Home / Feature Breaking news / रवि लामिछानेको समर्थन या विरोध गर्नुअघि थाहा पाउनुपर्ने तथ्य

रवि लामिछानेको समर्थन या विरोध गर्नुअघि थाहा पाउनुपर्ने तथ्य

सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि रवि लामिछानेको सांसद पद खारेजमात्रै भएन, उनको गृहमन्त्री पद पनि गयो । सर्वोच्च अदालतले ‘कायम नरहेको’ उनको पुरानो नागरिकताको प्रमाणपत्रलाई मान्यता नदिएपछि उनी सम्भवतः आजै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएर नागरिकताको प्रमाणपत्र लिनेछन् । उनको नागरिकता विवादको सन्दर्भमा तयार पारिएको अनलाइनखबर एक्सप्लेनर :

सर्वोच्च अदालतले किन रवि लामिछानेको सांसद पद खारेज गर्‍यो ?

रवि लामिछाने अमेरिका गएपछि उतैको नागरिकता पाए । नेपालको नागरिकता ऐन, २०६३ को दफा १०(१)मा आफूखुसी विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहने छैन भन्ने व्यवस्था छ । अमेरिकाको नागरिकता लिएपछि उनको पुरानो नेपाली नागरिकता कायम नरहेकाले त्यसले मान्यता नपाएको हो ।

उनले अमेरिकाको नागरिकता त्यागेपछि किन नेपाली नागरिकता कायम नहुने ?

लामिछानेले २०७५ सालमा अमेरिकाको नागरिकता त्यागेका हुन्, त्यसमा कुनै विवाद छैन । तर सर्वोच्च अदालतले नेपाली नागरिकता पुनः प्राप्तिका लागि लामिछानेले प्रक्रिया पूरा नगरेको ठम्यायो । सर्वोच्च अदालतको संक्षिप्त व्याख्या अनुसार, उनले अमेरिकाको नागरिकता त्यागेपछि त्यसको विवरण सहितको निवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गरेका थिएनन्, जसका कारण उनको नागरिक ‘कायम नभएको’ अवस्थामा नै थियो ।

त्यसो भए सर्वोच्च अदालतले उनलाई नेपाली नागरिक नै होइनन् भनेको हो ?

होइन, सर्वोच्च अदालतले उनी नेपाली नागरिक होइनन् भनेको छैन । उनी नेपाली नागरिक हुन योग्य भएका तर नागरिकताको प्रमाणपत्र नलिएको अवस्थामा थिए । नागरिकताको प्रमाणपत्र नलिएकाले नै उनी राजनीतिक अधिकारको प्रयोगबाट प्राप्त पद (सांसद, मन्त्री) बाट मुक्त हुनुपरेको हो । लामिछानेको विपक्षमा बहस गरेका एक कानून व्यवसायी भन्छन्, ‘उहाँ योग्य भएर पनि नागरिकताको प्रमाणपत्र नलिएको अरु व्यक्ति सरह हुनुभयो ।’

अब नागरिकता लिएपछि उनको सांसद पद कायम रहन्छ ?

रहँदैन । उनले निर्वाचनको मनोनयनका क्रममा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्रले मान्यता नपाएकाले त्यो सहित त्यसका आधारमा भएको सांसद र मन्त्री पद गएको हो । उनले आज नागरिकता लिएपछि भने अरु नेपालीले सरह सबै हक अधिकार उपयोग गर्न पाउँछन् । तर नागरिकता प्रमाणपत्र नभएकाले खारेज भएको पद नागरिकता लिनासाथ स्वतः आउँदैन । सुरुदेखिकै प्रक्रिया थाल्नुपर्छ– चाहे सामान्य नागरिकका रुपमा होस् या निर्वाचन प्रक्रियामा सामेल उम्मेदवारका रुपमा ।

लामिछानेले आज लिएको नागरिकताले पुरानै सरह मान्यता पाउने हो ?

लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए । अमेरिकाको नागरिकता लिएपछि ‘कायम नभएको’ उनको त्यो नागरिकताको प्रमाणपत्रलाई आज पुनः प्राप्ति गरेका हुन् । पुरानै नागरिकता नै ‘कायम’ भएकाले उनको अवस्था अब अरु नेपाली नागरिक सरह भएको छ ।

कायम नभएको’ पुरानो नागरिकता प्रयोग गरेकाले लामिछानेलाई दोषी ठहर गर्न मिल्छ ?

यो विषय अस्पष्ट छ । ‘कायम नभएको’ नागरिकता प्रयोग गरेकाले त्यसबापत पाएको राजनीतिक पद र ओहोदाबाट उनी मुक्त भइसकेका छन् । तर त्यत्ति प्रयोग गरेका कारण उनलाई दोषी ठहर गर्ने आधार बन्दैन भन्ने उनी पक्षधर कतिपय कानून व्यवसायीहरुको दावी छ ।

तर लामिछानेको विपक्षमा रहेका कानून व्यवसायीहरु भने उनले आफ्नो अवस्था नै झुक्याएर राज्यलाई छल गरेकाले प्रचलित कानून अनुसार दण्डित हुने भएले त्यसबाट उन्मुक्ति पाउन नहुने बताउँछन् ।

ती कानून व्यवसायीहरुको दावी अनुसार, उनले नेपाली नागरिक हुँ भनेर निर्वाचनमा भाग लिए, निर्वाचित भए । मतदाता नामावलीमा समावेश भएर मतदान गरेका छन् । गृहमन्त्री भएर राज्यका संवेदनशील सूचनामा पहुँच राखेका छन् । ती कानून व्यवसायीले भने, ‘राज्यलाई नै झुक्यानमा पारेकाले उनी प्रचलित कानून अनुसार दण्डित हुने हो, त्यसैले उन्मुक्ति पाउन मिल्दैन ।’

उनको पासपोर्टको विषयमा के हुन्छ ? 

रवि लामिछानेले २०७० सालमा अमेरिकी नागरिकता पाएका थिए । उनी नेपाल फर्केपछि सञ्चारकर्ममा जुटे । विवादमा परेपछि उनले २०७५ सालमा मात्रै नेपालबाटै अमेरिकाको नागरिकता त्यागेका हुन् । तर त्यसअघि २०७३ सालमा नै उनले ‘कायम नभएको’ नेपाली नागरिकताबाट नेपाली पासपोर्ट लिएको भेटियो । २०७३ सालदेखि २०७५ सालमा अमेरिकाको नागरिकता नत्याग्दासम्म उनको साथमा एकसाथ दुई मुलुकको पासपोर्ट रहेको देखिन्छ ।

लामिछानेले २०७३ सालमा कायम नभएको नेपालको नागरिकताको आधारमा पासपोर्ट लिएका हुन् । राहदानी ऐन, २०७६ को दफा २१(क)मा झुटा विवरण दिई राहदानी लिएमा कसुर गरेको मानिने व्यवस्था छ । त्यसको पुष्टि भएमा ऐनमा २ देखि ५ लाख जरिवाना, १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

लामिछानेको नागरिकतासँगै पासपोर्टमाथि छानविन हुनुपर्ने उजुरी पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विचाराधिन छ । उनले झुटा विवरण लिई राहदानी लिएको उजुरी जिल्ला प्रशासन कार्यालयले छानविनका लागि प्रहरीमा पठाएको छ ।

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*