Home / Feature Breaking news / मातृ भाषाको पढाइ: घोराहीमा पाठ्यपुस्तक छैन, तुलसीपुर पढाई रोकियो

मातृ भाषाको पढाइ: घोराहीमा पाठ्यपुस्तक छैन, तुलसीपुर पढाई रोकियो

घोराही, १६ माघ ।

देश संघीय संरचनामा गएपछि माध्यमिक तहसम्मका शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । यसै अधिकारको प्रयोग गरेर अहिले विभिन्न स्थानीय तहले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्न थालेका छन् । कतिपय स्थानीय तहहरूले पाठयपुस्तक निर्माण गरेर पढाइ समेत सुरु गरिसकेका छन् ।

यसै अधिकारको प्रयोग गदै घोराही उपमहानगरपालिकाले पनि थारू भाषामा पाठ्यक्रम निर्माण गरेपनि त्यसलाई प्रयोगमा ल्याउन सकेको छैन । उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम तयार गरेको भएपनि हालसम्म पाठ्यपुस्तक तयार नगरेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभएको छ ।

‘अहिलेसम्म थारू भाषामा पाठ्यपुस्तक तयार भएको छैन’, महाशाखा प्रमुख गौतमले भन्नुभयोे, ‘अव छिटटै पाठ्यपुस्तक तयार हुने अवस्थामा रहेको ।’ नगर क्षेत्रमा रहेका इच्छुक विद्यालयमा थारू भाषाको पाठ्यक्रम लागु गरिने उहाँले बताउनुभयो । कक्षा १ देखि ३ सम्म पढाइ सञ्चालन हुनेछ । आउँदो शैक्षिकसत्रदेखि पढाइ सञ्चालन गर्ने तयारीमा भैरहेको प्रमुख गौतम बताउनुहुन्छ । थारू भाषाको पाठ्यक्रम करिब ३ वर्ष अघि नै तयार भएपनि पाठ्यपुस्तक बन्न सकेको छैन ।

नगर क्षेत्रमा थारू समुदायको संख्या बढी भएकाले पनि थारू भाषाको पाठ्यक्रम र पाठयपुस्तक निर्माण गरेर लागु गर्न थालिएको उहाँले बताउनुभयो । थारू भाषाको पढाइ अनिवार्य भन्दा ऐच्छिक रूपमा विद्यालयहरूले अगाडि बढाउने भएका छन् । बालबालिकाले आफ्नै मातृ भाषामा अध्ययन गर्न पाउँदा सिकाइमा समेत सहयोग पुग्ने अपेक्षा र सिकाइ समेत प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्थानीय विषयवस्तु समावेश गरेर पाठ्यक्रम निर्माण गर्न थालेको महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

उता आर्थिक समस्या भएपछि तुलसीपुरमा पढाइ हुँदै आएको मगर भाषाको पढाइ रोकिएको छ । तुलसीपुर उपमहानगरपालिका–१ भमकेमा रहेको वीरेन्द्र माविमा चार वर्षदेखि पढाई हुँदै आएको मगर भाषाको पढाइ रोकिएको हो । स्थानीय रूपमा मगर भाषा बोल्ने मातृभाषीलाई ध्यानमा राखेर सुरु गरिएको पढाइ चालु शैक्षिकसत्रदेखि पढाइ स्थगित भएको
विद्यालयका शिक्षक हिमाल थापा मगरले जानकारी दिनुभएको छ ।
शिक्षक थापाका अनुसार मगर भाषाको पढाइका लागि तुलसीपुर–१ को वडा कार्यालयले बजेट व्यवस्थापन गर्दै आएको थियो । तर चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन नभएपछि मगर भाषाको पढाइ स्थगित भएको उहाँले बताउनुभयो ।

शिक्षक थापाकाअनुसार मगर भाषाको पढाइ सञ्चालनका लागि वडा कार्यालयमार्फत् हरेक वर्षमा दुई लाख ५० हजार बजेट व्यवस्थापन हुँदै आएको थियो । नेपालमा मगर समुदायले ढुड, खामपाङ र काइके भाषा बोल्ने गर्छन् । दाङको भमकेमा भने ढुड भाषाको पढाइ हुँदै आएको थियो । पाठ्यक्रम विकास केन्द्रले ढुड, खामपाङ र काइके भाषाका पाठ्यक्रम तथा पुस्तक तयार गरेको छ । पाठ्यक्रम विकास केन्द्रको निर्देशनमा भाषाको पढाइ हुने गरेको शिक्षक थापाले बताउनुभयो ।

वडा कार्यालयले उपलब्ध गराएको बजेटबाट पाठ्यपुस्तक खरिद गर्ने तथा शिक्षकलाई तलवको व्यवस्था गरिएको थियो । चालु शैक्षिकसत्रमा विद्यालय प्रशासन, वडा कार्यालय तथा स्थानीय सरकारले चासो नदिँदा मगर भाषा पढाइ स्थगित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकलाल आचार्य बताउनुहुन्छ । मगर भाषा विद्यालयमा पढाई हुन थालेपछि मगर समुदायका विद्यार्थीसँगै अन्य समुदायका विद्यार्थीले समेत मगर भाषा पढ्ने गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाले पाँच वर्षअघि मगर भाषाको पढाइ सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*