Home / Feature Breaking news / मतगणना स्थलमा सिसी–क्यामेरा

मतगणना स्थलमा सिसी–क्यामेरा

दाङ, ३० वैशाख । दाङमा पहिलो पटक मतगणना स्थलहरूमा सिसी–क्यामेरा जडान गरिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लाका दश वटै पालिकाहरूमा सिसी–क्यामेराको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रेग्मीकाअनुसार मतगणना स्थलमा सिसी–क्यामेरा जडानसँगै फलामको जालीको छेकबार समेत गरिएको छ । ‘निर्वाचनको तयारी स्वरूप मतदान स्थल निर्माणदेखि मतगणना स्थल निर्माणको काम पूरा भएको छ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘मतगणनालाई सुरक्षित र पारदर्शी बनाउनका लागि मतगणना स्थलमा फलामको तारजालीसँगै सिसी–क्यामेराको व्यवस्था गरेका छौँ ।’ सिसी–क्यामेरा पालिकाहरूमा आवश्यकताअनुसार राखिएको व्यवस्था छ ।

मतगणना स्थलमा फलामको जालीससँगै सिसी–क्यामेरा जडान गरिएकाले मतगणनालाई पारदर्शी बनाउनेसँगै उक्त स्थानमा भीडभाड कम हुने विश्वास व्यक्त गरिएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहहरूमा निर्वाचन सकिएपछि विहीवारदेखि नै मतगणना सुरु हुने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

‘तुलसीपुर उपमहानगरपालिकाको–१७ नम्बर वडामा जेठ ३ गते निर्वाचन हुने भएकाले तुलसीपुर उपमहानगरपालिकामा ३ गतेपछि नै मतगणना हुन्छ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘तर अन्य पालिकाहरूमा मतदान सकिएपछि दलहरूको सर्वदलीय बैठकको निर्णयवमोजिम मतगणना हुने छ ।’

दाङमा पाँच सय १५ जना जनप्रतिनिधिहरू चुन्नका लागि मतदाताहरूले मतदान गर्दैछन् । प्रदेश निर्वाचन कार्यालय दाङकाअनुनसार जिल्लामा ४ लाख ९ हजार ९ सय २ जना मतदाता संख्या रहेका छन् । जसमा २ लाख ७ सय ९९ पुरुष, २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*