Home / Feature Breaking news / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान(के–के हुन्छ प्रतिष्ठानमा)

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान(के–के हुन्छ प्रतिष्ठानमा)

सन्तोष अधिकारी
दाङ, २५ असोज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक ब्यवस्थापिका–संसदबाट पारित भएको छ । मंगलवार बसेको संसद बैठकले यो विधेयक पारित गरेको हो । विधेयक पारीत भएसंगै दाङमा सरकारी मेडिकल वन्ने भएको हो ।

विधेयक पारीत भएपछि राप्ति तथा पश्चिम नेपालको प्रतिष्ठाको रुपमा हेरिएको प्रतिष्ठान गठन राप्ती उपक्षेत्रीय अस्पताल घोराही प्रतिष्ठान बन्ने भएको छ । यो खबरले दंगालीहरुमा खुशीयाली छाएको छ । खुशीयालीमा मंगलवार बेलुका जताजतै दिपावली भएको छ । एक आपसमा खुशी साटासाट गरेर सरकारको निर्णयको दंगालीहरुले स्वागत गरेका छन् ।

उप क्षेत्रिय अस्पताल प्रतिष्ठान बने लगत्तै यस अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुनेछ । विधयेकमा प्रतिष्ठानमा अध्ययन गर्ने कूल विद्यार्थी संख्याको कम्तीमा ५० प्रतिशत स्थानमा आर्थिक रुपले विपन्न विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था गरीएको छ ।

प्रतिष्ठानले प्रवेशिका उत्तीर्ण गरी स्वास्थ्य विज्ञान सम्बन्धी प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थी तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा तोकिएको अवधिभरि काम गरेका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई एमबीबीएस अध्ययनका लागि भर्ना लिने छ । यसरी एमबीबीएस अध्ययन गरेका चिकित्सकले प्रतिष्ठानले तोकेका ठाउँमा तीन बर्ष सेवा गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ ।

प्रतिष्ठानको मुख्य कार्यालय घोराहीमा रहने छ भने त्यसका लागि नवलपुरमा रहेको झण्डै बीस बिघा सार्वजनिक जग्गा हस्तान्तरणको प्रक्रिया पनि थालिएको छ । प्रतिष्ठानका अंगको रुपमा प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, विद्या परिषद्, संकाय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल रहने ब्यबस्था समेत विधेयकमा रहेको छ ।

प्रतिष्ठानको सबैभन्दा माथिल्लो निकाय सभा हुनेछ, यसको अध्यक्षता कूलपतिले गर्नेछन् । २१ सदस्यीय सभामा जिल्लाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख र घोराही उप महानगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था विधेयकमा गरिएको प्रतिष्ठान गठनका लागि स्वास्थ्य मन्त्रालयबाट नियुक्त सहजकर्ता एवं नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिए ।

त्यस्तै प्राज्ञिक परिषद्को अध्यक्षता शिक्षाध्यक्ष, कार्यकारी परिषद्को अध्यक्षमा उपकूलपति रहने व्यवस्था गरिएको छ । प्रतिष्ठानको मुख्य उद्देश्य चिकित्सा शिक्षा सञ्चालन गर्नुहुनेछ । त्यस्तै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाका लागि अस्पताल स्थापना गर्ने प्रावधान विधेयकमा रहेकोमा राप्ती उपक्षेत्रीय अस्पताल यही ऐनको व्यवस्था अनुसार गठन भएको मानिने छ ।

अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति समेत रहनेछ । प्रतिष्ठानका पदाधिकारीको रुपमा प्रधानमन्त्री कूलपति र स्वास्थ्य मन्त्री सहकूलपति रहने छन् भने प्रतिष्ठानमा पूरा काम गर्ने गरी उपकूलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक रहनेछन् । प्रतिष्ठान विश्वविद्यालय जस्तै स्वायक्त रहने भए पनि यसले अन्य निकायलाई सम्बन्धन भने दिन पाउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*