Home / Feature Breaking news / अक्सिजनका लागि उद्योगमै धर्ना

अक्सिजनका लागि उद्योगमै धर्ना

लिलाधर वली

दाङ,२८बैशाख । कोरोना संक्रमित विरामीहरुका लागि आवश्यक अक्सिजन लिनका उद्योगमै धर्ना दिन थालेका छन् । संक्रमितका लागि आवश्यक अक्सिजन अस्पतालहरुमा अपुग भएपछि विरामीका आफन्त तथा सरोकारवाला व्यक्तिहरुले उद्योगमै धर्ना दिएर अक्सिजन ल्याउन थालेका हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचाररत कोरोना संक्रमित बिरामका लागि अक्सिजन अभाव भएपछि घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरत अर्यालसहित दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाललगायत व्यक्तिहरुले सोमवार राती घोराही उपमहानगरपालिका–३ झिङनीमा रहेको दाङ अक्सिजन उद्योग प्रालिमै धर्ना दिनुप¥यो । करिव ९ बजेदेखि विहान ३ बजेसम्म उद्योगमै धर्ना दिएर प्रतिष्ठानका विरामीका लागि तत्काल आवश्यक पर्ने ३१ वटा अक्सिजनका सिलिण्डरहरु ल्याएको घोराही उपमहानगरपालिका प्रवक्ता समेत रहेका वडा अध्यक्ष अर्यालले बताए ।

‘प्रतिष्ठानका बिरामीका लागि अक्सिजन अभाव हुन थालेका र उद्योगले उत्पादिन अक्सिजन केही व्यक्तिको दवाफमा बाहिर पठाउन थालेको थाहा पाएपछि हामीले उद्योगमै धर्ना दिएर अक्सिजन ल्याउनु परेको थियो’–प्रवक्ता अर्यालले भने–‘जसले गर्दा प्रतिष्ठानमा उपचाररत विरामीको ज्यान बचेको छ ।’ उनले हिजो अक्सिजन नपाएको भए प्रतिष्ठानमा उपचाररत विरामीको अक्सिजन नपाएर ज्यान जान सक्ने खतरा रहेको समेत बताए ।

यो एउटा उदाहरण मात्र हो । अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि पछिल्लो समय धेरै विरामीका आफन्तहरु अक्सिजनका लागि उद्योगमै पुग्ने गरेका छन् । त्यस मध्यमा कतिपय त विरामी नै अक्सिजन लिनका लागि उद्योगमै आउने गरेको दाङ अक्सिजन उद्योग प्रालिका सञ्चालक टोपाराम पौडेलले बताए । उनका अनुसार अस्पतालमा अक्सिजन नपाउने भएपछि धेरै व्यक्तिहरु उद्योगमै आउने गरेका छन् । जिल्ला बाहिरबाट आउने अक्सिजनमा कमी भएपछि अस्पतालहरुमा अक्सिजनको कमी भएको उनले बताए ।

‘उद्योग सञ्चालनमा आएपछि हामीले नियमित रुपमा अक्सिजन उत्पादन गरिरहेका छौ । तर जिल्ला बाहिरबाट अक्सिजन आउन कम भएको छ’–सञ्चालक पौडेलले भने–‘जसले गर्दा अस्पतालमा अक्सिजनको अभाव भएको छ,हामीलाई पु¥याउनै धौ धौ छ ।’ अस्पतालमा अक्सिजनको अभाव भएपछि उद्योगलाई चाप परेको समेत उनले बताए । उनले कोरोना संक्रमितको उपचार भैरहेका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिने गरि उत्पादन भैरहेको समेत बताए ।

‘बेलझुण्डी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव हुन नदिन लागि रहेका छौ’–उनले भने–‘तर के गर्ने कतिपय व्यक्तिहरु अक्सिजनको अभावमा आफन्त मर्नै लाग्यो भनेर उद्योगमै आउनुहुन्छ । त्यस्तालाई फर्काउन सक्दैनौ ।’ उद्योगमै अक्सिजन लिन जाने धेरै हुन थालेपछि सुरक्षाका लागि उद्योगमै प्रहरी राखिएको समेत सञ्चालक पौडेलले बताए ।

दुईदिनमा ३६ सिलिण्डर मात्रै

यसअघि दैनिक डेढ सिलिण्डर अक्सिजन ग्यास आइरहेको दाङमा दुई दिनको अवधिमा ३६ सिलिण्डर मात्र अक्सिजन आएको छ । जिल्लामा आवश्यक अक्सिजनका लागि नेपालगंजमा २२० सिलिण्डर र चितवनमा २५० खाली सिलिण्डर आइतवार नै पठाएको भएपनि अहिलेसम्म ३६ सिलिण्डर नेपालगंजबाट मात्र आएको दाङ अक्सिजन प्रालिका सञ्चालक पौडेलले बताए । बाँकी ४ सय बढी सिलिण्डरहरु आउन नसकेको उनले बताए ।

‘अक्सिजनको खपत बढेसँगै बाहिरका लागि दिनै मान्दैनन्,जसले चितवन र बाँकेमा अहिलेपनि अक्सिजन ल्याउन गएका गाडीहरु फर्किन सकेका छैनन्’–उनले भने–‘जसोतसो जिल्लामै उत्पादन भएको अक्सिजनबाट काम चलाउदै छौ ।’ उनका अनुसार दाङ अक्सिजन उद्योगबाट दैनिक १२०देखि १२५सम्म अक्सिजन सिलिण्डरहरु भरिने गरिएको बताए ।

उद्योगले दाङ जिल्लासँगै प्युठान,रोल्पा र रुकुमलगायतका जिल्लाहरुमा समेत अक्सिजन पठाउने गरेको छ । अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा ६७ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*