Home / Feature Breaking news / पाठापाठी र मासु बिक्री नहुँदा मारमा बंगुरपालन किसान

पाठापाठी र मासु बिक्री नहुँदा मारमा बंगुरपालन किसान

सुशीला वली
दाङ, २७ पुस । घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीका सुरेस बुढामगरले बंगुरपालन गर्न थालेको २ वर्ष भयो । तर पछिल्लो समय बंगुर नबिक्दा मारमा छन् । पशुपालनबाटै स्वदेशमै स्वरोजगार बन्ने योजना बनाएका उनले बिबिएस पास गरेर बंगुरपालन व्यवसाय सुरु गरेका उनीले बिक्री नहँुदा मारमा परेको बताए । ‘स्वदेशमै केही गरौं भनेर बिबिएस पास गरेर पनि बंगुरपालन पेशा गरिरहेको छु’, उनले भने– ‘तर बिक्री नहुँदा मारमा परेको छु ।’ २९ वर्षीय बुढामगरले घोराही उपमहानगरपालिका–४ गोग्लीमा बंगुरपालन गरेका छन् ।
१० लाखको लगानीबाट व्यवसाय सुरु गरेका पाठापाठी र मासुसमेत बिक्री नहुँदा दानाका लागि समेत ऋण लिनुपर्ने बाध्यता रहेको बताए । ‘दाना जुटाउनसमेत समस्या छ, पालिएका बंगुर बिक्री हुँदैनन्, त्यसैले दाना किन्ने रकम समेत ऋण लिनुपर्ने अवस्था सिर्जना भयो’, उनले भने– ‘स्थानीय सरकारले पनि सहयोगका लागि कुनै पहल गरेको छैन ।’ दैनिक दानाका लागि मात्रै १ हजार ५ सयदेखि २ हजारसम्म खर्च हुने गरेको उनले बताए । तर त्यो अनुसार आम्दानी हुँदैन । बार्षिक १ लाखसम्म पनि आम्दानी नहुने उनले बताएका छन् । घोराही–१८ का सुशीला गुरुङले पनि बंगुर पाल्न थालेको झण्डै डेढ दशक भयो । विगतमा बंगुर बिक्री नहुने समस्या थिएन तर पछिल्लो समय निकै समस्या भएको बताइन् । ‘पहिले यो समस्या थिएन तर अहिले बिक्री नहुने समस्याले सताएको छ’, उनले भनिन्– ‘पेशाबाट नै पलायन हुने अबस्था आएको छ ।’
त्यस्तै समस्या बताउँछन्, घोराही–१४ पुलचोक खोलीगाउँका बमपाल बुढा पनि । २८ वर्षदेखि बंगुर पाल्दै आएका बुढामगरले विगतमा बंगुर पालेरै राम्रो आम्दानी गरिरहेका थिए । तर अहिले पाठापाठी र मासुका लागि तयार भएका बंगुर पनि नबिक्दा व्यवसायका लागि लिएको ऋण तिर्नै नसक्ने अवस्था आएको बताए । व्यवसायी धेरै भएकाले पाठापाठी बिक्री हुन छोडेको र व्यापारीले मासु पनि नलैजाँदा बंगुरको खानाका लागि ल्याएको भुसको खर्च पनि उठाउन मुस्किल भएको गुनासो बमपालको छ । करिब १ करोड ३० लाख लगानी गरेर परिवर्तन बंगुर फार्म सञ्चालन गरिरहेका सञ्चालक बीरबहादुर चौधरीले ६ महिनादेखि बंगुरका दानाका लागि ८ लाख ऋण लिइसकेको बताए । तर त्यो ऋण तिर्न भने सकेका छैनन् । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले जिल्लामा मागभन्दा उत्पादन धेरै भएपछि बंगुर बिक्री हुन छाडेको बताइन् । यो समस्या उपमहानगरपालिकामा पनि जानकारी आएको तर समस्या समाधान गरिहाल्ने उपाय भने नभएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*