दाङ, २३ माघ । देउखुरीमा एक जना युवाले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर राम्रो कमाउने गरेका छन् । बैदेशिक रोजगारीका शिलशिलामा मलेसिया करिब ५ बर्ष बसेका देउखुरी राप्ती गाउँपालिका वडा नं. ५ बनकट्टी निवासी अमित चौधरीले पछिल्लो समय आफ्नै गाउँमा पसल सञ्चालन गरेर लाखौँ रुपैया कमाउने गरेका छन् ।
५० हजार रुपैयाँबाट खर्च गरेर नास्ता पसल सुरु गरेका उनले अहिले मलेसियन चुलो बनाउनेदेखि नास्ता पसल, फ्रेस हाउससँगै माछापालनसमेत गर्दै आएका छन् । त्यही व्यवसायबाट उनले मासिक ४० हजारसम्म कमाउने गरेको बताए । विदेश जानुभन्दा स्वदेशमै केही गरौँ भन्ने सोचका साथ उनले विगत तीन बर्षदेखि वनकट्टीमा नास्ता पसल, फ्रेस हाउस, चुलो बनाउनेदेखि सानो पोखरी बनाएर माछापालन गर्दै आएका चौधरीले त्यहीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।
विदेशिक रोजगारीका क्रममा मलेसियामा चुलो निर्माण हुने कम्पनीमा काम गरेका चौधरीले स्वदेशमा समेत मलेसियन नास्ता पसल, मलेसियन ग्यास तथा कुकुर मर्मत केन्द्र समेत स्थापना गरेका छन् । ‘मैले मलेसियामा काम गरेर घर फर्कन्छु भन्दा मलाई साहुले त घर जान्छस्, घरमा त तैले खानै पाउँदैनन्, घरमा नजा भनेर हेपेको थियोे’, उनले भने– ‘त्यो बेला पनि मैले साहुलाई अब फर्कदैन, बरु आफ्नै ठाउँमा केही गर्छु भनेर फर्किएको हुँ ।’ स्वदेशमा आफ्नै परिवारसँग बसेर काम गर्दा सन्तुष्ट रहेको समेत बताए ।
मेहनत र परीश्रम गर्न सके विदेशको जस्तो कमाई स्वदेशमा पनि गर्न सकिने उनी बताउँछन् । ‘म विदेशमा बस्दा दिनभर काम गरेर मासिक ३० हजार रुपैयाँ कमाउने गरेको थिएँ, तर अहिले म घरमै बसेर मासिक ४० हजारसम्म कमाउने गरेको छु’, उनले भने– ‘मेहनत र परीश्रम गरे आफ्नै ठाउँमा पनि त कमाउन सकिने रहेछ नि ।’ उनले ठूलो रकम खर्च गरेर विदेश जानुभन्दा त्यही पैसा लगाएर स्वदेशमा केही गर्न समेत युवापुस्तालाई सल्लाह सुझाव दिने गरेका छन् ।