Home / Feature Breaking news / कांग्रेसका १३ नेतृ जसले आगामी चुनावमा बलियो चुनौती पेस गर्दैछन्

कांग्रेसका १३ नेतृ जसले आगामी चुनावमा बलियो चुनौती पेस गर्दैछन्

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढ्न थालेको छ । कोही भागबन्डामा व्यस्त छन् । कोही चुनावी तालमेलको प्रयासमा छन् त कोही स्वतन्त्र रूपमा उमेदवारी घोषणा गरिरहेका छन् ।

निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूलाई भने उमेदवार टुंग्याउन सकस हुन्छ । आकांक्षी धेरै हुने भएकाले पनि नेताहरू व्यवस्थापन गर्न पार्टी नेतृत्वलाई अझ बढी चुनौती हुन्छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनलाई भने अहिले सिट बाँडफाँटको मापदण्ड बनाउनमै सकस परिरहेको छ । गठबन्धनको सिट बाँडफाँटको मापदण्ड बनाउन नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले समिति बनाएर काम त गरिरहेका छन् तर सहमति जुट्न सकेको छैन । कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको समितिले मापदण्डमा काम गरिरहेको छ ।

गठबन्धनमा जम्मा १६५ निर्वाचन क्षेत्रमध्ये कसलाई कुन दिने भन्नेबारे छलफल भइरहेको छ । यिनै क्षेत्रमध्येबाट पाँच दललाई भागबन्डा गर्नुपर्ने भएकाले कतिपय दलबाट प्रभावकारी मानिने नेताले नै सिट नपाउने करिब निश्चितजस्तै छ । यस्तो अवस्थामा गएको स्थानीय निर्वाचनमाजस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि महिला नेतृहरूलाई टिकट नदिने प्रयास हुन सक्ने देखिन्छ ।

तर, अहिले महिला नेतृहरू सजग बनेका छन् । उनीहरूले अहिलेदेखि नै नेतृत्वलाई दबाब दिइरहेका छन् । उनीहरूले प्रत्यक्ष निर्वाचनबाटै संसद् प्रवेश गर्ने ‘मिसन’मा काम गरिरहेका छन् ।

कांग्रेसमा उमेदवारी दिने आकांक्षीहरू टिकटका लागि दौडधुपमा लागिरहँदा महिला नेतृहरूले पनि आफूलाई प्रत्यक्षतर्फ टिकटको दाबेदारको रूपमा प्रस्तुत गरिरहेका छन् । अघिल्ला निर्वाचनहरूमा जितेको क्षेत्रमा आफूहरूले टिकट पाउनुपर्ने उनीहरूको माग छ । उनीहरू टिकट पाए पुरुषलेजस्तै जित सुनिश्चित गर्ने आत्मविश्वास देखाइरहेका छन् । यहाँ हामी कांग्रेसका त्यस्ता नेतृहरूबारे चर्चा गर्दैछौँ जसले प्रत्यक्षमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

महालक्ष्मी उपाध्याय ‘डिना’
कांग्रेसबाट प्रत्यक्ष चुनाव लड्ने महिलाहरूको सूचीमा पहिलो नम्बरमा नाम आउँछ, कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को । उनको गृहजिल्ला मकवानपुर हो । मकवानपुरमा दुईवटा निर्वाचन क्षेत्र छन् ।

समानुपातिक र आरक्षणका सिट एउटै व्यक्तिले पटकपटक उपभोग गर्न हुँदैन भन्ने मान्यता राख्ने डिना कांग्रेसको १३औँ महाधिवेशनदेखि महिला कोटा छोडेर खुला प्रतिस्पर्धामा उत्रिएकी थिइन् । महिला कोटाबाट आजीवन चुनाव लड्न हुन्न भन्ने मान्यतासहित खुल्ला प्रतिस्पर्धामा उत्रिँदा पराजय बेहोरेकी उनी आफ्नो मान्यतामा अडिग रहिन् । उनले समानुपातिकतर्फबाट सांसद हुने सहज बाटो हुँदाहुँदै आफूलाई प्रत्यक्ष निर्वाचनका लागि टिकट मागिन र चुनाव लडिन् । १४औँ महाधिवेशनबाट भने उनी सहमहामन्त्री निर्वाचित भएकी छन् ।

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उमेदवारी दिएकी डिना वाम गठबन्धनका तर्फबाट तत्कालीन एमाले उमेदवार विरोध खतिवडासँग पराजित भइन् । उनी खतिवडासँग करिब १२ हजार मतान्तरले पराजित भएकी थिइन् । वाम गठबन्धनबाट चुनाव लडेका खतिवडाले ४६ हजार ४८१ मत ल्याउँदा डिनाको ३४ हजार ९० मत आएको थियो ।

अहिले एकीकृत समाजवादी गठबन्धनमै रहने निश्चित भएकाले डिनालाई मकवानपुर कांग्रेसले क्षेत्र नम्बर–१ बाट चुनाव लडाउने तयारी गरेको छ । २०४८ सालमा त्यहीबाट जितेकी उनी यसपटक टिकट पाउने मात्र होइन जित पनि सहज हुने विश्वासमा छिन् । नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ मुख्यमन्त्रीको दौडमा रहेकाले उनी संघीय प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न लागेकी हुन् । एकीकृत समाजवादीसहितको गठबन्धन हुँदा पनि एउटा क्षेत्र कांग्रेसले पाउने भएकाले टिकटको चिन्ता उनलाई छैन ।

पार्टीमा पनि उनको पडक राम्रो छ । उनको घर क्षेत्र नम्बर–१ मै पर्छ । अहिले हेटौँडा उपमहानगर सभापतिदेखि क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति, प्रदेश निर्वाचन क्षेत्रीय सभापति र भ्रातृ संगठनमा पनि उनको राम्रो पकड छ । पार्टीको सहमहामन्त्री भइसकेकी उनलाई क्षेत्रले सिफारिस सहज रूपमा गर्ने र केन्द्रको टिकट बाड्ने संसदीय बोर्डमै आफू रहने हुँदा टिकट लिन कुनै असहजता छैन ।

“दुई निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्र कांग्रेसले पाउने हो । एउटा एकीकृत समाजवादीले पाउँछ होला,” सहमहामन्त्री डिनाले बाह्रखरीसँग भनिन्, “कांग्रेसबाट टिकट मैले नपाउनुपर्ने कुनै कारण छैन । म गठबन्धनको निर्णयबमोजिम जुन् क्षेत्रमा टिकट पाउँछु त्यहाँ लड्छु ।”

डिना पार्टीभित्र संस्थापन पक्ष निकट र सभापति शेरबहादुर देउवाको विश्वासपात्र पनि हुन् । गठबन्धनभित्र पनि कांग्रेसले टिकट पाउने भएपछि उनले टिकट पाउने सम्भावना बलियो भएको कांग्रेसभित्र चर्चा छ ।

पुष्पा भुसाल
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी पुष्पा भुसाल प्रतिनिधिसभामा उपसभामुख छिन् । २०६४ सालमा धेरै ठाउँ कांग्रेसले गुमाउँदा प्रत्यक्ष चुनाव जितेकी भुसालको ध्यान अहिले पनि प्रत्यक्ष चुनावतर्फ नै छ । उनको निर्वाचन क्षेत्र अर्घाखाँची हो ।

एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २०७० सालमा चुनाव हारेकी भुसाललाई ०७४ सालमा पार्टीले समानुपातिकतर्फ बस्न लगायो । वाम गठबन्धनको उमेदवार माओवादी केन्द्रका टोपबहादुर रायमाझीले यहाँबाट चुनाव जित्दा कांग्रेसका डा. रामबहादुर बि.सी. पराजित भएका थिए । त्यसबेला माओवादीबाट चुनाव जितेका रायमाझी अहिले एमालेमा गइसकेका छन् ।

त्यसबेला समानुपातिकमा बसेकी भुसालले भने यसपटक प्रत्यक्ष निर्वाचन लड्ने बताएकी छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा उनले २०६४ मा क्षेत्र नम्बर २ बाट चुनाव जितेकी थिइन् । तर, २०७० मा भएको संविधानसभा निर्वाचनमा भने भुसाल पराजित भइन् ।

गठबन्धनबाट माओवादीले दाबी छाडे यहाँ कांग्रेसले टिकट पाउने सम्भावना छ । पार्टीभित्र टिकट लिने बलियो उमेदवार भुसाल नै हुन् । उनी पार्टीमा संस्थापन समूह निकट छिन् ।

सुजाता कोइराला
कांग्रेसको राजनीतिमा सबैभन्दा लामो समय सभापतिको रूपमा नेतृत्व गरेका तथा ०६२/०६३ को जनआन्दोलन र शान्ति प्रक्रियाको नेतृत्व गरेका नेता गिरिजाप्रसाद कोइराला पुत्री सुजाताको क्षेत्र मोरङ क्षेत्र नम्बर–२ हो । गिरिजाप्रसाद कोइराले निर्वाचन लड्दै आएको यो क्षेत्रबाट सुजाताले प्रत्यक्षमा चुनाव लडेकी छैनन् । ०७४ को निर्वाचनमा यहाँबाट डा. मिनेन्द्र रिजाल विजयी भएका थिए ।

सुजाताले २०५६ सालमा प्रत्यक्ष चुनाव लडेर जित हासिल गरेकी थिइन् । त्यसबेला उनले सुनसरीबाट चुनाव लडेकी थिइन् । २०६४ मा भने निर्वाचनमा कब्जा भएको भन्दै निर्वाचन सकिनु अघि नै उनले निर्वाचन क्षेत्र छोड्नुपरेको थियो । कोइराला २०७० र २०७४ मा समानुपातिक तर्फबाट सांसद बनिसकेकी छन् । यसपटक भने प्रत्यक्ष चुनाव लड्ने उनको तयारी छ ।

“म यसपटक प्रत्यक्ष निर्वाचनबाटै आउने हो । अप्रेसन गरेका कारण मैले विगतको चुनाव छोडेकी थिएँ,” सुजाताले बाह्रखरीसँग भनिन्, “यसपटक जनताले नै तपाई चुनाव लड्नुपर्छ भनिरहनुभएको छ ।” उनले आफू प्रतयक्ष निर्वाचित नहुँदा पनि त्यही क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको बताइन् ।

चित्रलेखा यादव 
नेपाली कांग्रेस संसदीय दलमा प्रमुख सचेतक रहेकी चित्रलेखा यादव नेपाली कांग्रेसको कोषाध्यक्षसम्म भइसकेकी नेतृ हुन् । सिराहमा ०५१ साल देखि निर्वाचन लड्दै आएकी उनी क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने तयारीमा छिन् ।

यादवले यही निर्वाचन क्षेत्रबाट ०५१ को चुनाव हारेकी थिइन् भने ०५६ मा जितेर उपसभामुखको भूमिका सम्हालेकी थिइन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएकी थिइन् । २०७० र २०७४ मा समानुपातिक सांसद बनेकी हुन् ।

“म ०५१ देखि निरन्तर यहाँबाट चुनाव लडिरहेको छु । ०७४ मा समानुपातिक बसेँ,” यादवले भनिन्, “यसपटक जनताको आशिर्वादसहित मत लिनका लागि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छु ।”

सीतादेवी यादव
नेपाली कांग्रेसकी निर्वतमान कोषाध्यक्ष सीतादेवी यादव पनि यसपटक प्रत्यक्ष निर्वाचनको तयारीमा छन् । माओवादी सशस्त्र युद्धका क्रममा पति गुमाएकी यादव ०७४ सालकी समानुपातिक र २०७० सालकी निर्वाचित सांसद थिइन् । यादवको निर्वाचन क्षेत्र सिरहा क्षेत्र नम्बर–३ हो ।

“२०७४ मा स्वस्थ्य ठिक थिएन र मैले चुनाव लडिनँ । यसपटक म प्रत्यक्ष चुनाव लड्छु,” यादवले भनिन्, “म मेरो निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छु ।”

२०७४ मा यहाँ वाम गठबन्धनबाट एमाले उमेदवार लिलानाथ श्रेष्ठ विजयी भएका थिए । संघीय समाजवादी फोरमका असेश्वर यादव दोस्रो हुँदा कांग्रेसका अमर रेग्मीले तेस्रो नम्बर बनेका थिए ।

अम्बिका बस्नेत
संविधानसभा सदस्य अम्बिका बस्नेत नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा उदाएकी उनको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर–३ हो ।

२०६४ र २०७० मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी बस्नेत ०७४ सालको प्रत्यक्ष निर्वाचन यही क्षेत्रमा लडेर हारेकी हुन् । उनी वाम गठबन्धनका उमेदवार एमालेका कृष्णबहादुर राईसँग पराजित भएकी थिइन् । वाम गठबन्धनको सहयोगमा राईले १९ हजार १६९ मत ल्याउँदा बस्नेतले १४ हजार ८८४ मत ल्याएको निर्वाचन अयोगको तथ्यांकमा देखिन्छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका दलबाट यहाँ कांग्रेसले टिकट लिने सम्भावना बढी छ । गठबन्धनले निर्णय गरे आफू चुनाव लड्न तयारीमा रहेको बस्नेतले बाह्रखरीसँग बताइन् ।

“केन्द्रीय गठबन्धन काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेसलाई टिकट दिन्छ भन्नेमा ढुक्क छु,” उनले भनिन्, “अघिल्लो पटक पनि प्रत्यक्ष चुनाव लडेकी हुँ । यसपटक पनि चुनाव लड्छु ।”

पार्टीभित्र पहिले कोइराला समूहको नजिक रहेर राजनीति गरेकी बस्नेत १२औँ महाधिवेशनदेखि देउवा प्यालनमा छिन् ।

किरण यादव
कांग्रेस केन्द्रीय सदस्य किरण यादवको निर्वाचन क्षेत्र महोत्तरीमा पर्छ । ०७४ सालमा लोसपा नेता शरदसिंह भण्डारीसँग पराजित भएकी यादव महोत्तरी क्षेत्र नम्बर २ बाटै पुनः प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छिन् । ०७४ मा भण्डारीले ३० हजार ७२२ मत ल्याउँदा उनले १३ हजार ९७४ मत पाएकी थिइन् । यादव अहिले चुनाव जित्न सहज भएको र आफू प्रत्यक्ष निर्वाचनको तयारीमा रहेको बताउँछिन् ।

“त्यसबेला मधेस आन्दोलनको रापले मलाई कमजोर पारेको थियो । कांग्रेसकै राजनीतिबाट गएका शरदजीको क्रेज पनि अलि बढी नै थियो,” यादवले बाह्रखरीसँग भनिन्, “मधेस आन्दोलनको राप सेलाएको छ, शरदजीको छाप पनि जनतामाझ गिर्दो छ । यसपटक उहाँ नै लडेपनि मलाई सहज हुनेछ । म प्रत्यक्ष चुनाव लडेरै आउने हो ।”

सीता गुरुङ
कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ पनि अहिले प्रत्यक्ष निर्वाचनका लागि टिकटको प्रतीक्षामा छिन् । गुरुङकझ निर्वाचन क्षेत्र तेह्रथुम हो ।

एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा २०७४ सालमा पनि गुरुङ प्रत्यक्ष चुनाव लडेकी थिइन् । तर, उनी वाम गठबन्धनका उमेदवार एमालेका भवानीप्रसाद खापुङसँग पराजित भएकी थिइन् । खापुङले २१ हजार ३३५ मत ल्याउँदा गुरुङले १९ हजार ३१४ मत प्राप्त गरेकी थिइन् । तर, खापुङ अहिले एमालेमा छैनन् । उनी एकीकृत समाजवादीमा छन् र स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिरहेका छन् । एकीकृत समाजवादी अहिले कांग्रेससँगै गठबन्धनमा हुँदा गुरुङलाई टिकटको जटिलता भने बाँकी नै छ ।

तर, गुरुङ भने आफू निर्वाचनको तयारीमा रहेको र गठबन्धको तर्फबाट टिकट पाउनेमा ढुक्क रहेको बताउँछिन् ।

“स्थानीय तहको नतिजाले यहाँ एकीकृत समाजवादीको खास मत देखिएन । गठबन्धनले यो कुरालाई मध्येनजर गर्नेछ र कांग्रेसले टिकट लिनेछ भन्ने विश्वास छ,” गुरुङले बाह्रखरीसँग भनिन्, “म ०७४ मा चुनाव हारेपनि निरन्तर जनतासँगै छु । पार्टीबाट टिकट पाउनेमा म विश्वस्त छु ।”

उनी पार्टीमा संस्थापन समूह निकट छिन् । २०६४ र २०७० को संविधानसभामा पार्टीबाट उनी समानुपातिक सदस्य बनेकी थिइन् ।

सरिता प्रसाईं
कांग्रेस नेतृ सरिता प्रसाईंको गृह जिल्ला झापा हो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेकी प्रसाईं कांग्रेसमा समाजवादी चिन्तकको पहिचान बनाएका सीके प्रसाईंकी नातिनी तथा कांग्रेसका वैचारिक नेता चक्र बास्तोलाकी भान्जी हुन् । उनी नेपाल विद्यार्थी संघदेखिको राजनीतिबाट आएकी हुन् । उनको प्रष्ट र कडा शैलीलाई कांग्रेस नेताहरूले ‘पुस्तौनी गुण’ भन्ने गरेका छन् ।

प्रसाईंको निर्वाचन क्षेत्र झापा–२ हो । २०७० सालको निर्वाचनमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेकी उनी २०७४ मा राष्ट्रियसभा सदस्य भएकी थिइन् । त्यहीबेला कांग्रेसको राष्ट्रियसभामा सचेतक हुँदै मन्त्रीसम्मको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।

गोलाप्रथाबाट कार्यकाल छान्दा दुई वर्ष मात्र परेपछि राष्ट्रियसभाबाट बाहिरिएकी उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् ।

झापा क्षेत्र नम्बर–२ ०६४का संविधानसभा सदस्य सुधिर शिवाकोटी र प्रदेश १ का कांग्रेस सभापति उद्धव थापाको निर्वाचन क्षेत्र हो । थापाले ०७४ को निर्वाचनमा पनि यहाँबाट पराजय भोगेका थिए । प्रदेश सभापति भएपछि उनले अहिले प्रदेशमा लड्ने र मुख्यमन्त्रीको लाइनमा जाने तयारी गरिरहेका छन् । त्यसकारण पनि यहाँ प्रसाईको दाबी सार्थक हुने सम्भावना छ । प्रसाईं पार्टीमा कोइराला समूहमा भएपनि पारिवारिक पृष्ठभूमिका कारण संस्थापन पक्षको पनि सद्भाव पाउने नेतृ हुन् ।

आरजु राणा देउवा
कांग्रेसमा इच्छा मात्रै गर्दा पनि प्रत्यक्ष टिकट पाउने नेतृ हुन्– आरजु राणा देउवा । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी राणा संविधानसभा सदस्यसमेत भइसकेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले ०७४ सालमा कैलाली–५ बाट प्रत्यक्ष चुनाव लडेकी थिइन् । आरजुलाई त्यसबेला वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका एमालेका नारदमुनी रानाले पराजित गरेका थिए । रानाले  २७ हजार २०२ मत ल्याउँदा आरजुले २२ हजार ३२२ मत पाएकी थिइन् । त्यही चुनावमा असहयोग गरेको भनेर कांग्रेसले पुष्करनाथ ओझासहित धेरै नेता कार्यकर्तालाई पार्टीबाट निकालेका थियो ।

गत वैशाख ३० मा भएको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा भएको पराजयको कारण कांग्रेसले गरेको त्यही कारबाहीलाई मानिएको छ । आर्जुले ०७४ सालमा ‘टुरिस्ट उमेदवार’को आरोप लागेपछि यही निर्वाचन क्षेत्रमा साढे दुई करोड तिरेर घरसमेत किनेकी थिइन् ।

तर, पुष्करनाथ ओझासहितमाथिको कारबाहीको असर उनलाई पनि पर्ने विश्लेषण कांग्रेसवृत्तमा हुने गरेको छ । त्यसैले आर्जुको उमेदवारी डडलधुरा, कञ्चनपुर–३ र अन्य ठाउँबाट पनि हुनसक्ने चर्चा भएपनि उनले कैलाीबाटै चुनाव लड्ने तयारी गरेका उनी निकटहरूको भनाइ छ । तर, उनको स्वास्थ्यमा पनि बारबार समस्या आइरहेकाले मंसिर ४ को निर्वाचनमा उनी प्रत्यक्ष चुनाव नलडी समानुपातिकबाट सांसद हुनसक्ने कतिपय कांग्रेस नेताहरूको अनुमान छ ।

ईश्वरी न्यौपाने

कांग्रेस नेतृ ईश्वरी न्यौपानेको गृह जिल्ला पनि कैलाली नै हो । उनी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छिन् । ०७४ को निर्वाचनमा कैलाली घटनामा नाम जोडिएकाले प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीले भारी मत ल्याउँदा न्यौपाने तेस्रो नम्बरमा थिइन् । तत्कालीन राजपा नेता चौधरीले चुनाव जितेका थिए । चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा एमाले नेतृ मदनकुमारी शाहले १३ हजार ४०६ र न्यौपानेले ११ हजार ३०२ मत ल्याएकी थिइन् ।

यसपटक न्यौपाने यही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने लड्ने तयारीमा छन् । पार्टीमा उनी संस्थापन समूह निकट छिन् । न्यौपाने पार्टीको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । न्यौपानेले समानुपातिक तर्फबाट  २०७० को संविधानसभा सदस्य बनिसकेकी छन् ।

प्रतीमा गौतम 

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम यतिबेला निर्वाचनको तयारीमा छिन् । गौतमको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ हो । यो निर्वाचन क्षेत्र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको पनि निर्वाचन क्षेत्र हो ।

नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा आएकी गौतम पद्मकन्या क्याम्पसको स्ववियू सभापति र नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै १४औँ महाधिवेशनबाट कांग्रेसको राजनीतिमा छिरेकी हुन् । पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी गौतमले २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं–२ मा माधव नेपाललाई चुनौती दिएकी हुन् ।

त्यसबेला रौतहट र काठमाडौंबाट चुनाव लडेका तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग उनी पराजित भएकी थिइन् । पछि माधव नेपालले रौतहट रोजेपछि उनी कांग्रेसभित्रकै शक्ति संघर्षको शिकार भइन् । उपनिर्वाचनमा कांग्रेसले उनलाई उमेदवार नै बनाएन ।

उपचुनावमा कांग्रेसका तर्फबाट उमेदवार बनेका दीपक कुइकेलले नै जित हात पारे र संविधानसभामा काम गर्ने मौका पाए ।

०७४ सालमा भएको निर्वाचनमा गौतमले टिकट पाउन सकिनन् । उनै कुइकेलले माधव नेपालसँग चुनाव लडे । कुइकेल नेपालसँग करिब १३ हजार मतान्तरले पराजित भए । ०७४ मा नेपाल वाम गठबन्धनका तर्फबाट उमेदवार थिए ।

२०७९ मा आइपुग्दा राजनीतिक समीकरण परिवर्तन भएको छ । एमाले फुट्दा माधव नेपालको छुट्टै पार्टी बनेको छ । स्थानीय तहको निर्वाचन परिणामले राम्रो मत देखाएपछि माधव नेपाल रौतहट फर्कने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । अब काठमाडौं–२ गठबन्धनका तर्फबाट कांग्रेसको स्वाभाविक दाबीमा परेको छ । त्यो क्षेत्रमा केन्द्रीय सदस्य गौतम आफूले टिकट पाउने बुझाइमा छिन् ।

“२०७० मा चुनाव लडेकै हो । त्यसपछि टिकट पाइनँ । गठबन्धनले के निर्णय गर्छ मलाई थाहा छैन । तर, कांग्रेसको भागमा क्षेत्र परे म स्वाभाविक उमेदवार हो,” उनले भनिन्, “संगठनमा छु । संगठन गरिरहेकी छु । कांग्रेसले टिकट पाउने गठबन्धनले निर्णय गरे म काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्ष चुनाव लड्छु ।” गौतम पार्टीमा संस्थापनइतर समूहमा छन् ।

रिता शाही 
हुम्लाकी रिता शाही पनि प्रत्यक्ष निर्वाचनको तयारीमा छन् । हुम्लामा पञ्चायतलाई चुनौती दिएर कांग्रेसबाट पहिलो जिल्ला विकास समिति सभापति भएका गोरखबहादुर शाही रिताका पिता हुन् । रिता भने हुम्लाबाट बनेकी पहिलो महिला सांसद हुन् । पिता गोखरबहादुर कांग्रेसको केन्द्रीय राजनीतिमा नआएपनि बीपी कोइरालासँग सिधा सम्पर्क भएका व्यक्तिका रूपमा हुम्ला कांग्रेसमा सम्मानित छवि बनाएका थिए ।

नेविसंघ राजनीतिबाट कांग्रेसको राजनीति आएकी रिता भने ०७० सालका संविधानसभा सदस्य भएर काम गरिसकेकी छन् । ०५१ सालको चुनावमा हुम्लाबाट जितेका कांग्रेस सांसद चक्रबहादुर शाहीकी भतिजी उनी आफूले संगठन र कांग्रेसकै लागि लगानी गरेकाले अहिले हुम्लाबाट संघीय चुनावमा प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको बताउँछिन् ।

हुम्लाका केन्द्रीय नेता जीवनबहादुर शाही फेरि पनि कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नेगरी प्रदेशतर्फ नै चुनाव लड्ने भएपछि बाटो सहज भएको उनको बुझाइ छ । हुम्लाबाट ०७४ मा समानुपातिक सांसद बनेकी रंगमति शाहीका पितासहित परिवार अहिले पनि राप्रपामै छन् । संस्थापन पक्षबाटै संघ र प्रदेशमा उमेदवार तय नगरी पार्टीको सन्तुलन मिलाउने र आफूले टिकट पाउने उनको विश्वास छ ।

“मैले मेरो जीवनको उर्जा कांग्रेसकै संगठनमा लागनी गरेकी छु । अहिले पनि संगठनकै लागि जिल्लामा लागिरहेकी छु,” शाहीले भनिन्, “हुम्लाबाट पहिलो महिला सांसद भएर काम गरेकी छु । अब जनताको प्रत्यक्ष मत लिएर संघीय संसद्मा काम गर्न प्रतयक्ष निर्वाचनको तयारीमा छु ।”

उनले पार्टीले टिकट दिएमा आफ्नो जित पनि सहज हुने भन्दै अन्तरघात मात्र रोक्दा आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताइन् ।

बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*