Home / Feature Breaking news / चुनावी तालमेलकालागी लुम्बिनीका सत्ता गठबन्धनको बैठक

चुनावी तालमेलकालागी लुम्बिनीका सत्ता गठबन्धनको बैठक

सरकारले आगामी मंसिर ४ गतेको लागि प्रदेश तथा प्रतिनिधिसभा दुबै निर्वाचन घोषणा गरेपछि सत्तारूढ पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू सिट बाँडफाँटको तयारीमा जुटेका छन्।

गठबन्धन दलहरूले देशभर मिलेर निर्वाचनमा जाने निर्णय गरेपछि लुम्बिनी प्रदेशमा पनि संयुक्त गठबन्धनको बैठक बसेर निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ।

बुटवलस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा शुक्रबार बसेको गठबन्धन दलहरूको बैठकले स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने निर्णय गरेको हो।

बैठकमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ-आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय गरिएको छ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलबहादुर केसी समेत उपस्थित रहेको बैठकमा गठबन्धनको तर्फबाट केन्द्रीय तहबाट प्राप्त निर्णय र निर्देशनलाई आ-आफ्नो पार्टीभित्र र गठबन्धन गर्दाको अवस्थामा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो।

उक्त बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सचिव राजु गुरूङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलम सहभागी थिए।

बैठकपछि सबै दलका प्रतिनिधिले हस्ताक्षर गर्दै संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेका छन्।

जारी गरिएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको लागि निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्रलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पुनः सक्रिय बनाउने निर्णय भएको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*