नयाँ पार्टीलाई दिने हो भन्छन्,’ उनले भने।

गत मंसिरको चुनावमा आफूलाई ठूलो तप्काले हराउने भूमिका खेलेको उनको भनाइ थियो।

‘मैले टिकट पाउनेबित्तिकै त्यहाँ एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने र विरोधको वातावरण बनाउने भन्नेतिर लागे,’ चौधरीले भने, ‘कसरी विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरू लागे, यसका प्रमाण चुनावका बेला नै आइसकेका थिए।’

सहमहामन्त्री उमाकान्त चौधरीले क्रियाशीलकै बिबादका कारण छानबिन समिति गठन गरेर १४ औं महाधिवेशन गरिएको बताए।

‘८०० क्रियाशील भएका ठाउँमा ३०० मत आएका छन्। चितवनमा पनि यस्तो भएको छ,’ उनले भने, ‘क्रियाशीलको गलत प्रयोग नहोस्। पार्टी अनुशासित र मर्यादित बनाउन जरूरी छ। अनुशासनको कारबाही पनि गर्नुपर्छ, फुकुवा गर्ने होइन।’

उनले निर्वाचन जितेका जनप्रतिनिधिहरू ‘राजाजस्तो’ भएको र पार्टीसँग कुनै समन्वय नगरेको आरोप पनि लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*