Home / Feature Breaking news / देशकै दोस्रो लामो पुल देउखुरीमा

देशकै दोस्रो लामो पुल देउखुरीमा

देउखुरी, १९ कार्तिक । नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ–महदेवा जोड्ने पुल निर्माण कार्य सम्पन्न भएको हो । पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको स्थानीयबासीको भनाइ रहेको छ । यद्यपि पुलको हस्तान्तरण र औपचारिक उद्घाटन भने भएको छैन । पुलको लम्बाई ८ सय ६० मिटर र चौडाई साढे १० मिटर रहेको छ । झण्डै एक अर्ब रुपैयाँ लागतको उक्त पुल अनक निर्माण सेवाले निर्माण गरेको हो ।

 

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठीयाघाटस्थित गेरुवा (कर्णाली नदीको हंगालो)मा छ । त्यसको लम्बाई १ हजार १५ मिटर छ । अनक निर्माण सेवाले राप्ती पुलको निर्माण गरेको हो । गेरुवा पुल तोकिएको अवधिभन्दा अघि नै सम्पन्न गरेर यो कम्पनी नेपाल सरकारबाट पुरस्कृत भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते राप्ती नदीको बगरमा पुल शिलान्यास गरेका थिए ।

 

करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो । आर्थिक वर्ष २०७२–०७३ देखि निर्माण कार्य शुरु भएको पुल आर्थिक वर्ष २०७६÷०७७ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुलका विषयमा जानकारी गराउँदै इन्जिनियर सुदीप बस्याल पुलको आसपासबाट माल मेटिरियल प्राप्त भएकाले पुल निर्माण कार्य छिटो भएको पुलका साइड इन्चार्ज लक्ष्मण ढकालको भनाइ रहेको छ । अहिले पुल निर्माणसँगै अबको केही दिनबाट बाटो निर्माणको काम हुने र माघ मसान्तसम्म पुलको उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*