Home / Feature Breaking news / शान्ति र द्वन्द्वको संगम थवाङ

शान्ति र द्वन्द्वको संगम थवाङ

देवराज भण्डारी

थवाङ (रोल्पा), १९ कार्तिक । खासमा रोल्पा जिल्लाको थवाङ द्वन्द्व र शान्तिको प्रतिक पनि हो । तर थवाङ अझैपनि आन्दोलनको प्रतिफलप्रति सन्तुष्ट छैन । त्यसैले त नेकपा विप्लव कम्युनिष्ट पार्टीको त्यहीँं चलखेल अझै छ । किनकि जनताले शान्ति पाएपनि समृद्धिको आशामा भने तुसारापात भएको थवाङको निष्कर्ष छ । कुनैबेला एउटा राष्ट्रिय दैनिक पत्रिकामा लेखिएको थियो, प्रचण्डलाई थवाङमा बास छैन, किनकि थवाङको आफ्नै पहिचान र इतिहास छ । आन्दोलन भोगेको थवाङले फेरि नातिहरुलाई आन्दोलनमा मार्न चाहेको छैन, किनकि अब समृद्धिको आन्दोलनको अपेक्षा मात्रै हो ।

द्वन्द्वकालमा सेनाको आक्रमणपछि थवाङमा रहेका १९औ घरधुरी करिब तीन महिना गाउँबास छाडेर भागेका थिए । त्यो वेलाको उनीहरुको अवस्था कस्तो भयो होला, कसैले बुझ्दैनन्, खालि विस्थापितहरुको मानसपटलमा मात्र त्यो अनुभूति छ । तैपनि थवाङ फेरि विद्रोह गर्न चाहेको छैन, समृद्धि खोजिरहेको छ । तीन महिना बाहिरिँदा उनीहरुको छाकवास खोसिएको थियो, घरको टुंगो थिएन, तैपनि फर्के उन्नीस घर शान्ति प्रक्रिया पछि ।

थवाङ आन्दोलनको उद्गम थलो हो, थवाङले अहिले युद्ध पर्यटन खोजिरहेको छ, शान्ति र समृद्धि खोजिरहेको छ । आन्दोलनका क्रममा छोरा गुमाएका थवाङबासीले फेरि आन्दोलनमा नाति गुमाउन चाहेका छैनन् । तैपनि सन्तोषको आभास नपाएको थवाङबासीको गुनासो छ । त्यसो त थवाङलाई तात्कालीन माओवादीको उद्गमस्थल भनेर सेनाले ध्वस्त पार्न खोजेको हो, तर सेनैले आफै फेरि पुनर्निर्माण पनि ग¥यो, गाउँलेहरु पनि आफ्नै गाउं आफै बनाऔं भन्ने पक्षमा छन् । तर नेपाल सरकारको केन्द्रिकृत बजेटले थवाङलाई सम्बोधन गर्न सकेको छैन ।

थवाङका हरेक घरका भित्ताभित्तामा कार्लमास्क, लेनिनका तस्वीरहरु टाँगिएका छन् । किनकि थवाङ कम्युनिष्टको प्रतिक पनि हो । तर उनै कम्युनिष्ट नेताहरुमा आएको विचलनप्रति थवाङको असन्तुष्टि छ । अझै पनि भित्ताभित्तामा जनक्रान्ति जिन्दावादका तस्करहरु राखिएका छन् । जनक्रान्ति सफल भएर मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको अवस्थामा पनि थवाङ अझै पनि आशावादी छैन ।

त्यसो त थवाङभन्दा युद्धको प्रतिक जेलवाङ थियो । किनकि जेलवाङले गणतन्त्रका लागि धेरै शहीद बनाएको थियो । यही असन्तुष्टिले थवाङले फेरि विप्लवलाई रोजेको छ । विप्लबलाई नेता रोजेको होइन, तर असन्तुष्टि पोख्ने अर्को चौतारो विप्लब नेकपा हो, एकजना नेताले भने । स्वतन्त्रताको प्रतिक हो थवाङ, युद्धको उद्गम थलो हो थवाङ, तर थवाङको अझै पनि सम्बोधन हुन सकेको छैन । किनकि थवाङबासीले आफूहरुको बस्तीलाई युद्ध पर्यटनका रुपमा सम्बोधन भएको देख्न चाहन्छन्, विकास र समृद्धि चाहन्छन् ।

‘हामीले चाहेको शान्ति हो, अझै शान्ति प्रक्रिया खुलस्तरुपमा सम्बोधन गर्न सकेको छैन, तैपनि समृद्धिका पक्षमा राज्य लागोस् भन्ने मात्र हाम्रो चाहना हो’, थवाङ गाउँपालिका–२ का वडाध्यक्ष बसन्त बुढामगरले भने । विकास निर्माणमा सहकार्य गर्न आफूहरु तयार रहेको पनि उनको अभिव्यक्ति थियो । तर सरकार भने जनयुद्धको उद्गमस्थललाई युद्ध पर्यटनका रुपमा विकास गर्न चाहेको देखिएको छैन । त्यसो त सुलिचौर थवाङ सडकमा रहेको विशाल ढुंगा पनि सेनाले फोरे पनि सहज यातायात सञ्चालन भइसकेको उनले बताए । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पनि थवाङलाई जोड्नेगरी विस्तार हुन थालेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । त्यसैगरी मध्यपहाडी लोकमार्गले पनि थवाङ नजिक छुनेगरी निर्माण भइरहेको छ । मानौ थवाङ एउटा नेपालकै पर्यटकीय गन्तव्य बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*