Home / Feature Breaking news / ०४५ सालकै धारमा फर्कियो कोसी

०४५ सालकै धारमा फर्कियो कोसी

कोसी नदीको भँगालो उदयपुर, सप्तरी र सुनसरीका बस्तीतर्फ पसेको छ । आज बिहान करिब ४ बजेबाट भँगालो बस्तीमा प्रवेश गरेको हो । उदयपुरको बेलका डुम्म्रिबोटे ८ नम्बर वडाबाट बाढीको भँगालो बस्तीमा पसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिए ।

“बेलकाको १,२,३, ८ र ९ नम्बर वडा बाढीबाट तत्काल प्रभावित हुने देखिएको छ,” यादव भन्छन्, “यी बोहेक सप्तरी र सुनसरीका बस्ती पनि बाढी प्रवेश गरेको क्षेत्रका रहेकाले ठूलो भू–भाग प्रभावित हुने देखिन्छ ।”

उनका अनुसार पुरानो धारमा बाढी फर्किने हो भने करिब २५ सय घरधुरी बाढीबाट प्रभावित हुनेछन् । सप्तरी र सुनसरी दुुईवटै जिल्लाका प्रमुखलाई सचेत गराइदिन आग्रह गरिएको उनले जानकारी दिए ।

“बिहानको समय भएकाले हातहत हुनबाट जोगिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेको छ,” प्रमुख जिल्ला अधिकारी यादवले भने, “उद्धारका लागि थप प्रहरी बल माग गरिएको छ ।”

अहिले बस्ती सुरक्षित ठाउँतर्फ सार्ने काम भइरहेको उनले बताए ।

वि.सं. २०४५ सालमा नदीले धार परिवर्तन गरेको थियो । पुनः ०४५ साल अगाडिकै धारमा नदी फर्किँदा बस्तीहरू प्रभावित भएका हुन् । ०४५ सालको भूकम्पका कारण नदीको धार परिवर्तन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*