Home / Feature Breaking news / निर्धारित समयभन्दा पहिलै निर्माण भए जुम्ल्याहा पुल

निर्धारित समयभन्दा पहिलै निर्माण भए जुम्ल्याहा पुल

दाङ, २८ असार । समय नपुगेका जुम्ल्याहा पुल हुन्, यी । अहिले विधिवतरुपमा चल्नका लागि आतुर छन् । प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएका यी जुम्ल्याहा पुल सम्भवतः जिल्लामा पहिलोपटक देखिएको स्थानीयबासीको दावी छ ।

घोराही उपमहानगरपालिकाको कुइरेपानीदेखि सर्रा जोड्ने सडक । जुन सडकले कुइरेपानी क्षेत्रलाई पवित्र धाम धारापानी मन्दिरसम्म पनि जोड्छ । यो सडकलाई दामोदर सडकका नामले पनि चिनिन्छ । सोही सडकखण्डको सिस्ने खोलामा निर्माण सम्पन्न भएको यो पुल उद्घाटन भने भएको छैन । निर्माण कम्पनीले सडक पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै कार्यालयले यो पुललाई विधिवतरुपमा उद्घाटनको चाँजोपाँजो मिलाउने छ ।

पुल निर्माण तोकिएको समयभन्दा अघि नै सम्पन्न भएपछि स्थानीयबासी पनि निकै खुसी छन् । ‘हामीले आशा गरेका थिएनौं, कि यी जुम्ल्याहा पुल यो बर्षाअघि नै निर्माण सम्पन्न भैसक्लान् भनेर तर निर्माण सम्पन्न भैसकेकोमा हामी निकै खुसी छौं’, स्थानीय आशाराम चौधरीले भने । खोला बढ्दा स्थानीयहरुलाई स्कुल पुग्न समेत समस्या हुन्थ्यो । तर अब यो बर्षादेखि यो समस्या टरेर गएको छ ।

एकै स्थानमा दुईवटा पुल निर्माण भएको देख्दा स्थानीयहरुले यसलाई जुम्ल्याहा पुलको नाम पनि दिएका छन् । पुल हेर्न आउनेहरु पनि बढेका छन् । टिकटक र फेसबुकमा भाइरल भएका छन्, यी पुलहरु । पुलमा पुग्दा दुई जोडीहरुले टिकटक बनाइरहेका देखिन्थे । फेसबुकमा तस्वीर देखेर पुल हेर्न आएको उनीहरुले बताए । स्थानीयबासीका अनुसार अहिले पुल हेर्न र तस्वीर खिचाउन दर्जनौं मानिसहरु आउने गरेका छन् ।

पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनी काठमाडौँले पाएको थियो । सन् २०२२ मा निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता सन् २०२० मे मा भएको थियो । बढीमा २८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने समयावधि आउन अझै केही महिना छ । तर निर्माण कम्पनीको कुशल क्रियाशीलताका कारण तोकिएको समयभन्दा अगावै पुल निर्माण सम्पन्न भएको स्थानीयबासीले बताएका छन् । पुल निर्माणको काम सुरु भएलगत्तै मुलुकमा विश्वव्याधि कोरोना भाइरसको संक्रमणको महामारी फैलियो ।

कोरोना संक्रमणका कारण धेरै विकास निर्माणका परियोजनाहरु अवरुद्ध भए । कहिँकतै पनि तोकिएको समयमा निर्माण सम्पन्न हुने अवस्था नआएपछि निर्माण व्यवसायी महासंघको आग्रहमा सरकारले मुलुकभरका विकाशे परियोजनाको म्याद थप ग¥यो । तर सिस्नेखोला पुल निर्माणको कामलाई भने कोरोनाको संक्रमणले कत्ति पनि असर गरेन । ‘हामी आफै संक्रमित भयौ, प्राविधिक कर्मचारीहरु पनि धेरै संक्रमित भएर साइटमै क्वारेन्टाइन निर्माण गरेर बस्यौं, तर हामीले काम भने कहिल्यै रोकेनौं’, एलाइट कन्स्ट्रक्सनका व्यवस्थापक अच्युत लम्सालले बताए ।

मुलुकभर कोरोनाको संक्रमण भइरहँदा पनि पुल निर्माणका क्रममा यहाँको स्थानीय सरकार र प्रहरी प्रशासनबाट काममा कुनै अवरोध नभएको निर्माण कम्पनीले जनाएको छ । दुवै पुल ३÷३ स्पानका छन् । दुवै पुलको लम्बाइ ९०÷९० मिटर रहेको परियोजनामा उल्लेख गरिएको छ । पुल निर्माण मूल्य अभिवृद्धि करसहित १९ करोड ६० लाख १४ हजार ७ सय ९९ रुपैयाँ रहेको निर्माण कम्पनीले जनाएको छ । यसअघि घोराही–तुलसीपुर सडकखण्डको ग्वारखोलामा पनि तोकिएको समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको थियो । अन्य पुलहरु भने म्याद थप नभई सम्पन्न भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*