Home / Feature Breaking news / आज असार १५ अर्थात राष्ट्रिय धान दिवस

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस

तुलसीपुर, १५ असार । आज असार पन्ध्र । मानो छरेर मुरी फलाउने दिन फेरिए । अर्थात मुठो रोपेर मुरी फलाउने दिनलाई नेपाल सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । खेतीयोग्य जमिनको खण्डीकरणसँगै गराका आकारहरु साना–साना भइरहेका छन् । भूउपयोग नीति कार्यान्वयनमा नआउँदा भूमाफियाको चंगुलमा खेतीयोज्य जमिन अव्यवस्थित प्लटिङको शिकार हुँदा खेतीयोग्य जमिनको क्षेत्रफल घटिरहेको छ ।

यद्यपि उब्जनी भने बढिरहेको तथ्यांक हामीसामु देखिन्छ । उन्नत जातका बीउहरुसँगै वैज्ञानिक कृषि प्रणालीमा आधारित कृषिमा यान्त्रिकरणले पहिलेको तुलनामा उब्जनीको मात्रा बढाएको छ । यद्यपि कृषिमा मुलुक अझै पनि आत्मनिर्भर बन्न सकेको छैन । विशेषगरी धान रोपाइँका लागि महत्वपूर्ण मानिने मनसुनी सुरुआतको असार पन्ध्रलाई रोपाइँ जात्राका रुपमा किसानहरुले उल्लास एवं उमंगका साथ मनाउँथे तर अचेल हलगोरुलाई आधुनिक मेसिनले विस्थापित गरिसकेको छ ।

ठिगारेहरुको काम पनि उल्लेख्य भूमिकामा देखिँदैन, यद्यपि रोपाराको भने अझै उस्तै अभ्यास देखिन्छ । हराएका असारे भाका इतिहासका पानामा मात्रै लेखिने छन् । फेरिएको कृषि प्रणाली तथा राष्ट्रिय धान दिवसको अवसर पारेर हाम्रा संवाददाताहरुले तयार पारेको रिपोर्ट ।

आधा खेत रोपेपछि धान दिवस

त्यसैगरी सरकारले राष्ट्रिय धान दिवस मनाइरहँदा यो बर्ष दाङ जिल्लामा अघिल्ला बर्षहरुको तुलनामा केही चाँडै रोपाइँ सुरु भयो । सक्रिय मनसुन करिब दुई साता अगावै सुरु हुँदा किसानले समयमा व्याड राख्न भ्याए । मनसुन जारी रहँदा रोपाइँका लागि पनि सिचाई सुविधा कुर्नुपरेन । आकाशे पानीका भरमा पनि असार पन्ध्रमा धान दिवस मनाइरहँदा कम्तीमा ६५ प्रतिशत खेतमा रोपाइँ भैसकेको जिल्ला कृषि ज्ञान केन्द्रको अनुमानित तथ्यांक छ ।

पोहोरसाल र यसपाली मनसुनले पूरै साथ दिएको छ । व्याड राख्नेदेखि रोपाइँमा समेत झिमझिम पानी बर्षिरहेको छ । यद्यपि किसानले चाहेको उन्नत जातको बीउ र रासायनिक मल भने यो बर्ष पनि पर्याप्त मात्रामा पाउन सकेनन् । धानका व्याड राख्ने मौसमदेखि नै कृषि सामग्री कम्पनीको मल गोदाम खाली भइसकेको छ । केही मात्रामा आएको मलले किसानहरुले काम चलाइरहेका छन् । पर्याप्त मल भने पाउन नसकेको किसानको गुनासो यथावत नै छ ।

दाङ जिल्लाको कुल कृषियोग्य जमिनमध्ये ६५ प्रतिशत रोपाइँ भइसकेको छ । कुल जनसंख्याको ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ । जसमध्ये दाङमा धान खेती मुख्यबालीको रुपमा रहेको छ । यस बर्ष समयमै मनसुन सुरु भएका कारण जिल्लामा रोपाइँ धमाधम चलेको छ । कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा जारी छ । दाङ जिल्ला पनि यसबाट अछुतो छैन । निषेधाज्ञामा पनि दाङमा किसान खेतीपातीको काममा लागेका छन् । उनीहरु अहिले भने धान रोपाइँमा व्यस्त छन् । यसपालि मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी रहेकाले खेती गर्न सजिलो भएको किसानहरु बताउँछन् ।

यहाँका स्थानीय पालिका तथा कृषि ज्ञान केन्द्रले अघिल्ला बर्ष असार पन्ध्रमा धान दिवस मनाउनका लागि इनारमा मोटर लगाई पानी तानेर धान रोपेको तस्वीर खिचाउनुपथ्र्यो, तर यसपाली त्यसो गर्नु परेन । विगतका वर्षमा जिल्लामा असार मध्यतिरबाट मात्र धान रोपाइँले गति लिन्थ्यो तर यसपालि असार लाग्दैगर्दा किसानलाई धान रोपाइँको चटारोले छोएको छ । समयमै वर्षा सुरु भएकाले किसानलाई धानको बीउ राख्नेदेखि रोप्नेसम्मको काममा भ्याइँ–नभ्याइँ छ ।

मानो रोपेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतीपातीको काममा ब्यस्त देखिएका छन् । कोरोनाका कारण रोजगारी गुमाएकाहरु पनि गत बर्षजस्तै खेतीमा लागेका छन् । जिल्लामा असार १५ सम्म ६५ प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र घोराहीले जनाएको छ । जसमध्ये देउखुरी उपत्यका ८० प्रतिशत र घोराही, तुलसीपुर र पश्चिम क्षेत्रमा ४५ प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र घोराहीका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार जिल्लामा ३९ हजार ६ सय हेक्टरमा धान खेती हुने गरेको छ । गत बर्षको भन्दा धान खेती हुने जमिन पनि बढेको छ । जिल्लामा अहिले ५२ प्रतिशत किसानरुले हाइब्रेड, १० प्रतिशत किसानहरुले स्थानीय जात र २० प्रतिशत किसानहरुले उन्नत जातको धानको बीउ लगाउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रैथाने र उन्नत जातको धानलाई बढवा दिने भने पनि हाइब्रेडले नै स्थान पाएको बताइएको छ । जिल्लामा उत्पादन हुने धानले यहाँको जनसंख्यालाई खान पुग्ने केन्द्रले जनाएको छ । ‘यति नै धान उत्पादन हुन्छ भन्ने यस बर्ष अनुमान गरिएको छैन समयमै खेती सुरु भएका कारण यस बर्ष धान राम्रो उत्पादन हुने अनुमान गरिएको छ’, पौडेलले भने ।

बीउ अभाव मल पर्याप्त छैन

यसैबीच यस बर्ष जिल्लाका किसानहरुलाई धान खेतीका लागि बीउ अभाव रहेको बताएको छ । लकडाउन तथा मूल बीउ उत्पादन नभएका कारण उन्नत जातको धानको बीउ भने अभाव नै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । बाली संरक्षण अधिकृत पौडेलले मूल बीउ उत्पादन गर्ने संस्थाहरुले नै बीउ उत्पादन नगरेका कारण किसानहरुलाई समस्या परेको बताए । उनले उन्नत जातको बीउ यस बर्ष नपाएपछि हाइब्रेडले नै स्थान पाएको बताए । ‘बीउ उत्पादन अनुसन्धान केन्द्रमै यस बर्ष मूल बीउ नपाएपछि अभाव भएको हो ।

त्यस्तै गत बर्ष अनुदानमा उन्नत जातका धानको बीउ वितरण गरेका स्थानीय निकायहरु पनि लकडाउनका कारण यस बर्ष खरिद गर्न नसकेको बताएका छन् । त्यस्तै जिल्लाका किसानहरुले मल पनि सहजरुपमा आपूर्ति हुन सकेको छैन । मलको चरम अभाव नभए पनि सहजरुपमा मल पाउन नसकेको बताएका छन् । लकडाउनमा पनि केही मात्रामा अनुदानको रासायनिक मल आए पनि पर्याप्त नभएको सम्बन्धित निकायले जनाएका छन् ।

यसैबीच कृषि ज्ञान केन्द्र घोराही दाङले यस बर्षको असार १५ राष्ट्रिय धान रोपाइँ दिवस देउखुरीमा मनाउने जनाएको छ । बाली संरक्षण अधिकृत पौडेलले चाइना र भारतबाट ३ वटा धान रोप्ने मेसिन ल्याएको भन्दै हरित क्रान्ति सहकारी देउखुरीमा डमो गर्ने कार्यक्रम रहेको र त्यही धान दिवस मनाउने बताए । यस बर्ष अनुदानमा धान रोप्ने मेसिन केन्द्रले देउखुरीका सूर्योदय, हरित क्रान्ति र निलकमल सहकारीलाई हस्तान्तरण गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*