निर्वाचन आयोगले आउँदो मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न भनेको छ।
आयोगले बुधबार एक सूचना जारी गर्दै यही भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गर्न भनेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ।
‘मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दल दर्ता गर्नुपर्नेछ’, आयोगले भनेको छ, ‘समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २०७९ साल भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ।’
आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए। दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चार वटा समूह बनाएका छन्। दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ।
एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउनेछन्।
‘एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ’, सूचनामा भनिएको छ।
दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ। आयोगको निर्वाचन कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ।
हेर्नुहोस् आयोगको सूचना :

RaptiSandesh RaptiSandesh